मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले किन गठबन्धन गर्ने ?

बुधबार, २३ चैत २०७८, १० : ३४
बुधबार, २३ चैत २०७८

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा अवस्था र आवश्यकताका आधारमा तालमेल र गठबन्धन गर्ने सर्वसम्मत निर्णय गरेको छ । काँग्रेस किन एक्लै निर्वाचनमा नजाने भन्ने प्रश्न पार्टीभित्रै एउटा ध्रुवले जोडदार नउठाएको होइन । तर यो विवेक र रणनीतिका दुवै हिसाबले परिपक्व निर्णय हो । हामीले तात्कालिक अवस्थालाई होइन, गएको आम निर्वाचनमा अकस्मात् नेकपा एमाले र एकीकृत माओवादी दुई पार्टी मिल्दा के भयो र ओली सत्ता कसरी निरङ्कुश र तानाशाही भयो त्यस परिघटनालाई  केन्द्र विन्दुमा राखेर गठबन्धनको महत्त्व र आवश्यकतालाई बुझ्ने कोसिस गर्नुपर्छ र यो गठबन्धन आगामी प्रदेश र सङ्घको निर्वाचनमा धरी कायम राख्दै सम्भावित ओली अतिवादको ढोका सदाका लागि बन्द गर्नुपर्छ ।

नेपाली काँग्रेसमा किन गठबन्धनमा जाने ? गठबन्धन बेगर नै निर्वाचन जित्न सकिन्छ । केपी ओलीको एमाले आर्थिक र राजनीतिक आपराधहरूका कारण बदनाम र पतीत छ । काँग्रेसलाई त्यसै बहुमत आइहाल्छ भन्ने तर्क छ । हामी आम कार्यकर्तामा त्यो नपरेको पनि होइन । अर्काेतर्फ, गठबन्धन भए पनि माओवादीले काँग्रेसलाई र काँग्रेसले माओवादीलाई भोट हाल्दैनन् भन्ने बहस छ । यी दुवै तर्क र बहसहरू वास्तवमै सत्यको धरातलमै छन् । तर नेपाली काँग्रेसको अहिलेको चासो र चिन्ता भनेको एक्लै लड्नलाई नभई सम्भावित कम्युनिस्ट एकताले ल्याउने राजनीतिक असन्तुलनको हो । त्यसबाट दोहोरिन सक्ने हिजोको ओली काल र परिस्थितिमा हो । काँग्रेसले एक्लै निर्वाचन जित्ने कुरा आजको दिन फलामको चिउरा होइन, न हिजै थियो । तर काँग्रेसले गठबन्धन नगरेको दिन  प्रचण्ड र  माधव नेपालहरू कम्युनिस्टहरूले प्रयोग गर्ने एउटा बहुचर्चित शब्द छ, ‘आत्मालोचना’ हो त्यही आत्मालोचनाको ढोकाबाट पुरानै कित्तामा पुग्दैनन् भन्ने के ग्यारेन्टी छ ?

 प्रचण्ड र  माधवहरूमा निर्वाचनमा जाँदा कोसँग जोडिएर जाने भन्ने बाध्यता र डर रहनु स्वाभाविक हो । प्रचण्डलाई कसरी उछिट्याउने भन्ने रणनीति एमालेहरूमा हुनु पनि स्वाभाविक हो । तर काँग्रेसभित्रको एउटा पङ्क्तिले चुनावी गठबन्धनको बाध्यता र महत्त्व नबुझ्नु या बुझेर पनि नबुझेझैँ गर्नु चाहिँ बेइमानी मात्र हो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई कसरी बालुवाटारबाट बूढानीलकण्ठ पु¥याई पार्टीभित्र कमजोर बनाउने भन्ने कन्स्पिरेसी थ्योरी हो । महोदयहरू, यो समय देउवालाई कमजोर बनाउन दाउ थाप्ने समय होइन । हिजो नेकपा नामको समीकरणपछि के भयो ? देशले के के गुमायो ? लोकतन्त्र, संविधान, संसद् र समृद्धिका उद्देश्यहरूलाई कुन शक्तिको आडमा ओलीद्वारा निमोठ्ने चेष्टा भयो ? राष्ट्र निर्माणको साडे तीन वर्षको समयमा कसरी क्षति हुन पुग्यो ? यसको पृष्ठभूमिमा काँग्रेस पङ्क्तिभित्रका हामीले सोच्नुपर्छ, समीक्षा गर्नुपर्छ । तब तालमेलर गठबन्धनको सान्दर्भिकता र औचित्य भेट्न र देख्नलाई सजिलो हुन्छ ।

कम्युनिस्ट गठबन्धनका लागि प्रयासहरू सुरु भएका थिए । यस्तो प्रयास राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सुरु भएको थियो । एमालेका नेता घनश्याम भुसालले एक राष्ट्रिय दैनिकमा लामो लेखै लेखेर कम्युनिस्टहरूको गठबन्धनर एकता हुनुपर्छ नत्र समाप्त होइने भनेर उद्घोष गरेका थिए । त्यसको केही दिनभित्रै पोलिटब्युरो बैठकमा आधिकारिक प्रस्ताव लाँदै कम्युनिस्टहरूको गठबन्धन र एकताको प्रस्ताव राखेका थिए । भोलिपल्ट पत्रकार सम्मेलन गर्दै अहिलेलाई गल्ती भएको छ, पछि समीक्षा गरौँला मात्र भन्ने हो भने एकताको आधार तय हुने भन्दै लामो व्याख्या गरेका थिए । महोदयहरू, एमाले घुमिफिरी सत्तामा पुगेर पुनः ओलीवाद लाद्न चाहन्छ अर्थात् अहङ्कार, घृणा, तिरष्कार र तानाशाही लाद्नका लागि एमाले पुनः एकता नामको झुटको खेती गर्न चाहन्छ ।

यता गठबन्धनका अगुवा नेता प्रचण्ड काँग्रेसले लखेट्न खोजे एमाले छ भन्दै तीतो पोख्दै थिए ।  झलनाथ,  माधव,  वर्षमानहरूको अभिव्यक्ति लगातार कुनै न कुनै रूपमा काँग्रेस नभए एमालेको ढोका खुल्ला छ भन्नेतर्फ थियो । सूचनाअनुसार गएको हप्ता कम्युनिस्टहरूलाई पुनः एक बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको चासोअनुसार एमालेबाट विष्णु पौडेल र एकीकृत माओवादीबाट देव गुरुङ चीन पुगेका थिए । काँग्रेसले हात नदिएको क्षण कम्युनिस्टहरू पुनः एक भएर निर्वाचनमा जाने सम्भावनाका दृष्टान्तहरूले काँग्रेसलाई लोकतन्त्रमाथि लोकतान्त्रिक प्रक्रियाबाटै पर्न सक्ने पहिरोको पीरले गठबन्धनको औचित्य खोज्न बाध्य गराएको हो । हामीले यसै वैचारिकीबाट काँग्रेस नेतृत्वले लिएको तालमेलको निर्णयलाई पछ्याउनु पर्छ ।

ओलीले लोकतन्त्रको आवरणमा नेकपाभित्र र बाहिर स्टालिनको शैलीमा तानाशाही लाद्न खोजेको कुरा कुन शक्तिको आधारमा थियो ? स्थिर देशको नारामा अस्थिर देश किन र के कारणले गर्दा भयो ? सत्ता र शक्तिको लोभले कम्युनिस्टहरू फेरि एक भए, तिनै अकर्मण्यताहरू दोहोरिने निश्चित छैन र ? अनि देश तिनै नालायकहरूका कारण कुशासन, तानाशाही र अस्थिरताको भुमरीमामा अल्झिरहोस् ?

काँग्रेसले अहिले बुद्धिमतापूर्ण निर्णय लिएको छ । देशको गतिशीलताका लागि यो एक निर्वाचनमा प्रचण्ड लगायतका शक्तिहरूसँग मिलेर निर्वाचनमा जाँदा काँग्रेसको अहित छैन । काँग्रेस बूढानीलकण्ठ र सानेपामा खुम्चिँदा बालुवाटार र सिंहदरबार टेकाउने सारथि आखिर को थिए ? ठूलो हार पछाडि काँग्रेस कार्यकर्तामा नुहेको आत्माबल उकासिनुको कारण अहिलेको गठबन्धन नै होइन र ?

मानिसहरू प्रश्न गर्छन्, सिद्धान्त मिल्ने दलसँगको गठबन्धन हो र ? सिद्धान्त र विचार मिल्ने दलसँग पो गठबन्धन हुनुपर्ने हो भन्छन् । के नेपाली काँग्रेस माओवादीको प्रचण्ड पथमा लिप्त भएको हो ? भनेर सोध्ने गर्छन् । महोदयहरू, सिद्धान्त र विचार केलाई भन्ने ? सिद्धान्तको माने के हो ? कुनै पनि सिद्धान्तको ध्येय जनताको स्वतन्त्रता, सुख, शान्ति, उन्नति र आत्मसम्मान होइन र ? कम्युनिस्ट एकता भएर पहिलेकै जस्तो ओली राज्यले त्यसको प्रत्याभूति गर्छ कि, गठबन्धनका कारण काँग्रेसको नेतृत्वमा बन्ने राज्य सत्ताले त्यसको प्रत्याभूति गर्छ ? के  प्रचण्ड र माधवहरूले काँग्रेससँगको गठबन्धन मार्क्सवाद, माओवाद र साम्यवादका लागि हो भनेर कतै बोलेको हामी कसैले सुनेका छौँ ? त्यस्तो सम्झौतामा काँग्रेस नेतृत्वले हस्ताक्षर गरेको हो र ? उनीहरूले पटक पटक भन्दैछन्, काँग्रेससँगको सहकार्य लोकतन्त्र, संविधान, संसद् र सङ्घीयताका लागि भनेर । उनीहरूले हामीभन्दा मुखर स्वरमा ओली प्रतिगमनको विरोध गरेका होइनन् र ?

नेपाली काँग्रेस माओवादी र माधवको गठबन्धनमा हुनुको मतलब मार्क्सवाद, माओवाद र साम्यवादको लक्षमा हुनु होइन महोदयहरू । काँग्रेस आफू हारेर पनि लोकतन्त्र र संविधानलाई जिताउन चाहन्छ, हाम्रो इतिहास र वर्तमानका तथ्यहरू जगजाहेर छैनन् र ? माओवाद र मार्क्सवाद भन्दै बन्दुक उठाउने र मुट्ठी उठाउने माओवादीलाई काँग्रेसले नै होइन जनताको घरघरमा नमस्कार भन्दै भोट दिनुहोस् भन्ने ठाउँमा लिएरआएको ? आखिर काँग्रेस नै त्यस्तो एक मात्र शक्ति हो, जसले सबै अतिवादी शक्तिहरूलाई आफ्नो लोकतन्त्रको राजनीतिक राजमार्गमा ल्याएको छ ।

यो तालमेलर गठबन्धनका सैद्धान्तिक आधार र लक्षहरू प्रष्ट र सामन्य छन्, जनताले देख्ने र बुझ्ने भाषामा छन्, “लोकतन्त्रको घुम्टोभित्र ओलीझैँ तानाशाही नहुनु हो । समय र परिवर्तनको गतिमा बयलगाडे नभएर प्रगतिशील र अग्रगामी हुनु हो ।”

हामीले ओलीको राज्यमा भ्रष्टाचार, अहङ्कार, घृणा र तानाशाहीको थुप्रो सगरमाथाझैँ अग्लो थियो भन्ने कुरा बिर्सनु हुन्न । कम्युनिस्ट एकता भएर ओलीको पुनः उदय हुनु भनेको देश पुनः त्यही नियतिमा फर्कनु हो । यो तालमेलर गठबन्धन लोकतन्त्र माथिको तानाशाही ओलीबाट हुने सम्भावित खतराका लागि हो । संविधान, संसद् र सङ्घीयताका लागि हो । महिला, युवा, जनजाति, दलित, थारु, मधेसी र अल्पसङ्ख्यकहरूको हक–अधिकार, मुक्ति र आत्मसम्मानका लागि हो । अन्धराष्ट्रवाद र अतिवादको बाढीलाई रोक्नका लागि हो । भ्रष्टाचार, ज्यादती र अहङ्कारले ग्रस्त कुशासनलाई निस्तेज पार्नका लागि हो । संविधानले प्रदत्त हकअधिकारहरूको रक्षा र सुनिश्चितता गर्नु नै यो गठबन्धनको सङ्कल्प हो । सत्ता केवल निमित्त कुरा मात्र हो ।

यो तालमेल र गठबन्धन विकास र समृद्धिका नाममा सम्भावित ओली कुतर्क र कुकर्महरूको रोकावटका लागि हो । बालुवाटारको खोपीमा बसेर कागजका निर्माण योजनाको उद्घाटन, भ्युटावर, चाइनाको रेल र हिन्द महासागरमा झण्डा फहराउने पानीजहाज जस्ता ओली विकास र समृद्धिको जात्राबाट विकास र समृद्धिको नवीन, वैज्ञानिक र परिणाममुखी यात्राका लागि हो ।

काँग्रेसी महोदयहरू, काँग्रेसलाई निर्वाचन जित्ने कुरामा न शङ्का न दुविधा । काँग्रेसको मत केवल भ्रष्टाचार, अहङ्कार, घृणा, निषेध र तानाशाहीको ओली मुखुण्डोले कुनै पनि बहानामा पुनः मुन्टो ठड्याने आधार बन्न हुन्न भन्ने हो । यिनै ओलीले होइन तत्कालीन आदरणीय प्रधानमन्त्री देउवालाई  काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेर काँग्रेसलाई पचास वर्ष सत्ताम फर्किन दिन्न भन्ने को ? यिनै ओलीले होइन संसद्मा काँग्रेसलाई प्रतिपक्षी पार्टी नै नमान्ने भनेको ? यिनै ओलीले होइन बोन भिटा खानु भनी काँग्रेसलाई गिज्याएको ? यिनै ओलीले होइन संविधानतः उपसभामुख काँग्रेसलाई जान्छ भनेर विभिन्न बहाना गरेको ? यिनै ओलीले होइन संवैधानिक समितिमा काँग्रेसको उपस्तिथिविना निर्णय गर्ने आधार खोजेको ? यिनै ओलीले होइन काँग्रेसविरुद्ध अरिङ्गाल बनेर मण्डले शैलीमा जाइलाग भनेको ? र अस्ति यिनै ओलीले होइन काँग्रेसलाई १३ सिटमा झार्ने भनेको ?

यिनै ओली होइनन्, लोकतन्त्रका आधारभूत खम्बाहरूको समाप्त गरी अकन्टक सत्तामा बस्ने हेतुले हाम्रो फोन ट्यापिङ गर्न विधेयक ल्याउने ? बिहीबार नयाँ पत्रिकामा आएको समाचारअनुसार त्यो विधेयक आउनुभन्दा अगाडि नै खरिद प्रक्रिया अगाडि बडाइएको थियो र मेसिन खरिद गरेर केही फोनहरू ट्यापिङ पनि गरिएको थियो । यिनै ओलीले होइन भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्दै गोकुल, ईश्वर र ढकालहरूलाई क्याबिनेटमै राखेर उनीहरूको बचाउ गरेको ? यिनै ओलीले होइनन्, कोरोनाको कालो अन्धकारबीच अरूको पार्टी फुटाउन सांसद अपहरण गराएको ? यिनै ओलीले होइन कोरोना महामारीमा वैज्ञानिक तथ्यलाई काटेर हाच्छ्युँ गरे कोरोना भाग्ने भन्दै भ्रम छरेर हजारौँलाई मर्न विवश गराएका ? यिनै ओलीले होइन यति, ओम्नि, दुगड र वैद्यहरूसँग मिलेर मेडिकल सामग्री र खोपमाथि आर्थिक अपराध गरेर हजारौँको ज्यान लिएको ? यिनै ओलीले होइनन् जीवन र मृत्युको घडीमा देश सम्झेर फर्किएका मजदुर नेपाली दाजुभाइहरूलाई महाकालीमा नाङ्गो शरीर हामफाल्न विवश गराएको ?  यिनै ओलीले होइनन् गरिब र दुःखी जनतालाई सयौँ माइल भोको पेट र नाङ्गो खुट्टा हिँड्न बाध्य बनाएको ? यो गठबन्धन यी सबै अपराध र गैरजिम्मेवार हर्कतहरूका लागि आगामी तिनै तहको निर्वाचनमा अहङ्कारी र तानाशाही ओलीलाई निर्मम तरिकाले दण्डित गर्ने औजार बन्नुपर्छ ।

जुन जुन शक्ति मिलेर तानाशाही ओलीको प्रतिगामी सत्तालाई ढालेर संविधान र संसद्लाई लोकतन्त्रको राजमार्गमा पुनः अवतरण गरेका थियौँ ती सबै शक्तिको एकता र हातेमालो नै अहिलेको सर्वाेत्तम बाटो हो । यो गठबन्धन तिनै तहको निर्वाचनसम्म लाने, काँग्रेसले जितेका सिटलाई सुरक्षित राख्दै थप सिट जित्ने र शक्ति आर्जन गर्नु पहिलो लक्ष हो ।

अब नेतृत्वबाट तत्काल गठबन्धनको वैज्ञानिक ढाँचामा काम हुनुपर्छ । जस्तैः नेता तथा कार्यकर्ताहरूको पङ्क्तिमा पर्ने मनोवैज्ञानिक र साङ्गठनिक असर, उत्तम सङ्कल्परउमेदवार र विकल्प छुट्याउने सर्वस्वीकार्य आधारहरू, मतदातालाई सामूहिक आह्वान र मन र व्यावहारको प्रतिबद्धतासहितको कार्यान्वयन जस्ता कुराका लागि काम हुनुपर्छ ।

हामीले फुट्नु र जुट्नुबीचको सामान्य फरकलाई छुट्याउन सकेको खण्डमा यो गठबन्धनको महत्त्व, औचित्य, सिद्धान्त र विचारलगायत सबै कुरा देख्ने छौँ ।

पूर्वमहामन्त्री, नेविसङ्घ    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वरी कुँवर
महेश्वरी कुँवर
लेखकबाट थप