शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा नेपालीले नेपालीलाई नै कुटेको खुलासा

सोमबार, १९ साउन २०७७, १६ : ४२
सोमबार, १९ साउन २०७७

काठमाडौं । मलेसियामा नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 

सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थिए ? भन्ने प्रश्नसँगै सो भिडियो भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो । 

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । 

‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।  मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ । 

दूतावासका अनुसार निजहरुका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिव १० बजे तिर क्वालालम्पूरमा रहेको एम ३ मलमा भएको हो । 

उनीहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए । राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् ।  राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । ‘यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरी स्टेशनले गर्नेछ’, दूतावासले भनेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप