लगानी कोषको स्थापना र संचालन गर्न ५ वटा संस्थाले पाउने भए धितोपत्र बोर्डबाट अनुमति

काठमाडौं । धितोपत्र बोर्डले ५ वटा संस्थालाई विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको छ ।
धितोपत्र बजारको विकास र विस्तारको लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली २०७५ बमोजिम विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न बोर्डमा विभिन्न ९ संगठित संस्थाले निवेदन दिएकोमा ५ वटा संस्थालाई अनुमति दिएको हो ।
बोर्डले नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोबल इक्विटी फन्ड प्रा.लि., लक्ष्मी क्यापिटल मार्केट लि., एनआईबीएल एस क्यापिटल लि., एनआईसी एशिया क्यापिटल लि. र एनएमबी क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको हो ।
धितोपत्र बजारको विकासका लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।
यसबाट पुँजी बजारमा नयाँ एवं आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पुँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ ।
नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको हो । नेपालको पूँजी बजारमा हाल सेयर, डिबेन्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध थियो ।
यसले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास लिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...
-
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो