आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम

आइतबार, २१ असार २०८३, १५ : २४
आइतबार, २१ असार २०८३

बेइजिङ । दशकौंदेखि विकसित देशहरूले उखर्माउलो गर्मीबाट बच्न एसी प्रयोग गरिरहेका छन् ।

तर अहिले आएर चीनले यहाँका अपार्टमेन्टलाई शितल बनाउन र तापमान घटाउन नयाँ तरिका अपनाइरहेको छ । रमाइलो कुरा के छ भने यो तरिकाले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ । यो तरिकाको नाम ‘रुफटप रेन’ हो । यस प्रणालीले अग्ला आवासीय भवनको छतबाट पानीको अत्यन्तै सूक्ष्म थोपा छर्केर वरपरको तापक्रम घटाउने काम गर्छ ।

यो प्रणाली उत्तरी चीनको युनछेङमा परीक्षणका रूपमा जडान गरिएको बताइएको छ । त्यहाँका केही अग्ला अपार्टमेन्ट भवनको छतमा उच्च चापयुक्त मिस्टिङ (मसिना पानी छर्कने) प्रणाली राखिएको छ, जसले हावामा सूक्ष्म पानीका कण फैलाउँछ । यसले भवन वरपरको तापक्रम अधिकतम ८ डिग्री सेल्सियससम्म घटाउन सक्ने दाबी गरिएको छ ।

यो प्रविधि वाष्पीकरणीय शीतलन सिद्धान्तमा आधारित छ । छतमा जडान गरिएका विशेष नोजलबाट अत्यन्त साना पानीका थोपा हावामा फैलिन्छन् । ती थोपा तातो हावासँग सम्पर्कमा आएपछि बाफ बन्छन र बाफ बन्ने क्रममा वरपरको ताप ऊर्जा सोस्छन् । यही प्रक्रियाले वातावरणलाई चिसो बनाउँछ । यो सिद्धान्त मानिसको पसिना सुक्दा शरीर चिसो हुने प्रक्रियासँग मिल्दोजुल्दो छ ।

यो प्रणाली विशेषगरी अत्यधिक गर्मी भएका दिनका लागि बनाइएको हो । पानीका थोपा हावामै बाफ बन्ने गरी छर्किने भएकाले तल हिँडिरहेका मानिसमाथि वर्षाजस्तै पानी खस्ने उद्देश्य भने होइन । त्यसैले केहीले यसलाई ‘रुफटप मिस्ट’ नाम बढी उपयुक्त हुने टिप्पणी गरेका छन् ।

यो प्रविधिको भिडियो हाल रेडिट र इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ । विशेषगरी युरोप र उत्तर अमेरिकामा बढ्दो गर्मीबिच यस्तो प्रणाली किन व्यापक रूपमा प्रयोगमा ल्याइँदैन भन्ने प्रश्न धेरैले उठाएका छन् ।

यद्यपि, विज्ञहरूका अनुसार यसको प्रभावकारिताबारे अझै धेरै प्रश्न अनुत्तरित छन् । ठुलो क्षेत्र चिसो बनाउन कति पानी आवश्यक पर्छ, नोजलमा खनिज पदार्थ जमेर अवरोध हुन्छ कि हुँदैन र यसले भवनभित्रको तापक्रम कति घटाउँछ भन्नेबारे पर्याप्त वैज्ञानिक तथ्य सार्वजनिक भएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप