बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कृषि बजारलाई नयाँ ढंगले व्यवस्थापन गर्नु आवश्यक छः मन्त्री अर्याल

सोमबार, २० पुस २०७७, १६ : ५१
सोमबार, २० पुस २०७७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन् । मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको उनले बताइन् । ‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिँदैन । कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौ भनेको छ’ मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन । दुध उत्पादन गर्यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भिीर कुरा हो । मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन ।’

बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडी बढ्न नसकिने बताइन् । उनले भनिन्, ‘आजको आवश्यकताहरु पूर्ति गर्नेगरी जानुपर्यो । आजका समस्या के हुन् ? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाउ ।’  आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले जे गर्यो त्यसको निरन्तरता मात्र आजको आवश्यकता नभएको बताइन् । मेरो पालामा केही नयाँ चिज दिन्छु भन्ने हिसाबले अगाडी बढ्न समेत उनले आग्रह नयाँ सिस्टम बसाल्छु भन्ने ढंगले अगाडी बढ्न निर्देशन दिइन् । 

सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी ३ खालको बजारको परिकल्पना गरेको बताउँदै मन्त्री अर्यालले कस्ता बजारलाई कुन बजारमा राख्ने भन्ने ढंगले मापदण्ड बनाउन निर्देशन दिइन् । ‘कस्तालाई कुन बजारमा राख्ने ? तपाईहरु मापदण्ड बनाउनुस् । यसलाई कार्यान्वयन गर्नेगरी जाम । किसानलाई उत्साहित बनाउन यो कार्य जरुरी छ’ उनले भनिन्, ‘हाम्रो बजार हाम्रो हातमा छैन । कोभिडको बेला किसानहरुले तरकारी, फलफूल उत्पादन गरे । काठमाडौं आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ । अनि किसानहरु फर्केर जाने स्थिति बन्यो । बजारको बर्गीकरण गरेर ल्याउनुस् । हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरुको हित हुँदै हुँदैन । योजना लिएर आउनुस् । आजसम्मको तपाईहरुको अध्ययनले के भन्छ ?’

कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिइन् ।  सरकारका तर्फबाट बिक्री भएका बेर्नाबाट उत्पादन भएन भन्ने कुरा बढी उठ्ने गरेको भन्दै उहाँले यस सन्दर्भमा सत्यतथ्य पत्ता लगाएर रिपोर्ट दिन समेत निर्देशन दिइन् ।

दुग्ध विकास वोर्ड र संस्थान दुईवटा निकाय रहेकाले संस्थान र वोर्डहरुको अन्तर सम्बन्धहरुलाई छुट्याएर अलग–अलग संरचना राखेर झञ्जटिलो बनाउनुभन्दा एकीकृत गर्न सकिन्छ भने यस विषयमा सोच्न समेत मन्त्री अर्यालले आग्रह गरिन् । किसानहरुले दुधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उनले दिगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप