कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
सारांश
- नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि विभिन्न नेताबीच भेटघाट भइरहे पनि अहिलेसम्म सार्थक निष्कर्ष निस्कन सकेको छैन ।
- विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि पार्टीका धेरै सिनियर नेता पार्टी सत्ता बाहिर छन् ।
- क्रियाशील सदस्यता अध्यावधिक गर्ने कि नगर्ने र दुई कार्यसमितिलाई एक बनाएर १५औँ महाधिवेशन गर्ने विषयमा विवादको मुख्य कारण छ ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि भन्दै बग्रेल्ती भेटघाट भइरहेका छन् । ती भेटघाटका उपलब्धि भने देखिएका छैनन् ।
गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति र शीर्ष तहका नेताहरूको सहमतिबिना गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा सुरु भएको विवाद निर्वाचन अयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । दुवै सरकारी निकायले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि पार्टीका धेरै सिनियर नेता पार्टीसत्ता बाहिर छन् ।
उनीहरूलाई समेटेर पार्टी एक बनाउन पटक–पटक विभिन्न नेताहरूबिच भइरहेका वार्ताले अहिलेसम्म सार्थक निष्कर्ष निकाल्न सकेका छैनन् । यद्यपि भेटघाट भने हुन छोडेका छैनन् ।

सर्वोच्च अदालतले गत वैशाख ४ गते थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने निर्णय गरेको २ दिनपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गर्दै पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका थिए । त्यस यता थापा पक्ष र विशेष महाधिवेशन अघिको संस्थापन पक्षका नेताबिच विभिन्न चरणमा भेटघाट भए पनि उपलब्धि निस्कन सकेको छैन ।
ती भेटघाट संस्थापन र संस्थापन इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह)बिच भइरहेका छन् । विवादको चुरो कुरा मिलाउन भने कुनै पनि भेटघाट सफल हुन सकेका छैनन् ।
पार्टीलाई एकताबद्ध बनाउन भन्दै शनिबार बिहान नेता डा. शेखर कोइराला र पूर्वउपसभापति विमलेन्द्र निधिबिच भेटवार्ता भएको थियो । कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबिच झन्डै एक घण्टा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

त्यसअघि शुक्रबार (असार १९ गते) निवर्तमान कार्यवाहक सभापति खड्का निवास गोल्फुटारमा देउवा समूहका प्रभावशाली नेताहरूको बैठक बसेको थियो । विशेष महाधिवेशनपछि पार्टी सत्ताबाट बाहिरिएको समूहले काठमाडौँको चुनदेवीमा खोलेको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय त्यो बैठकले गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए । सम्पर्क कार्यालय उद्घाटनका दिन समूहमा रहेका निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारीहरूको बैठक बोलाउने र राष्ट्रिय भेला कहिले गर्ने भन्ने मिति तय गर्ने उनको भनाइ छ ।
असार १८ गते बिहीबार मध्य बानेश्वरस्थित पूर्वउपसभापति निधिको निवासमा पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र प्रकाशमान सिंह र निधिबिच पार्टीको आन्तरिक विवाद कसरी मिलाउने भन्ने विषयमा कुराकानी भएको थियो ।
इतर समूहका नेताहरूबिच मात्रै होइन, संस्थापन र इतर समूहका नेताहरूबिच पनि भेटघाट भइरहेको छ ।
असार १६ गते महामन्त्री गुरुराज घिमिरेले निवर्तमान कार्यवाहक सभापति खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनीहरूकै निवासमा पुगेर पार्टीका आन्तरिक विवाद समाधानबारे कुराकानी गरेका थिए । महामन्त्री घिमिरेले असार १२ गते विराटनगरस्थित कोइराला निवासमा पुगेर डा.शेखर कोइरालालाई पनि भेटेका थिए ।

महामन्त्री घिमिरेले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि आफूले नेताहरू खड्का, डा. कोइराला र सिटौलालाई भेटेको र कुराकानी सकारात्मक रहेका बताएका थिए । घिमिरेले तीन नेतासँगको भेटपछि रातोपाटीसँग भनेका थिए, ‘पार्टीको आन्तरिक विवाद मिलाउन सभापति र उपसभापतिज्यूसँगको समझदारीमा भेटेको हुँ । भेटघाट सकारात्मक छन् ।’
त्यतिमात्रै होइन, कांग्रेसमा अन्य भेटघाट पनि बाक्लै भएका छन् । डा. शेखर कोइरालाले असार १७ गते शशांक कोइरालालाई उनकै निवास महाराजगञ्जमा, १८ गते डा. प्रकाशशरण महत र एनपी साउदलाई आफ्नै निवास धापासीमा भेटेर कुराकानी गरेका थिए ।
असार १८ गते नै डा. शेखरले उपसभापति विश्वप्रकाश शर्मासँग पनि आफ्नै निवास धापासीमै भेटेका थिए । भेटमा कोइरालाले उपसभापति शर्मालाई ‘पार्टी मिलाउने हो भने असार २५ गतेसम्म मिलाउँ/होइन भने कुराकानी गर्न नआउँ’ भनेर नै चेतावनी दिएको स्रोतले बतायो । त्यसपछि उपसभापति शर्मा सभापति थापासँग सल्लाह गरेर थप छलफल गर्न आउने भन्दै उठेका थिए ।
१७ गते नै डा. शेखरले पूर्णबहादुर खड्का र सिटौलासँग उनीहरूकै निवासमा पुगेर भेटघाट गरेका थिए ।
सभापति थापाले आफैँ आन्तरिक विवाद समाधानका लागि भन्दै नेता डा. शेखर र खड्कालाई उनीहरूकै निवासमा पुगेर भेटेका छन् । थापाले खड्कालाई वैशाख ६ र २३ गते उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए । शेखरलाई वैशाख २२ गते कोइरालाकै सम्पर्क कार्यालय विशालनगरमा पुगेर भेटेका थिए ।
शेखरलाई महामन्त्री प्रदीप पौडेलले चैत २२ गते विशालनगरमै भेटेका थिए ।
नेता खड्कालाई उपसभापति शर्माले वैशाख २३ गते सभापति थापासँगै र जेठ २२ गते एक्लै भेटेका खड्काको सचिवालयले जानकारी दिएको छ ।

कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक गर्ने कि नगर्ने र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई एक बनाएर १५औँ महाधिवेशन गर्ने म्याण्डेट दिने कि नदिने भन्नेमा चर्को विवाद छ ।
इतर समूह (देउवा र शेखर)ले १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेका क्रियाशील सदस्यलाई ‘डिजिटल्ली अध्यावधिक’ गराउन अनिवार्य गर्न नहुने र १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई पनि केन्द्रीय समितिमा गाभेर १५औँ महाधिवेशन गर्नुपर्ने शर्त राखिरहेको छ, तर संस्थापनले भने दुवै मागलाई स्वीकार गरिसकेको छैन । यसले विवाद मिल्न सकेको छैन । फरक–फरक नेताबिच भेटघाट यिनै विषय सुल्झाउनका लागि भइरहेका हुन्, तर सहमतिको सूत्र भेटिएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण