विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

किन हुन्छ थाइराइड हर्मोन घट्ने समस्या ?

आइतबार, २२ फागुन २०७८, १२ : ०४
आइतबार, २२ फागुन २०७८

हाम्रो घाँटीमा रहेको करीब २ ईन्च लामो र सानो आकारको, पुतली जस्तो बनावट भएको, स्वरयन्त्रको मुनि र घाँटीको अगाडि रहेको शरीरको महत्वपूर्ण ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यसले मुख्यतः टाउकोमा रहेको प्रमुख ग्रन्थी (पिटिट्युरी ग्लान्ड) ले निकाल्ने एक प्रकारको रसको संकेत प्राप्त गरी दुई किसिमको रस वा हर्मोन उत्पादन गर्दछ, जुन हर्मोनको काम शरीरलाई सन्तुलन र स्वस्थ राख्नु हो । साथै, यी हर्मोनका काम शरीरका मुख्य कार्यहरु सम्पादन गर्नु, मस्तिष्क र स्नायु प्रणालीको विकास गर्नु, श्वास प्रश्वास नियमित राख्नु, मांसपेशी बलियो बनाउनु, छाला चिल्लो बनाउनु हो । साथै, यसको काम महिनावारी नियमित बनाउनु, कोलेस्टेरोल सन्तुलित राख्नु, मेटाबोलिज्म् व्यवस्थित पार्नु र शरीरको तापक्रम तथा मुटुको चाल समेत सामान्य राख्नु हो ।

यदि थाइराइड ग्रन्थीको निष्क्रियता भएमा जतिसुकै संकेत मष्तिस्कको उक्त पिटिट्युरी ग्रन्थीले दिएता पनि थाइराइड ग्रन्थीले आफ्नो कार्य राम्रोसँग गर्न नसकेको अवस्थामा हर्मोनको उत्पादन कम भई शरीरमा देखा पर्ने विभिन्न असरयुक्त अवस्था नै बोलीचालीको भाषामा थाइराइड हो । यसलाई चिकित्सिकीय भाषामा हाइपोथाइराइडिज्म् भनिन्छ ।

    शरीरमा थाइराइड हर्मोनले कोषभित्र हुने महत्वपूर्ण पाचन (मेटाबोलिज्म) प्रक्रियालाई छिटो बनाउने कुराको नियन्त्रण गर्दछ । कोषभित्र जति बढी छिटो र राम्रो पाचन भयो, त्यति नै क्यालोरीको जलन भई शक्ति उत्पादन हुन्छ । तर जुन व्यक्तिमा हाइपोथाइराइडिज्म्को समस्या छ, त्यसलाई सुरुवातको अवस्थामा खासै कुनै असर देखा पर्दैन । तर बिस्तारै उक्त पाचन प्रक्रियामा ढिलोपन आउने हुँदा क्यालोरी जलन हुन नसकेका कारण मोटोपन बढ्ने, तौल घटाउन नसकिने, थकाई लाग्ने, रगतमा कोलेस्टेरोल बढ्ने, जोर्नी दुख्ने, बाँझोपन हुने र मुटुका समस्या हुने लगायत लक्षण देखिन्छ । शरीरमा यस्तो समस्या भए नभएको हेर्न रगत जाँच गर्नुपर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा र ६० वर्ष कटेका व्यक्तिहरुमा बढी देखिन्छ ।

थाइराइडका लक्षण

थाइराइड हर्मोनको अनुपस्थितिको मात्राको आधारमा विभिन्न खालका लक्षण तथा चिन्ह देखा पर्छन् । समस्या बिस्तारै देखा पर्ने र बढ्दै जाने गर्छन् । जस्तै-

१. थकाइ लाग्ने

२. चिसोदेखि संवेदनशील हुने वा हातखुट्टा चिसो भइरहने

३. कब्जियत हुने

४. छाला खस्रो र सुक्खा हुने

५. तौल बढ्ने

६. अनुहार सुनिएको जस्तो तथा फुस्रो हुने

७. आवाज धोत्रो हुने र श्रवण क्षमता कमजोर हुने

८. मांसपेशी कमजोर हुने

९. रगतमा कोलेस्टेरोलको मात्रा बढ्ने

१०. मांसपेशी दुख्ने, छुँदा दुख्ने र कडापन हुने

११. जोर्नी दुख्ने, जोर्नी कडा हुने र सुनिने

१२. सामान्य भन्दा बढी मात्रामा र अनियमित महिनावारी हुने

१३. रौंहरु झर्दै पातलो हुने

१४. मुटुको चाल र दर कम हुने, नाडीको दर घट्ने

१५. डिप्रेसन हुने

१६. मस्तिष्कले राम्रो काम गर्न नसक्ने

१७. गलगाँड वा थाइराइड ग्रन्थी बढ्ने

१८. महिनावारीमा समस्या देखिने आदि ।

 गर्भवतीमा थाइराइड

गर्भवती महिलाहरुमध्ये जम्मा एक हजारमध्ये ३ देखि ५ जनामा यो समस्या हुन सक्छ । गर्भवतीमा थाइराइड भएमा सम्भावित गर्भपतन सम्म गराउन सक्छ । सुरुवातको गर्भावस्थामा कुनै लक्षण नदेखिए पनि पछि जटिल खालका स्वास्थ्य समस्या देखिने, प्रि इक्लाम्प्सिया, सन्तानमा बौद्धिक ह्रास, जन्मने बेलामा बच्चा मर्ने, छिटो सुत्केरी हुन सक्ने, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छन् ।

बालबालिकामा थाइराइड

वास्तवमा थाइराइडको समस्या बयस्क वा प्रौढ व्यक्तिहरुमा बढी देखिन्छ । तर कहिलेकाहीं बच्चाको शरीरमा थाइराइड ग्रन्थीको अनुपस्थिति भएमा, विकृत भएमा र ग्रन्थीले राम्रो काम गर्न नसकेमा बालबालिकामा पनि यसको समस्या देखिन सक्छ । बच्चामा थाइराइड भएमा देखा पर्ने लक्षण यस प्रकार छन्ः

१. छाला पहेंलो हुने वा जण्डिस देखा पर्ने

२. ठूलो र भद्दा खालको जिब्रो देखिने

३. सास फेर्न कठिनाइ हुने

४. धोत्रो आवाज आउने

५. नाइटोको हर्निया देखा पर्ने

६. खाना खान नमान्ने र वृद्धि विकासमा अवरोध आउने

७. कब्जियत हुने

८. मांसपेशीमा कडापन नहुने

९. धेरै समयसम्म सुतिरहने

१०. पुड्कोपन हुने

११. स्थायी दाँत आउन ढिला हुने

१२. जवानी ढिला आउने

१३. मानसिक विकास नहुने आदि ।

थाइराइडका कारण

थाइराइड हुनुका विभिन्न कारण छन् । थाइराइडले गलगाँड, मुटुका समस्या, मानसिक स्वास्थ्य समस्या बाहिरतिरका स्नायुमा समस्या, मिक्सडेमा अर्थात् चक्कर लाग्नु, चिसो सहन नसक्नु, अल्छी हुनु र बेहोश हुनु, बाँझोपन, जन्मजात विकृति आदि हुन सक्छ । यसलाई बुँदागत रुपमा जानकारी दिइन्छ ।

१. अटोइम्युन रोग- यसलाई हासिमोटोको रोग पनि भनिन्छ । शरीरको रोग विरुद्धको प्रतिरोध शक्तिले अनावश्यक एन्टीबडीको उत्पादन गर्दा थाइराइड ग्रन्थीका तन्तुमा समेत आक्रमण गरी ग्रन्थीको कार्यसम्पादन क्षमता नष्ट हुने अवस्था ।

२. थाइराइडको उपचारमा औषधीको बढी प्रयोग- बढी हर्मोन उत्पादनको समस्यामा प्रयोग गरिने औषधीको बढी प्रयोग गर्दा निकै कम मात्रामा हर्मोन उत्पादन भएमा पनि थाइराइड हुन सक्छ ।

३. थाइराइड ग्रन्थीको अप्रेशन- थाइराइड ग्रन्थीको अप्रेसन गरेपछि अब थाइराइड हर्मोन उत्पादन नहुने हुँदा जीवनभर हर्मोन औषधी खाइरहनु पर्छ । अन्यथा हाइपोथाइराइडिज्म् हुन्छ ।

४. रेडिएसन उपचार- क्यान्सर जस्ता रोगमा टाउको र घाँटीमा रेडिएसनको प्रयोग गरी उपचार गर्दा थाइराइड ग्रन्थीमा असर परी थाइराइड हुन सक्छ ।

५. अन्य औषधीको असर- अन्य कुनै पनि रोगमा प्रयोग गरिने औषधीहरु जस्तै ‘लिथुम’को असरका कारणले पनि हुन सक्छ ।

६. जन्मजात रोग- बच्चा जन्मँदै थाइराइड ग्रन्थीमा आएको समस्या हुनु, थाइराइड ग्रन्थी नै नहुनु, ग्रन्थीको उचित विकास नहुनु आदि ।

७. पिट्युटरी ग्रन्थीको समस्या- मस्तिष्कमा रहेको प्रमुख ग्रन्थी पिट्युटरीमा ट्युमर पलाएर वा अन्य कारणले समस्या उत्पन्न भई यसले उत्पादन गर्ने हर्मोनको उत्पादन नभएर वा कम उत्पादन भएर थाइराइड ग्रन्थीको काममा मन्दता आउँदा पनि थाइराइड हुन सक्छ ।

८. गर्भावस्था- गर्भवती हुँदा वा सुत्केरी भएपछि पनि कसै कसैमा एन्टीबडी उत्पादन हुन थाल्छ र थाइराइड ग्रन्थीले राम्रो काम गर्न नसक्दा हाइपोथाइराइडिज्म् हुन सक्छ । यसको असरले गर्भपतन हुन सक्ने, रक्तचाप बढ्न सक्ने र भु्रणको वृद्धि विकासमा समेत असर पर्न सक्छ ।

९. आयोडिनको कमी - सुक्ष्म खनिज तत्व आयोडिनको लामो समय कमी भइरहेमा थाइराइड ग्रन्थीले काम गर्न सक्दैन र हाइपोथाइराइडिज्म् हुन सक्छ । कहिलेकाहीँ आयोडिनको मात्रा बढी भएमा समेत यो समस्या आउन सक्छ ।

कस्ता व्यक्तिलाई थाइराइडको भय हुन्छ ?

१. पुरुषको तुलनामा महिलालाई बढी हुन सक्ने

२. ६० वर्ष माथि उमेर पुगेका

३. वंशाणुगत रुपमा हुन सक्ने

४. अटोइम्युन रोग भएका वा टाइप १ मधुमेह रोगी

५. रेडिएसनको उपचार लिइरहेका वा थाइराइड विरुद्धको औषधी खाइरहेका व्यक्ति

६. थाइराइड ग्रन्थीको अप्रेसन गरेका व्यक्ति

७. गर्भवती वा ६ महिनासम्मको सुत्केरी आदि ।

थाइराइडमा मोटोपन बढ्ने कारण

थाइराइड ग्रन्थीले एक प्रकारको हर्मोन रगतमा पठाइदिंदा मेटाबोलिज्म् प्रक्रिया सुचारु हुन्छ तर यस्ता हर्मोनको कमी भएमा उक्त प्रक्रिया स्वतः कम हुन्छ र मोटोपन बढ्छ । यसको लागि निम्न उपायह अपनाई समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१. धेरै आराम मात्रै नगर्ने

२. खाना खाने बेला अन्यत्र ध्यान नदिई खानेकुरामा मात्र ध्यान दिने र थोरै खाना खाने

३. योगाभ्यास, उपवास र ध्यान निरन्तर गर्ने

४. थोरै मात्रामा मात्र कार्बोहाइड्रेटयुक्त खाना खाने वा खाँदै नखाने

५. तनावबाट मुक्त हुने आदि ।

थाइराइडको उपचार

थाइराइडबारे शंका लागे सुनिश्चितताको लागि रक्तपरीक्षण गर्नुपर्छ । रक्तपरीक्षणमा टिएसएच थाइराइड लेभलको परीक्षण गरेर यो रोगको सुनिश्चितता गरिन्छ । यो रोग लागेमा हर्मोनल औषधीको प्रयोग गर्नुपर्छ । उमेर, बिरामीको अवस्था आदि हेरेर चिकित्सकले मात्रा निर्धारण गर्दछन् र उक्त मात्रा ६ देखि ८ हप्तापछि पुनः समायोजन गर्नुपर्दछ । औषधी उपचार शुरु गरेता पनि प्रत्येक ६ महिनामा रक्त परीक्षण गर्नुपर्दछ । यो रोगमा प्रयोग हुने औषधी  उपचारको विधि नै ‘हर्मोनबाट उपचार’ गर्नु हो ।

    यसैगरी यो समस्या भएमा आहारमा आयोडिन नामक खनिज तत्वको पूर्ति गर्नुपर्दछ । यो धेरैजसो समुद्रका खानामा पाइन्छ । गर्भवतीले अझ बढी मात्रामा आयोडिनयुक्त खाना खानुपर्दछ । तिनलाई कम्तीमा पनि २५० माइक्रोग्राम आयोडिन आवश्यक पर्दछ । किनकि यसबाट बच्चाले समेत आयोडिन प्राप्त गर्दछ ।

थाइराइडको रोकथाम

    संसारमा हाल आयोडिनयुक्त नुनको अभावको कारण अनुमानित १ करोड भन्दा बढी  थाइराइड समस्या भएका रोगी छन् । यस्ता रोगीलाई आयोडिनयुक्त नुनको आपूर्ति गर्ने हो भने निको हुन्छन् । हाइपोथाइराइडिज्म्मा प्रोटिन निकै लाभदायक हुन्छ । प्रशस्त प्रोटिनयुक्त खानाले कोषभित्र हुने पाचनको दर बढ्छ, जसले शरीरलाई फाइदा पुर्याउँछ । यसै गरी हाइपोथाइराइडिज्म् भएमा स्याँ स्याँ हुने गरी अभ्यास गर्नुपर्दछ । यस्ता खालका अभ्यासले थाइराइड हर्मोनको तह पनि बढ्न सक्छ । यसै गरी सेलेनियम जस्ता खनिज तत्वयुक्त खाना खानाले पनि फाइदा पुग्छ । यसको लागि अण्डा, गेडागुडी र अन्य बियाँहरुको सेवन गर्नुपर्छ । अर्को खनिज तत्व जिंकले समेत हाइपोथाइराइडिज्म्मा सहयोग गर्छ ।

    हाइपोथाइराइडिज्म्मा केही खानेकुरा हानिकारक हुन्छन् जसले अझ बढी बेफाइदा पुर्याउँछन् । ती हुन् बन्दागोभी, ब्रोकाउली, काउली, गुलियो तरुल, स्ट्रबेरी, कोदो, बदाम आदि । यसैगरी ग्लुटिन नामक प्रोटिन तत्व पाइने गहुँ र जौ समेत हानिकारक हुन्छ । कफी, ग्रीन चिया र रक्सी जस्ता पदार्थको सेवनले थाइराइड ग्रन्थीमा तनाव आउँछ ।

कस्तो खाना खाने ?

थाइराइडका बिरामीले फलफूल, तरकारी, हल्का मासु समेत खान सकिन्छ । जुन बढी क्यालोरीयुक्त नहुने र तौल बढ्न रोक्ने खालका हुन् । यसमा खान मिल्ने मुख्य खाना यसप्रकार छन्ः

१. अण्डा २. मासु ३. माछा ४. तरकारीहरु ५. फलफूल ६. एकप्रकारको प्रोटिन वा ग्लुटिन तत्व नभएको अन्न र गेडागुडी ७. दुग्ध उत्पादन ८. पानी तथा पिउन मिल्ने क्याफिन नभएको कोल्डड्रिंक्स् आदि ।

(लेखक जीवनशैली परिवर्तनबारे विद्यावारिधि शोधार्थी र सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप