बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा ‘सिन्छन्जी’ समुदायमाथि दमन भएको भन्दै चिन्ता व्यक्त

बिहीबार, २२ साउन २०७७, १३ : ३७
बिहीबार, २२ साउन २०७७

काठमाडौं । दक्षिण कोरियाको धार्मिक समुदाय ‘सिन्छन्जी’ माथि दमन भएको भन्दै सरोकारवाला तथा मानवअधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।  केही दिनअघि आयोजित वेविनारमा सहभागी भएकाहरुले कोभिड–१९ संकटका बेला विभिन्न बहाना बनाएर धार्मिक समुदायमाथि दमन गरिएको धारणा राखे । 

‘कोभिड–१९ र धार्मिक स्वतन्त्रता’ विषयक वेबिनारमा सिन्छन्जी समुदायलाई दक्षिण कोरियामा दमन गरिएको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका हुन् ।  रुढीवादी र कट्टरपन्थी प्रोटेस्टेन्ट चर्चले तीव्र रुपमा वृद्धि हुँदै गएको अर्को क्रिष्चियन समुदाय ‘सिन्छन्जी’ माथि दमन गरेको उनीहरुको आरोप छ ।  सिन्छन्जी’ अर्थात् नयाँ स्वर्ग र नयाँ पृथ्वी नामक यस धार्मिक समुदायको स्थापना १९८४ मा भएको थियो । 

इटलीका धार्मिक समाजशास्त्री मासिमो इन्ट्रोभिगेनले भने, ‘कट्टरपन्थी प्रतिपक्षीहरुले सिन्छन्जीको सफल धार्मिक विस्तारको कारण यसलार्ई प्रतिस्पधाको रूपमा देख्ने र यसलाई ध्वस्त पार्न चाहने रूढिवादी र कट्टरपन्थी धारणा बनाएका छन् ।’
युरोपीयन फेडेरेसन फर फ्रिडम अफ बिलिफका अध्यक्ष, एलेस्यान्ड्रो एमिकारेलीले दक्षिण कोरियाली अधिकारीहरूले सिन्छन्जीलाई समस्याको रुपमा कोभिड–१९ महामारी संक्रमणको स्रोत भन्दै चर्च बन्द गराउन खोज्नु गलत रहेको बताए । ‘सिन्छन्जीका ३१ जना सन्तहरूभन्दा पहिले नै अरु ३० व्यक्तिहरूको परीक्षणमा पोजेटिभ नतिजा देखिएको थियो । तर सिन्छन्जीका सन्तहरूले नै संक्रमण फैलाएको आरोप लगाइयो ।  धेरै चिनियाँहरू लगायत वुहानका एक व्यक्तिले थेगु (दक्षिण कोरियाको) भ्रमण गरेका थिए र संक्रमण फैलिएको थियो,’ उनले भने । 

ह्युमन राइट्स विदआउट फ्रन्टियर्सका निर्देशक विली फाउत्रेले धार्मिक बजारमा प्रतिस्पर्धीलाई कमजोर पार्नै दक्षिण कोरियाको कट्टरपन्थी प्रोटेस्टेन्ट समूहको  धारणाअनुरुप सिन्छन्जीमा आक्रमण भएको बताए । 

डर्बी विश्वविद्यालयका एसोसिएट प्रोफेसर, सायरान बुर्केले भाइरस फैलने काम ठूलो मात्रामा अन्य चर्चमा समेत भएपनि दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले अहिलेसम्म सिन्छन्जी र कोभिड–१९ को प्रकोपलाई मात्रै जोडेर हेर्नु गलत रहेको बताए । 

‘सरकारले ३ लाख आन्तरिक र अन्तर्राष्ट्रिय सिन्छन्जी सदस्यहरुको व्यक्तिगत जानकारी संकलन गर्नु पनि चिन्ताजनक हो । यो अन्तर्राष्ट्रिय सम्झौताको सम्भावित उल्लंघन हो, विशेष गरी नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धलाई दक्षिण कोरियाले सन् १९९० मा अनुमोदन गरेको थियो,’ बुर्केले भने ।

के भएको थियो ?
दक्षिण कोरियाका सरकारी अधिकारीहरुले  कोभिड–१९ को व्यापक रूपमा संक्रमण फैलाएको आरोपमा संस्थापक मान ही ली लगायत सिन्छन्जी अगुवाहरूविरुद्ध छानबिन सुरू गरेको थियो । सरकारी अधिकारीहरुले सिन्छन्जी समुदायका ५ हजारभन्दा धेरै सदस्यलाई कोरोना संक्रमण लागेको र यस समुदायले संक्रमण लुकाएको आरोप लगाएका छन् । ‘स्थानीय सरकारले त्यहाँका बासिन्दाहरूलाई सिन्छन्जी मण्डली र अधिकारीहरुविरूद्ध रिपोर्ट गर्न प्रोत्साहित गरे र ती सदस्यहरुलाई अपराधीको रुपमा व्यवहार गर्नु पर्छ भन्ने एक खालको धारणा पैदा गरे’, वेबिनारमा सहभागी एक सिन्छन्जी अधिकारीले भने । 

दक्षिण कोरियामा १४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ र ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । सिन्छन्जीका सदस्यहरुका अनुसार चीनबाट आएका संक्रमितलाई सरकारले कोरिया छिर्ने अनुमति दिएका कारण यसले प्रकोपको स्वरुप लियो र अहिले सिन्छन्जीलाई दोष दिएर अधिकारीहरु जिम्मेवारीबाट पन्छन खोजिरहेका छन् । 

कोरियाली टेलिभिजन नेटवर्क एमबीसीमा प्रकाशित रिपोर्टको हवाला दिर्दै सिन्छन्जी समुदायले भनेको छन्, ‘दक्षिण कोरियाभित्र कोभिड–१९ प्रकोपको केन्द्रबिन्दु मानिएको थेगुमा हालसालै गरिएको स्क्रिनिङ्गको नतिजा नियाल्दा सरकारले भाइरस नियन्त्रणमा सफलता हात पारेको देखिँदैन । यस रिपोर्टमा एक स्थानीय विश्वविद्यालय अस्पतालाई विश्लेषणलाई पनि उद्धृत गरिएका छ । जसअनुसार थेगू शहरको कूल जनसंख्या २४ लाखमा राम्ररी छानविन नगरिएका कारण ६८०० जनामा मात्रै संक्रमण पुष्टि भयो ।  

प्रायः पुष्टि भएका घटनाहरू ५,००० भन्दा बढी, सिन्छन्जी चर्चका सदस्यहरू हुन् किनकि उनीहरूको व्यक्तिगत जानकारी सरकारले संकलन गरेको थियो । राम्ररी छानविन गरिएको भए संक्रमितको संख्या १ लाख ८० हजार हुने थियो ।’ दक्षिण कोरियामा आधिकारीक रुपमा अहिलेसम्म १४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ र ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप