शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध साहसिक स्वयंसेवी युवा : शव व्यवस्थापन र निर्मलीकरणमा निरन्तर

बुधबार, २९ वैशाख २०७८, १४ : २१
बुधबार, २९ वैशाख २०७८

विराटनगरका दृश्यमान शाक्य उमेरले भर्खरै १७ वर्ष टेके । तर उमेरले जतिनै कलिलो भएपनि उनले वहन गर्दै आएको जिम्मेवारी भने चुनौतीपूर्ण र उत्तिकै जोखिमपूर्ण छ ।

उनी अहिले कोरोनाबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन सक्रिय रहँदै आएका छन्, त्यो पनि निःस्वार्थ भावले ।

उनी अहिले होम आइसोलेसनमा होस् या अस्पतालमा, कोरोनाका कारण मृत्यु भएकाको शव अन्त्येष्टिका लागि घाटसम्म लैजाने कार्यमा खटिँदै आएका छन् ।

यतिमा मात्र उनको दिनचर्या सीमित छैन । बाँकी समय पनि उनी कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइज गर्ने कार्यमा खटिने गरेका छन् ।

दृश्यमानकै उमेर समूहका ६ जना अहिले ‘कोभिड–१९ डिसइन्फेक्सन स्यानिटाइजेसन टीम’ बनाएर अहिले विराटनगरमा संक्रमितको शव व्यवस्थापनदेखि संक्रमितका घर स्यानिटाइजेसन गर्ने काममा सक्रिय छ । त्यही टीमको एकजना सदस्य हुन् दृश्यमान ।

६ जनाको टीममा सबैभन्दा कान्छा सदस्य हुन् दृश्यमान । कोभिड–१९ डिसइन्फेक्सन स्यानिटाइजेसन टीममा १७ देखि ३२ उमेर समूहका छन् ।

पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश १ को राजधानी विराटनगरमा संक्रमण बढेसँगै प्रायः मानिस घरभित्रै छन् । तर यो संकटको समयमा दृश्यमानसहितका ६ जना युवा समूह भने सधैँ संक्रमितहरुको घर–घरमा पुग्छन् ।

‘संकटको समयमा राज्यको मुखमात्र ताकेर बस्ने परिपाटीले समस्या अझ चुलिन्छ’, अभियन्ता शाक्यले भने, ‘अहिलेको समयमा कोरोना संक्रमणको लडाइँमा हामी सबै मिलेर राज्यले गरेको कामलाई साथ दिनुपर्छ ।’ यही भावना अनुसार जोखिम र चुनौती मोल्दै आफु यो कार्यमा संलग्न भएको उनले बताए ।

स्वयंसेवी युवा पाँच दिनदेखि आफ्नो ज्यानको पर्वाह नगरी संक्रमितको घरलाई निर्मलीकरण गरिरहेका छन् । यो संकटको समयमा उनीहरुले कोरोनाका कारण मृत्यु भएका संक्रमितको शव व्यवस्थापनसँगै दाहसंस्कारको काम पनि गरिरहेको छ ।

विराटनगर बगरगाछीका ती युवालाई विराटनगर महानगरपालिकाले व्यवस्थापकीय पक्षमा साथ दिँदै आएको छ ।

आफ्नो टीमले कोरोनाका कारण मृत्यु भएका विराटनगरका ६ जनाको शव व्यवस्थापनसँगै दाहसंस्कार गरेको कोभिड १९ डिसइन्फेक्सन स्यानिटाइजेसन टीम अभियन्ता राम नेपालले बताए । ‘पाँच दिनमा ६ वटा संक्रमितको शव व्यवस्थापनको काम पूरा गरेका छौं,’ नेपालले भने, ‘बुधबार एकैदिन थप दुई जनाको शव व्यवस्थापन गर्नुपर्ने छ ।’

विराटनगर महानगपालिकाले उपलब्ध गराएको शव वाहनमा संक्रमितको शव राखेर उनीहरुको टीमले सुरक्षित रुपमा घाटसम्म लगेर शवको अन्त्येष्टि गर्दैै आएको छ । बिराटगरका अस्पतालदेखि होम आइसोलेसनमा रहेका संक्रमितमध्ये दैनिक तीनदेखि पाँच जनाको मत्यु हुँदै आएको छ ।

महानगरले कोराना संक्रमितको घर स्यानिटाइज गर्न आवश्यक औषधिसहित उनीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउँदै आएको छ । उनीलाई आइसोलेसनमा बस्ने व्यवस्थासमेत महानगरले गरिदिएको छ । पाँच दिनदेखि उनीहरु महानगरले उपलब्ध गराईदिएको विराटनगरको मारवाडी सेवा सदनमा रहेको आइसोलेसनमा बसेर यी सबै काम गर्दैै आएका छन् ।

‘कोरोनाविरुद्धको लडाइँमा सबैले आ–आफ्नो तहबाट राज्यलाई सहयोग र साथ दिन आवश्यक छ,’ अभियन्ता नेपालले भने, ‘हामी यही भावनाका साथ काम गरिरहेका छौं ।’

सुरुवाती दिनमा उनीहरुले नगर क्षेत्रभित्रै कोरोनाप्रति सचेत र सजग भई सुरक्षित हुन नगरवासीलाई चेतना जनाउने अभियान थालेका थिए । त्यही काम गर्ने क्रममा उनीहरुले धेरै ठाउँबाट हौसला प्राप्त गरे । उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री यही बीचमा दाताहरूबाट प्राप्त भयो । त्यसपछिका दिनमा उनीहरुको कामले अझ गति लिँदै गयो ।

टीमका अर्का अभियन्ता रविन कार्की कोरोना संक्रमणको भय अन्त्य नभएसम्म आफूहरु स्वयंसेवी रुपमा जुनसुकै काम गर्न तयार रहेको बताउँछन् । कार्कीले भने, ‘राज्य तहबाट पनि हामीलाई कुनै जिम्मेवारी दिइन्छ भने हाम्रो टीम स्वयंसेवी भएर जिम्मेवारी वहन गर्न तयार छ ।’

कोरोना संकटको यो समयमा सवैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सके कोरोनाको यो संकटलाई चाँडै परास्त गर्न सकिने स्वयंसेवी युवा दृश्यमान शाक्यले बताए । आफूहरुको समूहले पाँच दिनको अवधिमा ५८ कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइज गरिसकेको उनको भनाइ छ ।

पाँच दिनदेखि निरन्तर फ्रन्ट लाइनमा काम गर्दै आएका कारण बिहीबार पीसीआर परीक्षण गराउने सोही टीमका सदस्य अनुराग भण्डारीले बताए । ‘शव व्यवस्थापनमा जुटेको दिनदेखि आजसम्म आइपुग्दा हामीमा स्वास्थ्यमा कुनै समस्या देखिएको छैन,’ भण्डारीले भने, ‘तर पनि पाँच दिनदेखि लगातार हामी फिल्डमा छौं । त्यसैले एकपटक पीसीआर परीक्षण गरौं भन्ने लागेको हो ।’

टीममा राम नेपाल, संजोग गौतम, रवीन कार्की, अनुराग भण्डारी, दृश्यमान शाक्य र रोशन पौडेल छन् । उनीहरुले हिम्मत गरे कुनै पनि काम गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप