शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकताको समस्या समाधान हुन्छ, सुकुम्बासीलाई पुर्जा वितरण गरिन्छ : प्रचण्ड

शनिबार, २३ असोज २०७८, १७ : ३७
शनिबार, २३ असोज २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसी जनताको नागरिकताका समस्या चाँडै समाधान हुने बताएका छन् । विगत लामो समयदेखि नागरिकता नपाएर समस्या भोग्दै आएका अधिकांश मधेसी जनतालाई गठबन्धन सरकारले छिटै नागरिकता वितरण गर्ने योजना रहेको प्रचण्डले बताएका हुन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई मधेसी जनतासँग प्रेम रहेको बताउँदै आफू मधेसी जनताको नागरिकताको समस्या समाधान गर्न र मधेसी जनताको हक अधिकार स्थापित गराउन भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गरे । उनले सुकुम्वासीलाई पनि छिटै पुर्जा वितरण गराउने योजना रहेको जिकिर गर्दै त्यसैका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आफ्नो कोटामा पारी जिम्मेवारी लिएको बताए । उनले अब सुकुम्वासीलाई पुर्जा वितरण गर्ने गृहकार्य छिटै अगाडी बढाइने र सुकुम्वासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने जानकारी दिए ।

प्रचण्डले गाउँ गाउँमा सिंह दरबार आएको जिकिर गर्दै  गाउँपालिकाबाट प्रवाह हुने सेवा र गरिने विकासलाई गुणस्तर र छिटोछरितो बनाई जनतालाई त्यसको आभास दिलाउन पालिकालाई सुझाव दिए । साथै उनले यस पालिकाको विभिन्न क्षेत्रको विकासका लागि माग आएको खण्डमा आवश्यक बजेटका लागि आफू पहल गरिदिने विश्वास दिलाए ।  

सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पनि पालिकालाई आवश्यक बजेट र कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, लोसपााका जिल्ला अध्यक्ष मुकुरजी गिरी, गाउँपालिकाकी उपाध्यक्ष पावित्री कोहार, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रशासनिक भवन ९ करोड ३४ लाख ९९ हजार रुपैयाँको लागतमा निर्माण भएको पालिकाले जनाएको छ । कार्यक्रममा जिल्लाका विभिन्न जनप्रतिनिधि र नेताहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप