शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केबीसीमा एक करोड जितेपछि कति परिवर्तन भयो महिला शिक्षिकाको जीवन ?

आइतबार, १४ मङ्सिर २०७७, ०६ : ३७
आइतबार, १४ मङ्सिर २०७७

भारतको छत्तिसगढको बस्तरको चर्चा साधारणतया हिंसाका लागि हुन्छ तर आजकाल कौन बनेगा करोडपति (केबीसी) को १२ औं संस्करणमा करोडपति बन्ने अनूपा दासका कारण बस्तर चर्चामा छ ।

अनूपा दास भन्छिन्, ‘म पछिल्लो २० वर्षदेखि कुनै प्रतिरोगी झैं कौन बनेगा करोडपतिको तयारी गरिरहेकी थिएँ र म केबीसीमा पुगिनँ मात्र, मैले एक करोड रुपैयाँ जिते पनि । यो एक तरिकाले मेरो सपना जीवन्त भएको क्षण हो ।’

बस्तरको एक स्कूलमा शिक्षिका पदमा कार्यरत अनूपा दास केबीसीको १२ औं संस्करणमा एक करोड रुपैयाँ जित्ने तेस्रो महिला सहभागी हुन् ।

यसअघि केबीसीको १२ औं संस्करणमा दिल्लीको नाजिया नसिमको हिमाचल प्रदेशको कांगडामा बस्ने आइपीएस महिला मोहिता शर्माले एक करोड जितेकी छिन् ।

बस्तर जिल्लाको मुख्यालय जगदलपुरमा हुर्किएकी ४२ वर्षीया अनूपा दास वाल्यकालदेखि नै पढ्न–लेख्नमा कुशल थिइन् । उनको घर नजिकै विद्यालय थियो र नजिकै पुस्तकालय पनि जहाँ उनी धेरैजसो जाने गर्थिन् ।

लोकसेवा परीक्षाको तयारीः

अनूपाले भौतिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् र पछिल्लो १३ वर्षदेखि एक उच्च माध्यमिक विद्यालयमा भौतिक विज्ञानको शिक्षिकाको रुपमा काम गरिरहेकी छिन् ।

उनका पिता दिनेश चन्द्र दास ज्योतिषाचार्य हुन् र आमा सरस्वती दास केही समय अघि बैंकबाट अवकाश भएकी छिन् ।

जगदलपुरमा आफ्ना आमाबुवासँग बस्ने तीन दिदी बहिनीमध्ये जेठी अनूपाले सुरुमा लोकसेवा परीक्षाको तयारी गरेकी थिइन् तर त्यसमा आफू सफल हुन नसकेको बताइन् ।

उनी भन्छिन्, ‘शिक्षिकाको पेशा मेरा लागि निकै सम्मानजनक थियो । यसबाहेक मलाई बच्चामा गहिरो लगाव छ । त्यसैले मैले शिक्षकको रुपमा काम गर्न सुरु गरेँ ।’

जब टुट्यो विवाहः

सन् २००९ मा अनूपा दासको विवाह भयो तर महिना दिनभित्रै उनको विवाह टुट्यो ।

अनूपा भन्छिन्, ‘त्यो मेरो निकै भयानक अनुभव थियो । त्यतिबेला मैले निकै कम व्यक्तिको सहारा पाएँ । म र मेरो परिवारलाई नै कठघरामा उभ्याउने कोसिस गरियो । मेरा आमाबुवा, परिवारका अन्य सदस्य र स्कूलका बच्चाका कारण म पुनः सामान्य जीवनमा फर्कन सकेँ । मैले बुझेँ कि विवाहबाहेक पनि जीवन हुन्छ । त्यो भयानक स्थितीमा म बाँचे र थुप्रै कठिन परीक्षा दिएँ । सायद त्यहि परीक्षाले नै मलाई केबीसीसम्म पुर्यायो र जित्ने हौसला दियो ।’

उनका अनुसार लोकसेवा परीक्षाको तयारीका बेला नै केबीसीमा उनको थप झुकाव भयो र उनले यसका लागि कडा मिहिनेत गरिन् ।

अनूपाका अनुसार जब केबीसीका लागि उनको चयन भयो तब पूरा घर खुसीले भरियो । पिताले उनको चयनले नै आफूहरुलाई करोडपति बनाइदिएको बताए । तर चयन पछि हट सीटसम्म पुग्न त्यति सहज थिएन ।

प्रतियोगीतामा आफ्नो पालोका लागि अनूपा दासले दुई दिनसम्म प्रतिक्षा गर्नुपर्यो ।

उनी भन्छिन्, ‘म केबीसीको तयारी पछिल्लो २० वर्षदेखि गरिरहेकी थिएँ तर दुई दिनको यो प्रतिक्षा ती २० वर्षभन्दा पनि भारी रहे ।’

अमिताभ बच्चनसँग हट सिटमा पुग्नु अघि फास्टेस्ट फिंगर राउन्डको पहिलो चरणमा अनूपा दोस्रो स्थानमा रहिन् र दोस्रो चरणमा त उनको उत्तर नै गलत भयो ।

उनी भन्छिन्, ‘दोस्रो चरणपछि जो प्रतिरोगी हट सिटमा पुगेकी थिइन्, उनले प्रश्नको जवाफ दिन निकै समय लगाइरहेकी थिइन् । उनी लामो कुराकानी गरिरहेकी थिइन् र मलाई हाम्रो अवसर कतै कम हुने हो कि भन्ने लागिरहेको थियो । थर्ड फास्टेस्ट फिंगर राउन्डमा म त टाउको झुकाएरै बसिरहेकी थिएँ तर जब अमित जीले मेरो नाम बोलाउनुभयो त्यसपछि मात्रै मैले माथि हेरेँ । मलाई साँच्चै नै विश्वास नै लागिरहेको थिएन ।’

सात करोडका लागि गरिनन् कोसिसः

अनूपा दासले अमिताभ बच्चनको प्रश्नको लगातार सही जवाफ दिइन् तर १० औं प्रश्नको उत्तरमा उनले पहिलो पटक दुई लाइफलाइनको उपयोग गर्नुपर्यो ।

एक करोड रुपैयाँ जितेपछि जब उनलाई सात करोडको प्रश्न सोधियो तब उनले सही जवाफका लागि आशंका जताउँदै खेल छोड्ने विकल्प छानिन् ।

उनी भन्छिन्, ‘सात करोडको प्रश्नमा कुनै अफसोस छैन । मैले जुन जवाफ सोचेकी थिएँ त्यो नै सही जवाफ थियो । यो कुराका लागि अलिकति पनि नराम्रो लागेको छैन । म थोरै हडबडी गर्छु । तर पूरा शो मैले निकै शान्तिपूर्वक खेलेँ । सात करोडको प्रश्नको जवाफ मैले सोचेकी थिएँ तर म यसमा निश्चिन्त थिइनँ । तसर्थ मैले शो क्विट गर्ने निर्णय गरेँ ।’

अनूपा भन्छिन्, ‘कार्यक्रमपछि मलाई धेरै मानिसहरुले सात करोड रुपैयाँको प्रश्नको जवाफ दिनुपर्दथ्यो भन्नु भयो । तर मलाई पटक पटक के लागिरहेको थियो भने एक करोडबाट सात करोडबीचको दुरी त निकै कम छ त एक करोड र तीन लाख २० हजार रुपैयाँबीचको दुरी निकै धेरै छ । जुन कुरा मैले पाउन सकिनँ त्यसको दुःख भन्दा गुमाउनुको पीडा असाध्यै धेरै लाग्न सक्थ्यो । यो दुःखका लागि म तयार थिइनँ । मलाई के कुरा खुसी लाग्यो भने मैले जुन उत्तर सोचेकी थिएँ त्यो सही निस्कियो ।’

केबीसीको सुटिङबाट बस्तर फिर्ता भएपछि अनूपा पित्तथैलीको क्यान्सरसँग जुधिरहेकी आफ्नी आमाको उपचारका लागि मुम्बई फर्किसकेकी छिन् ।

उनी आफ्ना विद्यालयका अध्ययनरत गरिब विद्यार्थीको मद्दत गर्न चाहन्छिन् । उनीहरुलाई पढाउनु र उनीहरुसँग समय बिताउन उनलाई असाध्यै रमाइलो लाग्छ । तर हाल उनी आफ्नो पूरा ध्यान आमाको उपचारमा लगाइरहेकी छिन् । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप