मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेस सभापतिमा पाँच जना भिड्ने, कसले मार्ला बाजी ?

१४ औं महाधिवेशनको तेस्रो दिन के के भयो ?
आइतबार, २६ मङ्सिर २०७८, २० : १६
आइतबार, २६ मङ्सिर २०७८

आज २०७८ मंसिर २६ गते आइतबार । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको राजनीतिक सरगर्मीका बीच आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा काँग्रेस सभापतिमा पाँच जना चुनावी मैदानमा, पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिले गर्न आवश्यक : देउवा, डा. शेखर कोइरालाको दाबी– नेतृत्व परिवर्तन हुन्छ–हुन्छ, मतदाता फकाउन नमस्कारदेखि सेल्फीसम्म, दोस्रो चरणमा निर्वाचन भए देउवालाई नसघाउने निधिको घोषणा, काँग्रेसभित्रका आशलाग्दा नेताहरु महामन्त्रीमा भिड्दै, कसले मार्ला बाजी ? लगायत छन् ।

१. काँग्रेस सभापतिमा पाँच जना चुनावी मैदानमा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । महाधिवेशनको तेस्रो दिन उम्मेदवारहरुको उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सभापतिको रेसमा पाँच जना प्रतिस्पर्धी छन् । नेतृत्व चयनका लागि हुने मतदान व्यवस्थित गर्न ८१४ बुथ निर्माण गरिएको छ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जनाइएको छ ।​


२. पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिले गर्न आवश्यक : देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले देशका सामु विद्यमान चुनौती सामना गर्न पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नुपर्ने बताएका छन् । १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी र सरकारको नेतृत्व अलग अलग व्यक्तिले गर्दा तालमेल नमिलेको अवस्था इतिहासमा देखिसकिएको स्मरण गराए । पत्रकार सम्मेलनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चाँडै नै तीनै तहको निर्वाचन हुने भएकाले पार्टी सभापतिमा देउवालाई जिताएर उच्च मनोबलका साथ निर्वाचनमा जान आवश्यक रहेको बताए ।


३. डा. शेखर कोइरालाको दाबी– नेतृत्व परिवर्तन हुन्छ–हुन्छ

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिएका डा. शेखर कोइरालाले सोमबार हुने निर्वाचनबाट काँग्रेसको नेतृत्व परिवर्तन भएरै छाड्ने दाबी गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको आशीर्वाद रहेको बताए ।


४. मतदाता फकाउन नमस्कारदेखि सेल्फीसम्म

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तेस्रो दिन उम्मेदवारहरु मतदातालाई रिझाउन व्यस्त देखिए । उनीहरुले महाधिवेशन आयोजनास्थलमा महाधिवेशन प्रतिनिधिलाई हात जोडेर नमस्कार गर्नेदेखि लिएर सेल्फी लिएरसमेत खुशी पार्ने प्रयास गरेका थिए ।


५. दोस्रो चरणमा निर्वाचन भए देउवालाई नसघाउने निधिको घोषणा

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले पहिलो चरणको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने सम्भावना रहेको बताएका छन् । उनले दोस्रो चरणको निर्वाचन भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणासमेत गरे ।


६. काँग्रेसभित्रका आशलाग्दा नेताहरु महामन्त्रीमा भिड्दै, कसले मार्ला बाजी ?

नेपाली काँग्रेसमा आशलाग्दा भनेर हेरिएका नेताहरु महामन्त्री पदमा उम्मेदवार बनेका छन् । दुई जना निर्वाचित हुने सो पदका लागि ६ नेता चुनावी मैदानमा छन् । जसले जिते पनि बाँकी चार जना पराजित हुनुपर्नेछ । महामन्त्री पदमा उम्मेदवारी दिएका डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल पार्टीमा भिजेका युवा नेता मानिन्छन् । महाधिवेशन प्रतिनिधिलाई पार्टीको महामन्त्री रोज्न भने निकै संकट पर्ने देखिएको छ ।


७. केन्द्रीय सदस्यमा दुई जना निर्विरोध

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा दुई जना निर्विरोध भएका छन् । प्रदेश २ को कोटाबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन् ।


८. थारु नेता सहमहामन्त्री कोटामै सीमित

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीदेखि तलका पदमा विभिन्न क्लस्टर छुट्याएर नयाँ कार्यसमिति निर्वाचित गरिँदैछ । त्यसमा संस्थापन पक्षको प्यानलबाट विजयकुमार गच्छदारले उपसभापति पदमा उम्मेदवारी दिएका छन् भने पार्टीभित्रका अन्य थारु नेताहरु भने सहमहामन्त्री र केन्द्रीय सदस्यको कोटामै सीमित भएका छन् ।


९. प्रकाशमान सिंह र आरजु देउवाले मागे एक अर्कासँग भोट

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिएका प्रकाशमान सिंह र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी डा. आरजु देउवाले आइतबार एक अर्कासँग भोट मागेका छन् । भोट माग्ने क्रममा जम्काभेट भएपछि दुवैले एक अर्कालाई अभिवादन गर्दै आफ्नो लागि भोट मागेका हुन् ।


१०. उम्मेदवारी फिर्ता लिनेलाई धरौटीको चिन्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका केही उम्मेदवारले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका केही नेताहरुलाई भने आफूले उम्मेदवारी दर्ता गराउने क्रममा बुझाएको धरौटी रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको देखियो ।

 

११. र यो पनि,

नेपाली काँग्रेसको जारी महाधिवेशनमा कयौं उम्मेदवारका तर्फबाट आचारसंहिता उल्लंघन गरी मत मागेको देखिएको छ । निर्वाचन समितिले निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिता जारी गरे पनि कतिपयले प्रचारप्रसारका क्रममा त्यसको पालना नगरेको पाइएको हो ।


नेपाली काँग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले आफ्नो उम्मेदवारी पैसा र बल प्रयोगको प्रहार रोक्न केन्द्रित रहेको जनाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप