शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातले रोकिएका दुई जहाजले उडान भरे

सोमबार, २० पुस २०७७, १५ : ५४
सोमबार, २० पुस २०७७

हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए । 


हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ । आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ । 

जुम्लाका किसान खुशी
खलङ्गा । जुम्लामा आज बिहान ३ः०० बजेदेखि  हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताए । हिमपात भएसँगै  चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताए। 

यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताए । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप