शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशमा यस्ता छन् उम्मेदवार

शुक्रबार, २३ पुस २०७८, १५ : २३
शुक्रबार, २३ पुस २०७८

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको तीन सीटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको होे ।

सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेकपा माओवादी केन्द्रले दुई र नेपाली काँग्रेसले एक सीटमा उम्मेदवार खडा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट सुरेश आलेमगर र भुवन सुनार तथा नेपाली काँग्रेसका तर्फबाट कमला पन्त उम्मेदवार छन् ।

त्यसैगरी नेकपा एमालेले पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सोनामलाई उम्मेदवार बनाएको छ । तुलनात्मक रुपमा प्रदेशमा सत्तारुढ गठबन्धन नै बलियो देखिएको छ ।

यस्ता छन् उम्मेदवार–

१. सुरेश आलेमगर

सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका सुरेश आले मगरले २०३६ सालदेखि नै राजनीति सुरु गरेका थिए । उनी लामो समय माओवादीको भूमिगत राजनीतिमा आबद्ध रहे । तनहुँ जिल्लाका उनले केन्द्रीय राजनीतिमा काँग्रेसका प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, गोविन्दराज जोशी, रामचन्द्र पोखरेल, शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका प्रतिस्पर्धीका रुपमा आफूलाई स्थापित गरेका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनले तनहँुका  हेभीवेट काँग्रेस नेता गोविन्दराज जोशीलाई करिब सात हजार मतान्तरले पराजित गरेका थिए । उनी पहिलो संविधानसभाको अवसानसँगै गुमनाम भए । यसबीचमा माओवादी पार्टी विभाजन भएकाले उनी रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्य नेतृत्वको पार्टीमा लागे । केही वर्षमा फेरि वैद्यको साथ छाडेर बादल कै नेतृत्वमा उनी माओवादीमा फर्किए ।

माओवादी र एमाले एकीकरण भएर बनेको नेकपा विघटन भएपछि बादलले एमाले रोज्दा आले भने माओवादीमै बसे । अहिले उनलाई माओवादी केन्द्रले गठबन्धनका तर्फबाट उम्मेदवार बनाएको हो ।

२. भुवन सुनार

माओवादी केन्द्रकै अर्का उम्मेदवार हुन् भुवन सुनार । उनी दलित अधिकारको आन्दोलनमार्फत माओवादी सशत्र संघर्षका बेला पार्टीमा लागेका थिए । गोरखा पालुङटारका सुनार माओवादी पार्टीमा लागेर भूमिगत संघर्षकै चरणमा २०५५ सालमा पक्राउ परेका थिए । चार दशकदेखि निरन्तर दलित आन्दोलनमा लागेका सुनार त्यसबेला दलित मुक्ति मोर्चा गोरखाको अध्यक्ष थिए ।

सुनारलाई दुई वर्ष जेल जीवनका क्रममा गोरखादेखि भैरहवा सम्म पुर्‍याइएको थियो । २०५७ मा जेलमुक्त भएपछि उनी फेरि आन्दोलनमै लागेका थिए । उनले माओवादीभित्र पनि डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका थिए । संविधान जारी भइसकेपछि भट्टराईले माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि सुनार पनि सोही पार्टीमा लागेका थिए । पछिल्लो चरणमा बाबुरामले नयाँशक्ति पार्टीलाई जनता समाजवादी पार्टीमा समाहित गरेपछि कम्युनिस्ट आदर्शनै समाप्त भएको भन्दै उनी माओवादीमै फर्किएका हुन् ।

काठमाडौंमा रहेको नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको पूर्वस्ववियू सभापतिसमेत रहेका उनी हाल माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य समेत हुन् ।

३. कमला पन्त

प्रजातन्त्र स्थापनाका लागि विद्यार्थी राजनीतिमा लागेर पटकपटक जेल जीवन बिताएकी नेतृ हुन् कमला पन्त । पन्तले विद्यार्थी राजनीतिकालमै प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसले थालेको आन्दोलनमा सक्रिय सहभागी हुँदै पटकपटक जेलजीवन बिताइसकेकी छन् ।

विद्यार्थी राजनीतिका क्रममा उनले विद्यालय, जिल्ला र केन्द्रसम्म नेतृत्वको जिम्मेवारी निर्वाह गरेकी छन् । गोरखाको गण्डकी गाउँपालिका–२, च्याङ्लीकी पन्त पटकपटक सांसद भएर काम गरिसकेकी छन् । २ पटकसम्म काँग्रेसको केन्द्रीय सदस्य बनेकी उनी पार्टीको १४ औं महाधिवेशनमा महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी (डीना) उपाध्यायसँग पराजित भएकी हुन् ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि उनलाई काँग्रेसले गण्डकी प्रदेशबाट महिला कोटामा राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको छ ।

४. पुण्य पौडेल

नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका पुण्य पौडेल एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन् । उनले पार्टीको भ्रातृ संगठन किसान संगठन कास्कीको लेखा समितिको संयोजक भएर पनि काम गरिसकेका छन । २०२७ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिष्ट राजनीति (पुष्पलाल समूह) मा आबद्ध भएका पौडेलले आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए । उनले २०३१ देखि ०३४ सालसम्म पहिलोपटक जेलजीवन बिताएका थिए भने २०४६ सालको आन्दोलनका क्रममा पनि पुनः जेल परेका थिए ।

उनी २०४४ सालमा कास्की जिल्ला विकास समितिको सभापतिमा जनपक्षीय उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी दिए पनि उनी जनपक्षीय उम्मेदवार भएकाले पञ्चायती दबदबाका कारण निर्वाचनमा पराजित भएका थिए । २०४९ सालमा जिल्ला विकास समिति कास्कीको उपसभापति पदमा उम्मेदवारी दिएका पौडेल पराजित भएका थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुर पोखरीमा बसोबास गर्दै आएका उनले २०६४÷०६५ मा नेकपा एमाले कास्कीको जिल्ला कमिटी सचिव भएर काम गरेका थिए । उनले २०५४ सालमा जिल्ला विकास समिति कास्कीको सभापति भएर पाँच वर्ष काम गरिसकोका छन् ।

पौडेलले पछिल्लो समय ‘फेवाताल सीमाङ्कन निर्धारण समिति’ को संयोजक भएर पनि काम गरे । अघिल्लो कार्यकालमा नेकपा एमाले कास्कीको जिल्ला अध्यक्षको उम्मेदवार बनेका उनी कृष्ण थापासँग पराजित भएका थिए । अहिले एमालेले उनै पौडेललाई पार्टीको तर्फबाट गण्डकी प्रदेशमा खुलातर्फ राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

५. अर्जुन सोनाम

एमालेले गण्डकी प्रदेशबाट उम्मेदवार बनाएका अर्जुन सोनाम विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता हुन् । स्याङजाको फेदीखोला गाउँपालिका, भाटखोलाका उनी २०४५ सालमा नेकपा मार्क्सवादीको नेपाल प्रगतिशील युनियनमार्फत राजनीतिमा लागेका थिए । त्यसपछि उनले अनेरास्ववियुको स्याङ्जा जिल्ला सचिव र उपाध्यक्षको समेत भूमिका निर्वाह गरेका थिए । २०६० सालमा अनेरास्ववियु गण्डकी अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी २०६० मा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका सोनाम ०६५ मा उपसभापतिमा निर्वाचित भए । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, पार्टीको महाधिवेशन प्रतिनिधि, दलित तथा जनजातिहरुको प्रतिनिधित्व गर्ने नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षसमेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

विद्यार्थी संगठनबीच चर्को राजनीति हुने पृथ्वीनारायण क्याम्पसमा २०६५ सालमा अखिल क्रान्तिकारीको आक्रमणमा परेर उनी मृत्युको मुखमा पुगेका थिए । गम्भीर घाइते अवस्थामा सोनामलाई हेलिकोप्टर मार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारका क्रममा १३ घण्टापछि मात्र उनको होस खुलेको थियो । न्यूरो अस्पताल काठमाडौंमा लामो उपचारपछि डिस्चार्ज भएका सोनाम दुई वर्षसम्म वैशाखीको सहारामा हिँडडुल गर्दथे । अहिले पनि उनी शारीरिक रुपमा अशक्त नै छन् ।

६. लिला पोखरेल थनेत

एमालेले गण्डकीमा राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको लिला पोखरेल थनेत कान्छो जिल्लाका रुपमा परिचित नवलपुरमा बसोबास गर्दै आएकी छन् । २०४६ सालदेखि राजनीतिमा लागेकी उनले पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।

थनेतले नेपाल प्रगतिशील विद्यार्थी युनियनको केन्द्रीय सदस्य भएर २०४७ देखि ०४९ सम्म जिम्मेवारी निर्वाह गरेकी छन् भने एमाले नवलपुर जिल्ला कमिटीको सचिवालय सदस्य हुनका साथै १० औं महाधिवेशन अन्तर्गत विधान महाधिवेशन प्रतिनिधि भएर पनि जिम्मेवारी निर्वाह गरेकी छन् । उनी अखिल नेपाल महिला संघ नवलपुरको संयोजकसमेत समेत हुन् ।

यस्तो छ मतभारको अवस्था

गण्डकीमा दलीय हिसाबले नेकपा एमाले मजबुत रहे पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिएका कारण एमाले कमजोर देखिएको छ ।

प्रदेशसभातर्फ २७ सांसद रहेको एमालेको १ हजार २९६ मतभार छ । १५ सांसद रहेको काँग्रेससँग ७२० र १२ सांसद रहेको माओवादी केन्द्रसँग ५७६ मतभार छ । त्यसैगरी जनमोर्चा र जनता समाजवादीसँग ९६÷९६ मतभार छ ।

स्थानीय तहतर्फ काँग्रेसका ८३ जनप्रतिनिधिसहित १ हजार ४१८ मतभार छ भने माओवादीका १२ जना जनप्रतिनिधिको तर्फबाट २१६, जनमोर्चाका ३ जनप्रतिनिधिको ५४ मतभार छ ।

स्थानीय तहतर्फ एमालेका ७० जना जनप्रतिनिधिबाट १ हजार २६० मतभार हुने देखिन्छ । राप्रपाका २ जनप्रतिनिधिका तर्फबाट ३६ मतभार हुन्छ । सत्तारुढ गठबन्धनसँग थण्डकीमा ३ हजार १७६ मतभार देखिन्छ जो, नेकपा एमालेको तुलनामा सहज बहुमत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप