ad
केन्द्रीय संस्करण

लोककथा : गरीब किसान, बकुल्लासिंह र माछा

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

 

 

(यो लोककथा जंगलापुर नगरीमा बहुत प्रचलित लोककथा हो। अन्य नगरका कोही कसैसित मिल्न गएमा संयोग मात्र हुनेछ।)

जंगलापुर नगरीमा एउटा गरीब किसान बस्दथ्यो। उसको घर नजिकै एउटा पोकेकुण्ड नामको तलाउ थियो। एकदिन उसले त्यो तलाउमा माछा पाल्ने बिचार गर्यो। माछा बेचेर यसो दुई चार पैसा आम्दामी गरौंला, घरखर्च टारौंला भन्ने उसको उद्देश्य थियो। यसको लागि उसले पोखरी सरसफाइ गर्यो। माछाका भुरा ल्याएर पोखरीमा हाल्यो। आफू नभ्याउने भएकोले माछाको रेखदेख गर्ने जिम्मा चाहिं बकुल्लासिंह नाम गरेको नामी पहलमानलाई दियो। अरू विकल्प नभएकोले यो उसको बाध्यता नै थियो। जिम्मा नै लाइदिंदा जिम्मेवार नै होला भन्ने शायद उसको अपेक्षा पनि हुँदो हो। रुँग्न राखेको करीब दुई महिना पछि किसान पोकेकुण्ड  गयो माछा हेर्न। तर माछाको त नामोनिशान थिएन। पानी मात्र थियो तलाउमा ! र के भएको रहेछ भनेर बुझ्दा त बकुल्लासिंहले उसका माछा खाएरै सिध्याइसकेको रहेछ।

किसानलाई चिन्ता लाग्यो। आफूले गल्ती गरेको महसूस भयो उसलाई। तर बकुल्लासिंहलाई नै पोखरीको रेखदेख गर्ने जिम्मेवारी दिन ऊ विवश थियो। किनभने उसले अरू भरपर्दो विकल्प भेटेको थिएन। तब उसले एउटा जुक्ति लगायो।

उसले बकुल्लासिंहलाई लिखित शर्तबन्दी गरेर माछा रुँग्न राख्ने बिचार गर्यो। त्यही अनुसारको शर्तनामा बनायो।शर्तनामामा माछा खाने सम्बन्धी शर्त पनि राख्यो। माछा खाने शर्त चाहिं यस्तो थियो– बकुल्लासिंहले आफू रुँग्न बसेको पोखरीको माछा खान चाहिं पाउने तर हप्तामा दुईटा। यसमा बकुल्लासिंह पनि राजी भो।

दुबैले सही गरे। शर्त लागू भो। तर फेरि पनि बकुल्लासिंहले माछा खाएर सिध्याइदियो। किसानले रिसाउँदै उसलाई झपार्यो। बलिष्ठ पहलमान किसानले झपारेर किन टेर्थ्यो र ! उसले निर्धक्कका साथ तर्क गर्यो– हाम्रो शर्तनामामा मैले हप्तामा दुईटा माछा खान पाउने चाहिँ लेखेको छ। सही हो। मैले मानें। तर दुईटा भन्दा बढी खान नपाउने भनेर चाहिं कहीँ कतै लेखेको रहेनछ। मैले पुरै अक्षराक्षर पढें। त्यसैले मैले शर्त उल्लंघन गरेको छैन। किन बेकारमा झपार्नुहुन्छ मलाई ?

अब भएन भनेर किसानले नयाँ शर्त सहितको फेरि अर्को सम्झौता बनायो। अन्य कुराहरूका अतिरिक्त थपिएको नयाँ शर्त यस्तो थियो– आइन्दा बकुल्लासिंहले सो पोखरीको माछा खानै नपाउने।

बरू यसको बदला महिनावारी तलब बढाइदियो किसानले। यो शर्तमा पनि दुबैले हस्ताक्षर गरे।लागू भो  तर पहिलाकै जस्तै माछा सखाप ! फेरि के भएर माछा हराएछन् भनेर सोधीखोजी गर्यो किसानले र पत्ता लगायो कि बकुल्लासिंहले माछा खाएर होइन बेचेर पो सिध्याएको रहेछ।

सोझो किसान फेरि रिसायो। बकुल्लासिंहले फेरि हाक्काहाक्की तर्क तेर्स्यायो– सम्झौतामा मैले माछा खान नपाउने भनेर मात्र लेखेको छ। बेच्न नपाउने भनेर लेखेकै छैन। मैले माछालाई बेचेको मात्र हो, खाएको होइन। खानु र बेच्नुमा त फरक छ नि, होइनरु त्यसैले मेरो काम शर्त अनुकूल छ र तपाईं रिसाउनुको कुनै तूक छैन।

अब त अति भो भनेर बिचरा किसान आजित भएर फेरि नयाँ शर्तनामा बनायो। त्यसमा अन्य कुराका अलावा खान पनि नपाउने र बेच्न पनि नपाउनेु भनेर सीधा भाषामा प्रष्टसंग लेख्यो। शर्तनामाको त्यो व्यवस्थालाई चाहिं मोटो कलमले ठूल्ठूला अक्षरले लेख्यो ताकि सजिलै देख्न सकियोस्। त्यसपछि उसलाई सहीछाप गरायो।आफूले पनि सहीछाप गर्यो र दुनियाँलाई देखायो। लागू भयो। यो शर्तनामा पछि भने किसानको खुशीको सीमै रहेन्र । ऊ त्यसै त्यसै बुल्कियो र फुर्कियो। सबै सन्देह उन्मूलन गर्यो, बल्ल ढुक्क भो भन्दै मख्ख पर्यो र तलाउले धान्ने जति भुरा ल्याएर हाल्यो। चारो पनि थोकमै खरिद गरेर स्टक राख्यो। पोखरीको व्यापक सरसफाई गर्यो। सुरक्षाका अरू उपायहरूको बन्दोबस्त पनि गर्यो।

 भुरा हुर्किए। बढे। तर मोटायो बकुल्लासिंह मात्रै।ऊ पहिले भन्दा अझ हृष्टपुष्ट र खाइलाग्दो हुँदै गएको थियो भने किसानको सुकुम्बासीकरण पनि समानान्तर रूपमा अघि बढिरहेको थियो। अर्थात् पोकेकुण्डमा पानी मात्रै बाँकी रहने र माछा अन्तै बहने क्रम जारी थियो।

किसान धुरूधुरू रोयो। करायो। चित्त दुखायो। छट्पटियो। तर बकुल्लासिंहको तर्क दिने शक्ति अझ धारिलो हुँदै थियो। थर्काउने शक्तिमा त यसैउसै बलियो छँदै थियो। बकुल्लासिंहले बकाइदा तर्क गर्यो– खान नपाउने र बेच्न नपाउने भन्ने जुन वाक्य छन् नि, ती किन लेखियो, थाहा छ ?

बकुल्लासिंहले आफैं उत्तर दियो–

किनभने खान सक्नेरहेछ, बेच्न सक्नेरहेछ भनेर होइन अर्थात् खान सक्ने र बेच्न सक्ने संभावनालाई यो शर्तनामाले पूरापूर देखेको छ,अङ्गीकार गरेको छ। फेरि माछा रुँगाइको यो पोकेकुण्डीय शैलीमा जसले रुँग्छ उसैले खान्छ भन्ने कुरा बिर्सनु भएन नि तपाईंले।

बकुल्लासिंह अब बिस्तारै बिस्तारै सिद्धान्तकार पनि हुँदै गएको छनक दिदैं थियो। उसको तर्क सुन्दा यस्तै लाग्थ्यो। नयाँ नयाँ शब्दहरू जन्माएर तर्क गर्न माहिर हुँदै थियो र यो पोकेकुण्डीय शैली भन्ने शब्दको आविष्कार ऊ स्वयंले गरेको थियो । त्यसको अर्थ के हो त्यो शायद बकुल्लासिंहलाई मात्रै थाहा थियो । बिचरा सोझो किसान के बुझोस् ! 

बकुल्लासिंह तर्क गर्दै गयो–

माछा खाने एकल अधिकार भने मेरो मात्रै हो। किनभने मलाई रुँग्न राखेपछि मेरो अनुमति बेगर कसैले पनि यहाँको माछा खान पाउन्न।

किसानतिर लक्षित गर्दै बकुल्लासिंहले भन्यो– तपाईंले पनि पाउनुहुन्न।

उसको तर्कको रफ्तार अझ थामिएको छैन–

शर्तनामाले अङ्गीकार गरेको कुरा गरें । के बिराएँ ? त्यसैले मेरो कर्म सोह्रै आना शर्तनामा मुताविक छ। शर्तको उल्लंघन रत्तिभर गरेको छैन।

बकुल्लासिंह बोलीमात्र रह्यो किसान भने मुर्मुरिंदै सुनी मात्र रह्यो–

यति भनेपछि पनि तपाईं शर्तनामा उल्लंघन भो भन्नुहुन्छ भने या त तपाईंले शर्तनामा पढ्नुभएको छैन या त पढेर पनि बुझ पचाइराख्नु भएको छ।

बकुल्लासिंहले चुनौती दियो– आउनुस् एकदिन तपाईं र म संगसंगै बसेर शर्तनामा पढौं।

उसको तर्क सुनेर किसान ट्वाँ पर्यो। र मनमनै गम्यो–नियतमा खोट भएपछि लेखोटमा जे लेखे नि नहुँदोरहेछ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.