बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा महन्थ ठाकुर पक्षका सांसद अलपत्र

आइतबार, १३ असार २०७८, ०८ : ५०
आइतबार, १३ असार २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षमा रहेका प्रदेश २ का प्रदेशसभा सदस्यहरु अलपत्र परेका छन् । ठाकुर पक्षमा रहेका केही प्रदेश सांसद उपेन्द्र यादवका पक्षमा लागेका छन् भने बाँकी सांसद अलपत्र परेका हुन् ।

ठाकुर पक्षका प्रदेश २ का सांसद विक्की यादवले फेसबुकमै आफ्नो असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, ‘जसपा अन्तरर्गत राजपा खेमाका नेतृत्वका असक्षमताको कारण पार्टी गतिहीन र दिशाविहीन, राष्ट्र राजनीति, संगठन बनाउने अथवा जनताको बीचमा जाने स्पष्ट दृष्टिकोण वा ठोस योजना नभएको कारण प्रदेशसभा सदस्यलगायत नेता कर्याकर्ताहरु अलपत्र अवस्थामा ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई निश्काशन गरेर काँग्रेसलाई सामेल गरी मन्त्रिपरिषद्लाई हेरफेर गरेपछि ठाकुर पक्षका सांसदहरु अलपत्र परेको गुनासो हुन थालेका हो ।

सांसद विक्की यादवले भने, ‘पार्टी गुटमा विभाजित भएपछि पूर्व राजपाका प्रदेश सांसद अलमलमा छन्, के गर्ने र के नगर्ने भन्ने अन्योल देखिन्छ । नेतृत्व तहबाट कुनै निर्देशन नभएको र छलफलसमेत हुन नसकेको उनले बताए ।

जसपाका ५५ जना सांसदमध्ये ३० जना सांसद पूर्व समाजवादी पार्टीका छन् भने २५ जना पूर्व राजपाका छन् । पूर्व राजपाका २५ जनामध्ये ६ जना उपेन्द्र यादवको पक्षमा लागेका छन् । बाँकी १९ जनालाई पनि महन्थ ठाकुरले व्यवस्थापन गर्न नसकेको गुनासो आइरहेको छ ।

महन्थ ठाकुर पक्षका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि भागबण्डामा लागेको बेला जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर बसेका थिए । उनको सोही बसाइका क्रममा काँग्रेस, माओवादी केन्द्र तथा महन्थ ठाकुर पक्षकै सांसदहरुसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।

उपेन्द्र यादव प्रदेश २ मा योजनावद्ध रुपमा खेलिरहँदा केन्द्रमा महन्थ ठाकुरका पक्षका नेताहरु भने भागबण्डामा व्यस्त थिए । जसले गर्दा उक्त समूहले प्रदेश २ प्रदेशसभाका आफ्ना सांसदलाई व्यवस्थापन गर्न नसकेको सोही पक्षका स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् ।

महन्थ ठाकुर पक्षका सांसद जितेन्द्र सोनलले एक्लै आफ्ना पक्षका सांसदहरुलाई समेट्ने प्रयास गरे पनि केन्द्रबाट कुनै चासो नलिएका कारण उनी सफल हुन नसकेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप