बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा निर्वाचनको आन्तरिक तयारीमा दलहरु व्यस्त, सीके राउत पनि ताते

मङ्गलबार, २५ माघ २०७८, १७ : ३४
मङ्गलबार, २५ माघ २०७८

सरकारले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा राजनीतिक दलहरुको सक्रियता ह्वात्तै बढेको छ । अधिकांश दलहरु स्थानीय निर्वाचनको तयारीमा जुट्न थालेका छन् ।
मधेस प्रदेशका अधिकांश जिल्लामा विभिन्न दलहरुले पार्टीको स्थानीय कमिटी गठन, भेला देखि जिल्ला र प्रदेश अधिवेशन हुँदै महाधिवेशन गरेपनि केहि दलले भने अहिलेसम्म पनि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सकेको छैन ।
नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र लगायतले महाधिवेशन सम्पन्न गरिसकेका छन् । तर जसपा तथा त्यसबाट अलग भएर गठन भएको लोसपाको प्रदेश जिल्ला तथा स्थानीय तहमा संगठन निर्माणकै क्रममा छ । एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीको पनि संगठन निर्माण क्रम अभियान जारी छ ।

त्यस्तै मधेस प्रदेशमा जनमत पार्टीले आन्दोलन, संगठन निर्माणसँगै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आर्थिक अभियानलाई समेत अघि बढाएको छ । नेकपा माओवादी केन्द्रले  प्रदेश अधिवेशन सम्पन्न गरेपनि प्रदेश कमिटी भने बनाउन सकेको छैन भने स्थानीय तहको भेला पनि स्थगित गरेको छ । तर स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु निर्वाचनको तयारीमा जुटेका छन् ।

निर्वाचनलाई मध्यनजर गर्दै दलहरुले पार्टी प्रवेश कार्यक्रमलाई पनि तीब्रता दिएका छन् । आइतबार मात्रै सप्तरीमा आयोजित एक कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना थारूसहित ३२ जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । 
उता लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले सरकारले निर्धारित समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले स्थानीय तहमा पार्टी संगठन निर्माणलाई यस अघिदेखि नै तीव्रता दिएको बताए । उनले स्थानीय तहको निर्वाचनमा लोसपाबाट आकांक्षीहरु बढी नै रहेकाले यस विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतसँग छलफल र पार्टी बैठकबाट छिट्टै नै उम्मेदवारहरू तय गरिने बताए ।

त्यस्तै एकीकृत समाजवादी धनुषाका अध्यक्ष रामचन्द्र पण्डितले पनि पार्टी संगठन निर्माणको कामलाई तीव्रता दिइएको जानकारी दिदै १८ वटै स्थानीय तहमा उम्मेदवार खडा गरिने समेत बताए । उनले नेकपा एसको केन्द्रीय समितिको गठबन्धन अनुसार अघि बढ्ने निर्देशन हाललाई नकुर्ने बरु स्थानीय तहमा आफ्नै उम्मेदवारीको गृहकार्य गर्ने समेत स्पष्ट पारे ।

त्यस्तै नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको बताए । उनले छिट्टै नै पार्टी, संगठन र मोर्चाको बैठक बसेर स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटदेखि उम्मेदवार चयनसम्मका आन्तरिक कार्य गरिने बताए ।

यता सरकारले निर्वाचनको मिति तय गरेसँगै जनमत पार्टीले भने औपचारिक रुपमै निर्वाचनको तयारीमा लागिसकेको छ । पार्टी अध्यक्ष सीके राउतले उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएका छन् । 

‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन’, अध्यक्ष राउतले सो परिपत्र जारी गर्दै भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ ।’ आगामी फागुन १५ सम्ममा उम्मेदवारहरूको नाम सिफारिस गर्न म्याण्डेटसहित निर्देशन दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप