ad
x

कश्यपको कथा : दुर्मुख राजाको दुर्व्यवहार

person explore access_timeपुस १, २०७८ chat_bubble_outline0

कथा धेरै पहिलेको हो । कुनैबेला निर्ममपुरमा कुनै निर्दयी राजा थिए । दुर्मुख नामका यी राजाको स्वभाव पनि दुर्मुख नै थियो । रिसाहा र घमन्डी त्यस्तै । जाली र फटाहा त्यस्तै । उनी हरेक दिन केही अनुयायीका साथ शीघ्रगामी घोडामा गाउँ घुम्थे र विना कसुर लाञ्छना लगाई सिधासादा जनतालाई फाँसीमा चढाउने आदेश दिन्थे । उनका गुप्तचरहरू पनि त्यस्तै थिए । तिललाई पहाड बनाई भए नभएका कुरा बनाएर राजाको कान भर्ने गर्थे । अनि उनी सत्यतथ्य बुझ्दै नबुझी त्यसैका आधारमा निर्दोष नागरिकका ज्यान लिइरहेका हुन्थे ।


देशमा राजाको अत्याचार बढ्दै गयो । राजाको विरुद्धमा बोल्ने आँट कसैले गर्न सकेनन् । जोजसले आँट देखाउँथे, उनीहरूले समेत ज्यानबाट हात धुनुपर्थ्यो । उनका व्यवहारबाट सबै हत्तुहैरान थिए । उनकै भारदारहरूसमेत सन्तुष्ट थिएनन् । तर बोल्ने कसले, सुन्ने कसले ? राजाको अगाडि बाबाको दुहाई ।  



समय बित्दै गयो, राजाको अत्याचार पनि बढ्दै गयो । उनलाई रोक्न नसके चाँडै नै पूरा राज्य नागरिकविहीन हुने अवस्थामा पुग्यो । त्यसैले एकदिन राजा केही भारदार गुनासो लिएर अर्कै राज्यका भलाद्मी चतुरभुज शर्मा (चतुरे) कहाँ पुगे ।



एकाबिहानै छिमेकी राज्यका भारदारलाई देखेर चतुरेले आश्चर्य मान्दै सोधे–



‘भन्नुहोस् महोदय ! कति कामले आउनुभयो ? यो बाहुनीको छोरो जिउज्यानले सेवामा हाजिर छ ।’



‘हो शर्माजी ! त्यस्तै काम परेर आएका हौँ ।’ अकमकाउँदै भारदारले भने–



‘तर कुरो गोप्य छ, जिउधनको सवाल छ ।’

‘चिन्तै गर्नुपर्दैन, ढुक्कसाथ भन्न सक्नु हुन्छ ।’

‘हाम्रा देशका नागरिकहरू कति पीडित छन् भन्ने तपाईंलाई पनि थाहा हुनुपर्छ भन्ने ठान्छौँ ।’

‘हो, केही थाहा छ ।’

‘किन पीडित छन् भन्ने पनि थाहा पाउनुभएकै होला ।’

‘त्यो पनि घुइरो–घुइरो सुनेको छु ।’

‘त्यसैलाई रोक्ने उपायको खोजीमा आएका हौँ, सायद तपाईंबाट पार लाग्छ कि ?’

उनीहरूका कुरा सुनेपछि चतुरेले लामो सास फेर्दै भने–

‘काम निकै कठिन छ । त्यस्तै परे ज्यानै जान पनि सक्छ । तैपनि केही छैन, सकेको सहयोग गर्नेेछु । अरूको सहयोगमा नआउने जीवन पनि के जीवन ? यसैका लागि त प्रकृतिले जन्म दिएको हो । आखिर धर्म भनेको पनि यस्तै परोपकारी काम नै हुन् । त्यसैले अहिलेलाई तपाईंहरू जान सक्नुहुन्छ, चाँडै नै उपाय खोज्नेछु ।’

चतुरेबाट आश्वासन पाएपछि भारदारहरू आशाको पोको बोकेर घरतिर लागे, चतुरे उपायको खोजीमा । उनलाई त्यस रात निद्रै परेन । भोलिपल्ट उज्यालो हुनासाथ भारी मनले राजदरवारतिर लागे ।

छिमेकी देशका चतुर बाहुन चतुरेलाई देख्ने बित्तिकै राजाले भने–

‘भन्नुस् शर्माजी ! कति कामले आउनुभो ?’

‘केही कुरा थियो, गरौँ कि भनेर आएको महाराज !’

‘कुरा छ ?’

‘हो महाराज ! कुरा छ ।’

‘के कुरा हो भन्न सक्नुहुन्छ ।’

‘तर...।’

‘तर...? के तर ?’

‘यही कि पहिले जिउधनको बक्सिस चाहन्छु महाराज !’

‘ठीक छ, त्यो पनि पाउनुहुनेछ ।’

 त्यसपछि चुतुरेले भूमिका बाँध्दै भने–

‘सरकारको सवारी यदाकदा शिकारमा पनि हुने गरेको छ, होइन ?’

‘हो, जाने गरेको छु । राजाको छोरो, देशको राजा, नजाने कुरै भएन ।’

‘शिकारमा जाँदा के के गर्नुहुन्छ ?’

‘यो पनि प्रश्न हो ? शिकारमा जानेले के गर्छ ? शिकार खेल्छ नि ?’

‘क–कसको शिकार गर्ने गर्नुभएको छ ?’

‘वन्य जीवजन्तु, जे भेटिन्छ त्यसैको, अरू कसको ?’

‘निर्दोष प्राणीको ज्यान लिनु पाप होइन र सरकार !’

‘यो त अधिकारको कुरा हो । पाप र धर्म भन्ने कुरा कहाँबाट आयो ? अधिकार प्रयोग गर्दा पापै लागेछ भने पनि मेरो के दोष ?’

‘एऽऽ यो त बुझियो ।’

‘के चाहिँ बुझ्नुभएन त ?’

‘शिकार खेल्दाखेल्दै तिर्खा लाग्यो भने ?’

‘पानी खान्छु ?’

‘पाइएन भने नि ?’

‘खोला, नदीनाला वा जलाशय खोज्छु ।’

‘ती पनि भेटिएनन् भने ?’

‘गाउँमा गएर पानी माग्छु ।’

‘माग्दा पनि दिएनन् भने ?’

‘मूल्य तिर्छु ।’

‘कति तिर्नुहुन्छ ?’

‘जति भन्छन्, त्यति नै ।’

‘राज्य नै मागे भने पनि दिनुहुन्छ ?’

‘दिन्छु, किन नदिने ? ज्यानभन्दा राज्य ठूलो हो र ?’

‘भनेपछि सरकारका नजरमा ज्यानभन्दा ठूलो अर्को छैन, हुँदैन भन्ने हो ?’

‘हो, त्यही बुझ्नुस् ।’

‘‘कुरा त ठीकै हो तर...।’

‘फेरि उही तर, के हो त्यो भनेको ?’

‘यही कि यस्तो कुरा सरकारका हकमा मात्र लागू हुन्छ कि अरूका हकमा पनि ?’

‘सबैमा लागू हुन्छ । ज्यान रहे कसले धनसम्पत्ति कमाउन सक्दैन र ? राजाका छोरा भए राज्य कमाउँछ, दुनियाँका छोरा भए सम्पत्ति कमाउँछ ।’

‘यस्तो कुरा सरकारले मनैदेखि भन्नुभएको भन्ने बुझौँ ।’

‘अवश्य, यस्ता कुरामा ख्यालठट्टा गर्न जानेको छैन ।’

‘त्यसो भए व्यहारमा किन लागू हुँदैन त महाराज !’

‘अर्थात् ?’

‘अर्थात् यही कि सरकार यति ज्ञानी हुनुहुन्छ, त्यति बढी ज्ञानगुनका कुरा गर्नुहुन्छ । अनि त्यस्तो ज्ञान प्रजाजनमा भने किन लागू हुन सकिरहेको छैन ? किन बेकारमा तिनका ज्यान लिने गर्नुहुन्छ ? यस्ता कामले बदनामीबाहेक केही हात लाग्दैन । यसै पनि ज्यान लिनुभन्दा बचाउनु ठूलो कुरा हो । नागरिकहरू खुसी हुनेछन्, सरकारको जयजयकार गर्नेछन् । यश, कीर्ति पाउनुहुनेछ । धर्म र अर्थको समेत जोगाड हुनेछ ।

‘हो, तपाईँले ठीक भन्नुभयो । पद, प्रतिष्ठा र शक्तिको उन्मादले अहिलेसम्म गर्नै नहुने काम गरेको रहेछु । धन्य आज तपाईंले आँखा खोलिदिनु भयो । आइन्दा यस्ता कार्य कहिल्यै गर्नेछैन । तपाईंको जय होस् ।’

यति भनेर राजाले केही पारिश्रमिकसहित चतुरेलाई विदा गरे । त्यसपछि विपत्तिको दलदलबाट उतारेवापत देशका नागरिकहरूका तर्फबाट समेत फूलमाला र प्रशंसाको भारी बोकेर आफ्नो देश फर्के । त्यस दिनदेखि राजाले न क्रुर व्यवहार देखाए, न बदनामीको शिकार हुनुपर्यो । भनाइ नै छ नि, ‘आफू भला त जगत भला ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।