शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखको कुर्सीमा माओवादीबाहेक को बस्ला ?

प्रतिनिधिसभामा १८ महिनादेखि रिक्त छ उपसभामुखको पद
मङ्गलबार, ०५ साउन २०७८, १५ : ३३
मङ्गलबार, ०५ साउन २०७८


प्रतिनिधि सभा झन्डै १८ महिनादेखि उपसभामुखविहीन छ । सभामुखमा अग्नि सापकोटा निर्वाचित हुने तय भएपछि एउटै दलको भएका कारण २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् । तर, डेढ वर्ष बितिसक्दा पनि संसद्ले नयाँ उपसभामुख चयन गर्न सकेको छैन ।

एउटै पार्टीबाट सभामुख र उपसभामुख निर्वाचित गर्न नसकिने संवैधानिक व्यवस्थाअनुसार तत्कालीन नेकपाबाटै सभामुख र उपसभामुख हुने भएपछि १८ महिनाअघि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । उपसभामुख तुम्बाहाङ्फेको राजीनामासँगै सापकोटा सभामुखमा निर्वाचित भएयता प्रतिनिधि सभा अहिलेसम्म उपसभामुखविहीन भएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा सांस्कृतिक विचलनसम्बन्धी काण्डमा मुछिएपछि महराले राजीनामा दिएका थिए । त्यसपछि नयाँ सभामुख चयनका तत्कालीन नेकपाभित्र किचलो भएको थियो । ओली पक्षले उपसभामुख शिवमाया तुम्बाहाङ्फे वा सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको  थियो भने प्रचण्डले अग्निप्रसाद सापकोटालाई अघि सारेका थिए ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण हुनु पूर्व सभामुख पद माओवादी केन्द्र र उपसभामुख पद एमालेको भागमा परेको थियो । दुई पार्टी एकीकरण गरेपछि काँग्रेसले संविधान विपरीत एउटै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै विरोध गरेको थियो । तर, पछि सभामुख पद रिक्त भएपछि भने काँग्रेसले यसबारे कुरा उठाउन छाड्यो । तत्कालीन नेकपा सरकारले पनि उपसभामुखको निर्वाचनको आवश्यकता महसुस गरेन । अहिले बल्ल नयाँ सत्ता समीकरण निर्माण भएसँगै अब प्रतिनिधि सभाले उपसभामुख पाउने अपेक्षा गरिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुने व्यवस्था नभएका कारण तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाइएको थियो । त्यसको केही समयपछि नै मन्त्रीपरिषद् हेरफेर गर्दै उनलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनाइएको थियो ।

अब कसले पाउँछ उपसभामुख ?  

संवैधानिक व्यवस्थाअनुसार अब निर्वाचित हुने उपसभामुख महिला नै हुनुपर्छ । त्यसैगरी सभामुख माओवादीबाट बनेका कारण माओवादी केन्द्रबाहेक दलको  सदस्यमात्रै उपसभामुख बन्न पाउँछ । नेकपा एमाले, काँग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाले उपसभामुख दाबी गर्न सक्छन् । नेमकिपा र राप्रपासँग प्रतिनिधिसभामा महिला सांसद नभएका कारण संविधानतः उनीहरूले उपसभामुख दाबी गर्न सक्ने अवस्था छैन ।  

भर्खरै सत्तामा आएको काँग्रेस गठबन्धन यतिबेला मन्त्रिमण्डल विस्तारका लागि छलफलमा व्यस्त भएका कारण  उपसभामुखको निर्वाचन छायामा परेको छ । साथै, सो पदमा कसलाई लैजाने भन्ने कुरा प्राथमिकतामा पर्न सकेको छैन । यद्यपि मन्त्रिपरिषद् विस्तार भइसकेपछि यसबारे छलफल हुने दलका नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभामा किन चाहिन्छ उपसभामुख ?

प्रतिनिधि सभामा उपसभामुख पदको छुट्टै दायित्व र जिम्मेवारी छ । सभामुख नहुँदा वा सभामुखको सहयोगीको भूमिकामा सदनको कार्यसञ्चालन गर्न संविधानले उपसभामुख पदको व्यवस्था गरेको छ । यदि सभामुख विरुद्ध अविश्वासको प्रस्ताव पेस भयो, कुनै कारणले सभामुख पद खाली भयो भने उपसभामुखले सदन चलाउनुपर्ने हुन्छ ।

यस्तै राज्यका सबै संवैधानिक अङ्गहरूमा पदाधिकारी नियुक्त गर्नका लागि पनि उपसभामुखको भूमिका रहन्छ । संवैधानिक परिषद्को सदस्यको रूपमा उपसभामुखले भूमिका खेल्नुपर्ने व्यवस्था छ । यस्तै सभामुख वैदेशिक भ्रमणमा रहेका बेला वा लामो समय बिरामी परेका बेला सदन सञ्चालनका लागि उपसभामुखले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।  यस्तै सभामुख विरुद्ध कसैले उजुरी हालेमा पनि उपसभामुखले बैठक सञ्चालन गर्नुपर्ने वरिष्ठ अधिवक्ता रामनारायण बिडारीको भनाइ छ ।

यस्तो छ संविधानमा उपसभामुखसम्बन्धी व्यवस्था

संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था गरिएको छ । सो धाराको उपधारा १ मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् भन्ने व्यवस्था रहेको छ ।

उपधारा २ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ  भन्ने व्यवस्था छ ।

तर, प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भन्ने व्यवस्था छ ।

यस्तै उपधारा ३ मा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

उपधारा ४ मा प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यवस्था छ ।

सत्तारुढ नेता भन्छन्– गठबन्धनमा छलफल गरेर अघि बढ्छौँ

नयाँ सरकार गठनसँगै प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन पनि प्राथमिकतामा रहेको काँग्रेसले बताएको छ । विभिन्न राजनीतिक दलको गठबन्धन बनेर सरकार बनेको हुनाले गठबन्धनसँग छलफल गरेर मात्रै उपसभामुखको निर्वाचन हुने प्रतिनिधि सभाका काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले जानकारी दिइन् । मन्त्रिमण्डल गठनले पूर्णता पाइसकेपछि यसबारेमा छलफल अघि बढ्न सक्ने उनको भनाइ छ ।

उपसभामुख कसलाई बनाउने भन्ने कुरा गठबन्धनमा छलफल गरेर मात्रै यो विषय टुङ्गो लाग्ने जनता समाजवादी उपेन्द्र यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले बताए । उनले अहिले मन्त्रीमण्डल बिस्तारका लागि गठबन्धन छलफलमा जुटिरहेकाले सरकारले पूर्णता पाएपछि मात्रै उपसभामुख निर्वाचनको विषय अघि बढ्ने बताए ।

उपसभामुखका लागि कुन दलले दाबी गर्ने भन्ने कुरा यति बेला सान्दर्भिक नभएको बताउँदै उनले गठबन्धनको छलफलबाट समझदारी गरेर उपसभामुख निर्वाचित हुने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप