मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चूनौतीलाई अवसरमा बदल्न मुख्यमन्त्री राउतको आग्रह

मङ्गलबार, २३ भदौ २०७७, १८ : ४६
मङ्गलबार, २३ भदौ २०७७

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरमा बदल्नुपर्नेमा जोड दिएका छन् । प्रदेश नम्बर २ मा अवस्थित  अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई उनले चुनौतीलाई अवसरमा बदल्न निर्देशन समेत दिए  ।  मङ्गलबार अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्नुपर्ने सुधारबारे मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको  छलफलमा  मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिए । 

उनले अस्पतालको सुधारका लागि प्रदेश सरकार स्थापनाकाल देखिनै प्रयासरत रहेको बताए ।  पछिल्लो समय कोरोना महामारीका कारण थप सुधारको आवश्यकता देखाएको हुँदा सोहि अनुरुप प्रदेश सरकार अघि बढेको समेत उनले स्पष्ट पारे । उनले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गर्दै चालू आवमा पठाइएको रकमको सत प्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन समेत आग्रह गरे । 

उनले भने– ‘हाम्रो प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगत देखिनै दयनीय छ । हामीले सुधारका प्रयासहरु थालेका छौ, अहिलेको कोरोना महामारी चुनौतीको रुपमा रहे पनि स्वास्थ्य संस्थाहरुको सुधारको लागि यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्नु पर्दछ ।’

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हर सम्भव प्रयास गरि रहेको उल्लेख गर्दै अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न समेत उनले आग्रह गरे ।  कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हर सम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिए । कार्यक्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नुपर्ने सुधारहरु सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप