सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाका कारण स्टक डिलरको कारोबार अनिश्चित

खुलेपछि मात्रै कारोबार सुरु हुने, लगानीको लागि यसरी हुँदैछ तयारी
बुधबार, १० भदौ २०७७, १० : ३३
बुधबार, १० भदौ २०७७

काठमाडौँ । शेयर बजारको अनपेक्षित उचारचढावलाई रोक्न भन्दै आएको स्टक डिलरको कारोबार अनिश्चित बनेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका कारण प्रक्रिया ढिलो भएको भन्दै कारोबार अनिश्चित बनेको हो ।

स्टक डिलरका लागि अहिलेसम्मको एकमात्रै कम्पनी नागरिक स्टक डिलर (एनएसडी) ले भदौको दोस्रो सातादेखि कारोबार सुरु गर्नेगरी तयारी अघि बढाएको थियो । तर, नेप्सेबाट कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) लिन बाँकी रहेको, लगानीका लागि कम्पनी छनौट गर्न बाँकी रहेको र लगानीसम्बन्धी कार्यविधि समेत पूरा नभएकोले यो ढिलो हुन गएको एनएसडीका निमित्त प्रबन्धक इन्द्रकुमार कट्टेलले जानकारी दिए । त्यही भएर यो दिनदेखि नै कारोबार गर्न सकिन्छ भन्ने सम्भावना नरहेको उनले बताए ।

के–के छन् पूरा गर्नुपर्ने काम ?

स्टक डिलरका लागि अहिलेसम्म भएका काम भनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएसडीलाई स्टक डिलरका लागि लाइसेन्स दिनु र त्यसको कार्यसञ्चालन कार्यविधि स्वीकृत गर्नु मात्रै हो । त्यसबाहेक नेप्सेको तर्फबाट अरु केही काम भएको छैन ।

अब नेप्सेले स्टक डिलरले लगानी गर्नसक्ने कम्पनीको सूची तयार गर्नुपर्छ । त्यस्तो कम्पनीको सूची सार्वजनिक गर्दा विगत ३ वर्षदेखि नाफामा रहेको, कम्तिमा १० हजार लगानीकर्ता रहेको, २० करोड रुपैयाँ भन्दा बढी चुक्ता पुँजी रहेको तथा पछिल्लो १ वर्षमा कारोबार भएका दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनी हुनुपर्ने जनाइएको छ ।

नेप्सेले सार्वजनिक गरेका त्यस्तो सूचीअन्तर्गतका कम्पनीमध्ये स्टक डिलरले आफूले लगानी गर्न चाहेको कम्पनीको नाम नेप्सेलाई पठाउनुपर्ने व्यवस्था गरिएको छ । हालसम्म नेप्सेको तर्फबाट सूची सार्वजनिक भएको छैन । नेप्सेले सूची पठाएपछि मात्रै आफूले त्यसको छनौट गरेर स्वीकृतिका लागि निवेदन दिने कट्टेलको भनाई छ । त्यसबाहेक नेप्सेले कारोबारको लागि एनएसडीलाई कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा पहुँच समेत दिनुपर्नेछ ।

त्यसो त, एनएसडी आफैले पनि विभिन्न प्रक्रिया पूरा गर्न बाँकी छ । नेप्सेबाट अनुमति पाएपछि डिलरले आफ्नो माऊ कम्पनी (नागरिक लगानी कोष) बाट ७ जनाको दरबन्दी स्वीकृत गराएर कर्मचारी लिएको छ । अहिले डिलरले बानेश्वरको कृष्ण टावरमा कार्यालय स्थापना गरेको छ । यसको भौतिक तयारी भने अन्तिम चरणमा रहेको जनाइएको छ ।

त्यसबाहेक कस्ताकस्ता कम्पनीको शेयरमा कति लगानी गर्ने र कस्तो अवस्थामा शेयर किन्ने र कस्तो अवस्थामा बेच्ने भन्ने तय गर्ने लगानी नीति समेत आन्तरिक रुपमा बनाउनै बाँकी छ ।

स्टक डिलरले आफूले शेयर बजारमा लगानी गर्न चाहेको रकमको कम्तीमा ४ प्रतिशत रकम नेप्सेमा नगद वा बैँक ग्यारेन्टीमार्फत् धरौटी राख्नुपर्छ । उदाहरणको लागि १ करोड धरौटी राखेमा २५ करोड रुपैयाँसम्म मात्रै कारोबार गर्न मिल्छ । तर, अहिलेसम्म कति धरौटी राखेर कति लगानी गर्ने भन्ने विषय पनि टुंगिएको छैन । यो विषय पनि लगानी नीतिमा समावेश भएर आउने निमित्त प्रबन्धक कट्टेलको भनाई छ ।

स्टक डिलरले शेयर किन्दा फ्लोरसिटमा के हुन्छ ?

अहिले दोस्रो बजारबाट हुने सबै प्रकारका शेयर कारोबार पारदर्शी हुने गरेको छ । कुनैपनि शेयर कारोबार हुँदा कारोबारको संख्या, मूल्य, खरिद गर्ने ब्रोकर, बिक्री गर्ने ब्रोकर लगायत सबै सूचना फ्लोरसिटमा देखाइएको हुन्छ । शेयर किनबेच गर्ने व्यक्तिको नाम भने गोपनियताको कारणले खुलाइएको हुँदैन ।

नागरिक स्टक डिलर आफैले टीएमएस लिएकोले यसको कारोबार कुनै ब्रोकरमार्फत् हुँदैन । यस्तो अवस्थामा कोषले गरेको कारोबारलाई पारदर्शी बनाउनको लागि फ्लोरसिटमा कारोबारको वस्तृत विवरण उल्लेख गर्नैपर्छ ।

तर अर्कोतिर एनएसडी आफैमा एउटा संस्थागत लगानीकर्ता भएकोले यसले गरेको कारोबार गोप्य पनि हुनुपर्छ । यी दुई विषय आफैमा विरोधाभाषपूर्ण भएकोले के गर्ने भन्ने अझै तय भएको छैन । डिलरले भने आफ्नो कारोबार सकभर गोप्य नै होस् भन्ने चाहेको छ । ‘हामीले लगानी गर्दा अरु लगानीकर्ताले पनि हौसिएर लगानी गर्ने र हामीले बेच्दा आत्तिएर बेच्ने अवस्था आउनु हुँदैन भनेर हामीले कारोबार गोप्य राख्न भनेका हौँ’ निमित्त प्रबन्धक कट्टेलले भने ।

सुरुको लगानी व्यवस्थापनमा चुनौती

स्टक डिलर आफैमा बजारमा स्थायित्व कायम गर्न आएकोले यही कम्पनीकै कारण बजारमा अस्वभाविक वृद्धि हुनु राम्रो होइन । तर, सुरुका कारोबारमा स्टक डिलरले गर्ने भनेको खरिद नै हो । किनकी बेच्नको लागि त यो कम्पनीसँग शेयर नै हुँदैन ।

तर, स्टक डिलरले बजारमा ठूलो मात्रामा शेयर माग गर्दा बजार भने अस्वाभाविक माथि जाने सम्भावना हुन सक्छ । यस्तो अवस्थामा मूल्य नियन्त्रण भन्दा पनि मूल्यमा प्रभाव पार्ने काम गरेको जस्तो देखिन्छ । तर, आफूहरुले सुरुमै ठूलो स्केलमा लगानी नगर्ने कट्टेलले बताए ।

‘हामी हाम्रै कारणले बजारमा उतारचढाव आउन दिँदैनौँ । हामी आफैले पनि बजारबाट नाफा कमाउनुपर्छ । त्यही भएर एकैपटक धेरै लगानी गर्न सकिँदैन । सुरुमा थोरै शेयर किन्ने र विस्तारै किन्ने र बेच्ने गर्दै जाने हो’ उनले भने ।

स्टक डिलर शेयर बजारमा हुनसक्ने अनपेक्षित उचारचढावलाई रोक्ने कम्पनी हो । ठूला लगानीकर्ताबाटले बजारमा अस्वभाविक माग सिर्जना गरेर मूल्य बढाउने र अस्वभाविक आपूर्ति सिर्जना गरेर मूल्य घटाउनसक्ने भएकोले यस्तो गतिविधिलाई रोक्न यो कम्पनीको अवधारणा आएको हो । यसरी बजारमा शेयरको अत्यधिक माग हुँदा आपूर्ति गरिदिने र अत्यधिक आपूर्ति हुँदा शेयर किनिदिने गरेर यसले मूल्यमा स्थायित्व कायम गर्छ ।

एनएसडी पहिलो स्टक डिलर कम्पनीे रुपमा माघ अन्तिम साता स्थापना भएको कम्पनी हो । १० अर्ब अधिकृत पुँजी र ५ अर्बको जारी तथा चुक्ता पुँजीसहित यो कम्पनी आएको हो । यसमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको लगानी छ । ३० प्रतिशत शेयर भने सर्वसाधारणका लागि जारी गरिने सो कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप