बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा कसले काट्यो महेश बस्नेतको नाम ?

ओलीको प्राथमिकतामा नैनकला परेपछि युवा संघमा असन्तुष्टि
बिहीबार, २७ जेठ २०७८, २० : ५८
बिहीबार, २७ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ औं पटक मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला बुधबार राति ओलीकै निकट एक नेता फुत्त बालुवाटार छिरे । प्रधानमन्त्री ओली र ती नेतावीच महेश बस्नेतका विषयमा छलफल भयो ।

पूर्वमन्त्री बस्नेत दोस्रोपटक मन्त्रीका रुपमा सिंहदरवार इन्ट्री गर्ने तयारीमा थिए । उनले महत्वपूर्ण मन्त्रालय गृह वा सञ्चारको दाबी गरेका थिए । उनले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिँदै केपी ओलीलाई कृष्ण र आफूलाई अर्जुनका रुपमा तुलना गरेका थिए । विभिन्न सञ्चार माध्यममा महेश बस्नेत मन्त्री बन्न लागेका समाचारहरु बाक्लै आइरहेका थिए ।

तर, विहीबार मन्त्रिपरिषद विस्तार हुँदा महेश बस्नेतलाई प्रधानमन्त्री ओलीले निराश बनाइदिए । बस्नेतलाई प्रधानमन्त्री ओलीले राज्यमन्त्रीसम्म पनि बनाएन् । मन्त्री हुनेहरुको अन्तिम नाम बुधबार राति नै बालुवाटारमा तयार भएको थियो, जहाँ बस्नेतको नाम काटियो । गृह नभएपनि सञ्चार मन्त्रालयसम्म आफूले पाउनेमा बस्नेत आफू पनि ढुक्क थिए । तर, बस्नेत गृह र सञ्चार त परै जावस्, २५ सदस्यीय मन्त्रिपरिषदमै कतै अटाएनन् ।

​आफूलाई राजनीतिको चतुर खेलाडी ठान्ने बस्नेतले अन्तिम घडीमा आएर आफूलाई कसले मन्त्री बन्नबाट रोक्यो भनेर नबुझ्ने कुरै भएन । आफ्नो समूहभित्रकै कमरेडले खुट्टा तानेर आफूलाई मन्त्री बन्नबाट रोकेको बस्नेतको गुनासो बाहिर आइसकेको छ ।

 

विहीबार नयाँ मन्त्रीहरुले सपथ लिइरहेका बेला बस्नेतचाहिँ फेसबुकमा स्टाटस लेख्दै थिए । आफ्नै कमरेडले मन्त्री बन्न नदिएको संकेत गर्दै उनले भनेका छन् ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन ।....पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाव पर्ने गरी काम गरेको छु । ....पटक–पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नुहुन्छ । मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’

शुरुमा बस्नेतको नाम काट्ने सोचमा प्रधानमन्त्री ओली थिएनन् । तर, आफ्नै समूहभित्र असन्तुष्टि बढेपछि उनले बस्नेतको नाम काटेको स्रोत बताउँछ ।

युवा संघमा असन्तुष्टि

आफूलाई दिलोज्यानले सहयोग गर्दै आएका युवा नेता बस्नेतलाई ओलीले मन्त्री नबनाएपछि युवा संघका नेताहरु असन्तुष्ट बनेका छन् । मन्त्रिपरिषदमा बस्नेत नपरेपछि विहीबार ओलीनिकट युवासंघका केही नेताहरु गुनासो बोकेर बालुवाटार पुगेका थिए ।

‘अप्ठेरोमा सहयोग गर्ने बस्नेतजीलाई क्याबिनेटमा नपारेपछि गुनासो गर्नु स्वाभाविक हो’, युवा संघका एक नेताले भने, ‘अहिले प्रधानमन्त्रीलाई महेश बस्नेतभन्दा नैनकला प्यारोजस्तै भयो ।’

महेश बस्नेत मन्त्री नबन्नुका ४ कारण

बालुवाटारनिकटस्थ स्रोतका अनुसार बस्नेतलाई मन्त्री नबनाइनुका पछाडिका केही कारणहरु छन् । 

पहिलो कारण– बस्नेत मन्त्री बन्न लागेको चर्चा मिडियामा व्यापक बनेको थियो । बस्नेत आफैं टीभीमा अन्तरवार्ता दिँदै हिँडेका थिए । ‘आफ्नो नियुक्ति हुनुपूर्व मिडियामा यसरी चर्चा भयो भने प्रधानमन्त्री ओलीलाई रीस उठ्छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘बस्नेतले आफैं मन्त्री बन्नका लागि प्रचार गर्दै हिँडेको प्रधानमन्त्रीज्यूलाई लाग्यो र उहाँले नाम काटिदिनुभयो । मिडियामा हल्ला–खल्ला नगरी बसेको भए कुनै न कुनै एउटा मन्त्रालयको जिम्मेवारी आउन सक्थ्यो ।’

दोस्रो कारण– अघिल्लो मन्त्रिपरिषद गठनका बेला प्रधानमन्त्रीले राखेको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरेको भन्ने ढंगको समाचार कतिपय मिडियामा आयो । त्यस्तो समाचार लेख्ने मिडिया बस्नेतकै नजिकको रहेको भन्दै प्रधानमन्त्रीलाई  निकटस्थहरुले सुनाएपछि प्रधानमन्त्री बस्नेतसँग रुष्ट बने ।

तेस्रो कारण– पछिल्लो समय बस्नेत केही विवादहरुमा रुमलिएका थिए । जस्तो– जसपाका सांसद सुरेश यादवलाई सर्वेन्द्र खनालसँग मिलेर ‘अपहरण’ को प्रयास गरेको आरोप उनीमाथि छँदै थियो, वैशाख २७ मा ओलीले विश्वासको मत लिँदै गर्दा जसपा नेताहरुलाई भक्तपुरको एउटा रिसोर्टमा राखेर उनले फोटो सेसन गराएका थिए । त्यस्तै, गण्डकीमा दीपक मनाङ्गेसँग मिलेको आरोप पनि उनीमाथि लागेको थियो ।

यस्ता प्रकरणहरुका कारण विशेष गरी प्रहरी प्रशासन महेश बस्नेतप्रति सकारात्मक थिएन । बालुवाटार स्रोत भन्छ, ‘गृहमन्त्रीमा को आउँछ भन्ने प्रहरीलाई चासो हुन्छ र प्रधानमन्त्रीमाथि उनीहरुको पनि दबाब रहन्छ ।’

र, चौथो कारण– अहिले कामचलाउ सरकारमा लगिएका नेताहरुलाई प्रधानमन्त्री ओलीले आगामी चुनावमा टिकट दिने सम्भावना कम छ । महेश बस्नेत आगामी चुनावमा भक्तपुरबाट टिकट पाउने र चुनावी अभियानमा देशैभरि खट्न सक्ने नेता हुन् । यस कारणले पनि उनलाई मन्त्री नबनाइएको बालुवाटार स्रोतको तर्क छ । जस्तो– माधव नेपाल समूहबाट मन्त्री बनेका गणेश पहाडीले आगामी चुनावमा सिन्धुलीबाट टिकट पाउने सम्भावना छैन, त्यसैले उनलाई मन्त्री बनाइएको बालुवाटार स्रोत बताउँछ ।

तर, जुनसुकै कारणले बस्नेतलाई मन्त्री नबनाइए पनि उनको साटो बादलपत्नीलाई रोजिएकोमा केपी ओलीप्रति उनकै समूहभित्र युवाहरूमा असन्तुष्टि बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप