बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीले यौनकर्मी, एचआइभी पीडित र अनाथको निःशुल्क उपचार गर्ने

बिहीबार, १० असार २०७८, २२ : ३५
बिहीबार, १० असार २०७८

 काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाएको हो ।

घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा। सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन् ।

केएमसीले अब माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआइभी पीडित तथा सयौं अनाथहरूको निःशुल्क उपचार गर्नेछ र यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने ।

काठमाडौं मेडिकल कलेजले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिने शर्माले बताए  । शर्माका अनुसार केएमसीले औषधीबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरूको उपचार तथा पुनःस्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन् ।

राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विस्वास कोइरालाको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप