बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

जीवन विज्ञान र साधना पद्धति

शनिबार, १३ कात्तिक २०७८, २२ : २६
शनिबार, १३ कात्तिक २०७८

मानव जीवन खुशी र आनन्दको खोजी हो । हरेक व्यक्ति शान्त बन्न चाहन्छ । दु:ख कसैलाई मन पर्दैन । मानव मात्र होइन, पशुपन्छी, किटपतंग वनस्पति आदि सबैको खोजी सुखको आनन्दको हो । किनकि यो ब्रह्माण्डको सृष्टि नै सत् चिद् आनन्दको रसायनबाट भएको छ । यहाँ प्रेम नै प्रेम छ, हजारौँ हजार माइल परबाट सूर्यको प्रकाश निर्वाध रुपमा आइरहेको छ । त्यस्तै गरि आकाश महासागरले पनि त्यसको उदाहरण पेश गरिरहेका छन् । हामी मानव पनि त्यहि रसायनबाट बनेको कारण चाहे होसबाट होस् वा बेहोशीबाट होस् हामीले खोजेको त्यहि सुख शान्ति आनन्द नै हो । जीवन विज्ञान त्यहि हामी भित्रको रसायनको बोध गराउँदै परम शान्ति, परम आनन्द र महाखुशीमा उपलब्ध गराउने राजमार्ग हो ।

 हामी भित्र मन छ । मनको सुक्ष्मतलमा आत्मा र परमात्माको वास छ भने मनको आवरणमा भौतिक संसार छ । विज्ञान र अध्यात्मको एउटै मत छ कि जति बढी सुक्ष्म हुन्छ त्यति नै बढी शक्तिशाली हुन्छ । एटम बमको निर्माण त्यहि सिद्धान्तमा भएको हो । हामी संग भएका ५ वटै ज्ञानेन्द्रिय बाहिरतिर फर्किएका छन् । भौतिक संसार सिमित छ त्यसैले संसारतिर फर्किएका इन्द्रियहरुले सिमित ज्ञान मात्र दिन सक्तछन् । मन भन्दा भित्रको संसार असिमित छ किनकि त्यहाँ आत्मा र परमात्माको निवास छ । आत्मा र परमात्मा असिमित अनन्त छ । यदि सहि मार्गनिर्देशन प्राप्त गरेर ति इन्द्रियाहरुलाई प्रत्याहार मार्फत हामीले भित्रतिर फर्काउन सक्यौं भने असिमित अनन्त संसारको ज्ञान प्राप्त गर्दै हामी पनि त्यहि रुपमा उपलब्ध हुन सक्तछौँ । त्यो असिमित ज्ञानमा उपलब्ध हुन निरन्तर साधना चाहिन्छ । त्यहि अनुरुपको वातावरण, परमहोशमा उपलब्ध सद्गुरुदेवको सानिध्य सत्संगले हामीलाई विस्तारै विस्तारै त्यो अवस्थामा लैजान्छन् । जीवन विज्ञान त्यहि तपोभूमिको नाम हो ।

 जीवन विज्ञान एउटा विशुद्ध आध्यात्मिक संस्था हो । वर्ग, धर्म, सम्प्रदाय, लिङ्ग, जातजाति आदि भन्दा माथी रहेर निरन्तर मानव सेवामा समर्पित छ । जुन रसायन वा कच्चा पदार्थबाट ब्रह्माण्ड बनेको छ त्यसको बोध गराउंदै प्रत्येक व्यक्ति भित्र विजरुपमा निहित परमात्मा तत्वलाई परिचित गराउनु यसको मूल उद्देश्य हो । सुख र दु:ख, हाँसो र आँशु, पीडा, तनाव, कुण्ठा, छटपटी, अशान्ति, सबै मनका उपजहरु हुन् । मनका नकारात्मक वृत्तिहरुलाई होशको साधनाद्वारा निराकरण गर्नको लागि यहाँ अध्यात्म, व्यवस्थापन, मनोविज्ञान, भौतिक विज्ञान आदिको प्रयोग गरि त्यहि अनुरुपका ध्यानविधिहरु श्रद्धेय सद्गुरुदेवबाट निर्मित हुन्छन् । युग धर्म अनुरुपको ज्ञानले भरिपूर्ण जीवन विज्ञान प्रतिष्ठान अनुपम र अद्वितीय छ । त्यहाँ प्रवाहित हुने उर्जाको प्रवाह वर्णन गरेर साध्य छैन । परमशान्ति, परमआनन्दको अनुभूति तत्काल भैहाल्छ । दिव्यताले भरिएको तपोभूमिको रुपमा जो कोहिले अनुभव गर्न सक्तछ । प्रत्येक व्यक्ति विशिष्ट छ, अद्वितीय छ । यहाँ श्रद्धेय सद्गुरुदेवद्वयद्वारा गरिने व्यवहारले स्पष्ट पार्दछ । जो सुकै व्यक्ति जुनसुकै अवस्थामा पनि सहज रुपमा प्रवेश पाउँछ । व्यक्तिलाई उसको मूल स्वभावमा फर्काउन अवचेतन मनका गहिरा तलहरुमा लगेर त्यहि अनुरुप साधना सिकाइन्छ ताकि उसले आफ्ना आदतहरु, बानी, व्यवहारमा परिवर्तन गर्न सकोस्, आफ्नो पथलाई चिनोस् र सोहि अनुरुप कर्म गरोस् । ज्ञान, कर्म र भक्ति सबै एकै ठाउँमा आउने ध्यान सिकाउँदै व्यक्तिलाई महाखुशीमा उपलब्ध गराउन श्रद्धेय सद्गुरुदेवद्वय अहोरात्र खटिरहनु भएको छ ।

महाखुशी, परम आनन्द, परमशान्ति, परम प्रकाशमा उपलब्ध श्रद्धेय सद्गुरुदेवद्वयका सानिध्यमा रहेर साधना गर्न पाउँदा परमसौभाग्यशालीको अनुभूति हुन्छ । किनकि ति अमृत रुपी ब्रम्हवाक्यहरु तत्कालको मनोवृत्तिलाई समेट्ने किसिमका हुने गर्दछन् । हाम्रो मनमा जे चलिरहेको छ, जुन प्रश्न उब्जिरहेको छ, त्यहि प्रश्नको समाधान सद्गुरुदेव द्वयबाट आउंछ । आश्चर्य चकित हुनु बाहेक अरु विकल्प हामीसँग हुँदैन । प्रेमले भरिएका सुमधुर दिव्य वाणीहरु यति कर्णप्रिय हुन्छन् कठोर हृदयमा पनि तत्काल प्रभाव परिहाल्छन् । प्रत्येक शब्द शब्दमा मानव कति स्वतंत्र छ त्यसको बोध हुन्छ । हामी आफैंले निर्माण गरेका बन्धनहरुको कारण दु:खी छौँ हामी आफैले त्यसको निराकरण गर्नुपर्दछ । यहाँ कसैले मुक्ति दिने वाला छैन यसको यथार्थ बोध सद्गुरुदेवको सत्संगबाट प्राप्त हुन्छ । त्यहि अनुरुपको साधना पद्धतिले व्यक्ति विस्तारै आफ्ना कर्मबन्धनबाट मुक्त हुँदै जान्छ । त्यसैले त भनिन्छ नि कमाउन योग्य सम्पत्ति भनेको सद्गुरुदेवको कृपा प्रसाद हो ।

जीवन विज्ञानको मूल ध्येय मानवलाई मानव बन्न प्रेरित गर्नु हो । धारणा, वाद, मान्यता, सिद्धान्त आदिबाट मुक्त गराएर पूर्ण मानव बनाउनु हो । जीवनलाई सहज र सरल बनाउन यिनीहरुबाट मुक्त बन्नै पर्छ ताकि आफूभित्रको उर्जाले पूर्ण रुपमा निकास पाओस् । त्यसैले जीवन विज्ञानमा धर्मशास्त्र भन्दापनि गहिरो विषय जीवनको  मात्र चर्चा हुन्छ । समय, परिस्थिति, मनस्थिति अनुरुपका ज्ञानहरुको कारण एकचोटी जीवन विज्ञान प्रवेशपछि व्यक्ति निरन्तर जोडिएर साधना गर्दछ । साधना पद्धति प्रवाहमा छ । हाँस्दै, नाच्दै, आनन्दमा रमाउँदै व्यक्ति ध्यानस्थ बन्छ ।            

प्रत्येक व्यक्तिको विगत हुन्छ । त्यहि विगतको आधारमा उसले आफ्नो बानी, व्यवहार, स्वभाव, आदतहरु निर्माण गरेको हुन्छ । उसले निर्माण गरेका आदतहरु कुनै राम्रा हुन्छन् भने कुनै नराम्रा हुन्छन् । नराम्रा आदतहरु सहज रुपमा छुट्न सक्दैनन् । संकल्पशक्ति चाहिन्छ । होस चाहिन्छ । त्यसको निमित्त आफूभित्रको शक्ति जगाउनु पर्दछ । सद्गुरुदेवबाट प्रदान गरिने साधनहरुले त्यसको निमित्त मार्ग प्रशस्त गर्दछन् । जति बढि व्यक्ति आफ्नो स्वभावमा प्रतिष्ठित बन्दछ, त्यतिनै उसका निर्णयहरु उत्कृष्ट बन्दछ, सिर्जनात्मक बन्दछ र पूर्णता उन्मुख हुन्छ ।         

 साधारणतया मानिसले गर्ने व्यायाम ३ प्रकारका हुन्छन् । जसमध्ये उत्कृष्ट व्यायाम आनन्द उन्मुख सात्विक प्रकारका व्यायाम प्राणायामका कलाहरु जीवन विज्ञानमा गरिन्छन् । समग्रतामा आधारित ध्यानविधिले व्यक्तिहरुलाई खुशी बनाउँछन् भने खुशी व्यक्तिनै जीवनमा सफल बन्छन् । संगितबाट प्रारम्भ हुने प्रत्येक दिनको ध्यान साधना भावलाई शुद्ध बनाउँदै लैजाने प्रकारका छन् । यदि भाव आनन्द, प्रेम, खुशीले उन्मुख छन् भने मानिस भित्र मनका व्याधिहरु शरीरका व्याधिहरु विस्तारै हट्दै जान्छन् । उर्जा ध्यान विधिको प्रयोगले मानिस सबै पक्षहरुमा सबल बन्दै आफ्नो जीवन उर्जामा स्थित बन्छ र परम उर्जासँग एकाकार बन्छ । यहि तथ्यलाई आत्मसाथ गर्दै त्यहि अनुरुपका २० भन्दा बढी ध्यान विधिहरु प्रयोगमा आएका छन् । प्रत्येक उमेर समूहलाई सुहाउने सहज सरल ध्यान विधिहरु विविधताका साथमा गर्न पाउँदा साधकहरुपनि प्रशन्न हुनुका साथमा सन्तुष्ट बन्छन् । उनीहरुको जीवनमा सहजता र सरलता आउंछ । विधालयमा पढ्ने विद्यार्थीहरुका लागि सोहि अनुरुपका विधिहरु जीवन विज्ञानबाट प्रतिपादन गरिएका छन् । 

जीवनलाई फूल जस्तै कोमल, सुन्दर बनाउँदै पूर्णतामा पुर्याउन आवश्यक सम्पूर्ण ज्ञान जीवन विज्ञानमा छ मात्र  जागरणको जरुरी छ । सद्गुरुदेवको सत्संग सबैलाई प्राप्त होस् । सहजरुपमा व्यक्तिमा जागरण आओस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिता न्यौपाने
रिता न्यौपाने
लेखकबाट थप