ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
सारांश
- ब्राजिल र नर्वेबीचको विश्वकप अन्तिम १६ को खेलमा भिनिसियस जुनियर र एर्लिङ हालान्ड आमनेसामने हुनेछन् ।
- विश्वकपमा ब्राजिलले नर्वेविरुद्ध अहिलेसम्म जित निकाल्न सकेको छैन, चार भेटमा नर्वे अपराजित छ ।
- ब्राजिलका प्रशिक्षक एन्चेलोट्टीका लागि युरोपेली टोलीविरुद्धको खराब विश्वकप नकआउट शृङ्खला अन्त्य गर्ने अवसर हुनेछ ।
काठमाडाैँ । विश्व फुटबलका दुई सर्वाधिक रोमाञ्चक आक्रमणकारी खेलाडी भिनिसियस जुनियर र एर्लिङ ब्राउट हालान्ड आइतबार न्यु जर्सीमा आमनेसामने हुँदैछन् । विश्वकपको अन्तिम १६ अन्तर्गत हुने यो खेल प्रतियोगिताकै सबैभन्दा आकर्षक भिडन्तमध्ये एक मानिएको छ।
विश्व फुटबलमा पाँच पटकको च्याम्पियन ब्राजिलले अनेकौँ टोलीविरुद्ध प्रभावशाली इतिहास बनाएको भए पनि नर्वेजियन ‘भाइकिङ’विरुद्ध भने उसले अहिलेसम्म विश्वकपमा एक पटक पनि जित दर्ता गर्न सकेको छैन । चार भेटमध्ये कुनै पनि खेल जित्न नसकेको ब्राजिल अब पाँचौँ प्रयासमा त्यो खराब इतिहास अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
प्रशिक्षक कार्लो एन्चेलोट्टीको नेतृत्वमा रहेको प्रतिभाशाली ब्राजिलियन टोलीमा गुणस्तरीय खेलाडीहरूको कमी छैन । तर टोलीमा केही कमजोरीहरू पनि देखिएका छन् । अन्तिम ३२ को खेलमा जापानविरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै ब्राजिलले मुस्किलले प्रि–क्वाटरफाइनलको यात्रा गरेको हो । त्यसैले नर्वेविरुद्ध जित निकाल्न ब्राजिलले आफ्नो प्रदर्शनमा उल्लेखनीय सुधार गर्नुपर्ने देखिन्छ ।
उता, एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे आत्मविश्वासका साथ मैदान उत्रिनेछ । ब्राजिलविरुद्ध उत्कृष्ट इतिहास रहेको नर्वे विश्वकपमा ब्राजिलले कहिल्यै पराजित गर्न नसकेका केवल तीन राष्ट्रमध्ये एक हो । यही कारण स्क्यान्डिनेभियाली टोलीलाई यस प्रतियोगिताको ‘डार्क हर्स’ मानिएको छ ।
दुवै टोली कसरी अन्तिम १६ मा पुगे ?
ब्राजिलले समूह ‘सी’मा शीर्ष स्थान हासिल गर्यो । उसले स्कटल्यान्ड र हाइटीलाई पराजित गर्यो भने मोरक्कोसँग बराबरी खेल्यो । त्यसपछि अन्तिम ३२ मा जापानविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै इन्जुरी समयमा २–१ को जित निकालेर अन्तिम १६ मा स्थान बनायो ।
नर्वेले समूह ‘आई’मा दोस्रो स्थान हासिल गर्यो । उसले इराक र सेनेगललाई हरायो भने फ्रान्ससँग पराजित भयो । अन्तिम ३२ मा आइभरी कोस्टलाई अन्तिम समयमा २–१ ले हराउँदै नर्वे विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्न सफल भयो । यसअघि नर्वे सन् १९३८ र १९९८ का विश्वकपमा नकआउट चरणमै इटालीसँग पराजित भएर बाहिरिएको थियो ।
के हालान्डले नर्वेको ऐतिहासिक यात्रा अझ लम्ब्याउन सक्लान् ?
क्लब फुटबल होस् वा राष्ट्रिय टोली, एर्लिङ ब्राउट हालान्डको प्रभावलाई कम आँक्न सकिँदैन । विश्वकपमा नर्वेले हालसम्म गरेका १० गोलमध्ये पाँच गोल हालान्डकै नाममा छन् । केवल २५ वर्षको उमेरमा पहिलो पटक विश्वकप खेलिरहेका उनका लागि यो उपलब्धि निकै प्रभावशाली मानिएको छ ।
आइतबार ब्राजिलविरुद्धको खेलमा पनि नर्वेले क्वार्टरफाइनल पुग्ने सपना साकार पार्न आफ्ना १.९५ मिटर अग्ला स्टार स्ट्राइकर हालान्डबाट फेरि उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ ।
नर्वेले सन् १९९८ को विश्वकपबाट पनि प्रेरणा लिन सक्छ । त्यसबेला समूह चरणमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्व फुटबललाई चकित पारेको थियो । अझ रोचक कुरा के छ भने, त्यतिबेलाको नर्वेजियन टोलीका मिडफिल्डर रहेका स्टाले सोलबाकेन अहिले नर्वेका मुख्य प्रशिक्षक छन् ।
सोलबाकेनले खेलअघि भने, ‘ब्राजिल नै स्पष्ट रूपमा फेभरिट हो, यसमा कुनै शंका छैन । तर हामी उनीहरूलाई कडा चुनौती दिनेमा विश्वस्त छौँ । हामी रमाइलोका लागि खेलिरहेका छैनौं, जित्न र क्वार्टरफाइनल पुग्न खेलिरहेका छौँ । यो सम्भव छ, तर निकै कठिन हुनेछ ।’
भिनिसियस पनि नर्वेका लागि ठुलो चुनौती
नर्वेले हालान्डमाथि भरोसा गरेजस्तै ब्राजिलसँग पनि आफ्ना निर्णायक खेलाडी भिनिसियस जुनियर छन् । यस विश्वकपमा चार गोल गरेका भिनिसियस ब्राजिलका सर्वाधिक गोलकर्ता मात्र होइन, टोलीका सबैभन्दा प्रभावशाली खेलाडी पनि बनेका छन् ।
भिनिसियसले यस विश्वकपको समूह चरणका तीन वटै खेलमा गोल गर्दै सन् २००२ पछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो ब्राजिलियन खेलाडी बने । यसअघि रोनाल्डो र रिभाल्डोले २००२ को विश्वकपमा यो कीर्तिमान बनाएका थिए ।
त्यो विश्वकप नै ब्राजिलले अहिलेसम्म अन्तिम पटक विश्वकप उपाधि जितेको प्रतियोगिता थियो । त्यसैले ब्राजिलका समर्थकहरू भिनिसियसको प्रदर्शनलाई शुभ सङ्केतका रूपमा पनि हेरिरहेका छन् ।

ब्राजिल विरुद्ध नर्वे: कसको सम्भावना कति ?
फुटबल तथ्याङ्क विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरका अनुसार निर्धारित ९० मिनेटभित्र ब्राजिलको जित्ने सम्भावना ५३.६ प्रतिशत रहेको छ । त्यसैगरी नर्वेको जित्ने सम्भावना २२.४ प्रतिशत आँकलन गरिएको छ । सुपरकम्प्युटरले खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २४ प्रतिशत रहेको पनि अनुमान गरेको छ ।
क्वार्टरफाइनलमा कससँग हुनेछ भेट ?
ब्राजिल र नर्वेबिचको खेलको विजेताले जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा मेक्सिको वा इंग्ल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिल विरुद्ध नर्वे: आमनेसामनेको इतिहास
नर्वेसँग ब्राजिलविरुद्ध निकै प्रभावशाली कीर्तिमान छ । यी दुई टोलीबिच अहिलेसम्म भएका चार भेटमा नर्वे अपराजित छ । नर्वेले दुई खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । यीमध्ये सबैभन्दा चर्चित नतिजा सन् १९९८ को विश्वकपमा आएको थियो, जहाँ नर्वेले समूह चरणमा ब्राजिललाई २–१ ले स्तब्ध बनाएको थियो ।
दुवै टोलीबिचको पछिल्लो भेट सन् २००६ मा भएको मैत्रीपूर्ण खेल थियो, जुन १–१ को बराबरीमा सकिएको थियो । ब्राजिलका प्रशिक्षक कार्लो एन्चेलोट्टीका लागि अर्को चिन्ताको विषय पनि छ । सन् २००२ को विश्वकप फाइनलमा जर्मनीलाई हराएर उपाधि जितेपछि ब्राजिल युरोपेली टोलीविरुद्ध खेलेका पछिल्ला सबै ६ विश्वकप नकआउट खेलमा पराजित हुँदै आएको छ । त्यसैले नर्वेविरुद्धको खेल ब्राजिलका लागि त्यो खराब शृङ्खला अन्त्य गर्ने अवसर पनि हुनेछ ।
ब्राजिल टोलीको अवस्था
ब्राजिलका मिडफिल्डर लुकास पाकेटा जापानविरुद्धको खेलमा ह्यामस्ट्रिङ चोट बोकेका कारण नर्वेविरुद्ध खेल्ने सम्भावना कम छ ।
त्यस्तै, दोस्रो समूह खेलमा ह्यामस्ट्रिङ समस्यामा परेका राफिन्हाले व्यक्तिगत प्रशिक्षण पुनः सुरु गरेका छन् । उनी पूर्ण रूपमा फिट नभए पनि विकल्प खेलाडीका रूपमा टोलीमा समावेश हुन सक्ने सम्भावना रहेको छ ।
नर्वे टोलीको अवस्था
नर्वेका डिफेन्डर जुलियन राइर्सन भने तिघ्राको चोटका कारण यस खेलबाट बाहिरिएका छन् ।
सम्भावित सुरुवाती टोली
ब्राजिल (४–३–३) : एलिसन (गोलरक्षक); डानिलो, मार्किन्होस, गाब्रियल, सान्तोस; गिमारेस, कासेमिरो, मार्टिनेली; रायान, कुन्हा, भिनिसियस जुनियर ।
नर्वे (४–३–३):निलान्ड (गोलरक्षक); पेडर्सेन, आजेर, हेगेम, मोलर वोल्फ; ओडेगार्ड, बेर्गे, बेर्ग; सोर्लोथ, एर्लिङ हालान्ड, नुसा ।
ब्राजिल विरुद्ध नर्वे
प्रतियोगिताः फिफा विश्वकप २०२६ – अन्तिम १६
स्थानः न्यूयोर्क–न्यु जर्सी स्टेडियम, इस्ट रदरफोर्ड, न्यु जर्सी, अमेरिका
मितिः सोमबार राती १ः४५ बजे (नेपाली समय)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण