आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : आखिर आमाले जित्नु भो

शनिबार, १७ वैशाख २०७९, ०९ : ४६
शनिबार, १७ वैशाख २०७९

छयालीसको जनआन्दोलन जारी थियो । प्रजातन्त्रको पुनर्स्थापना हुनेमा म आशावादी थिएँ । त्यसकारण उत्साहित पनि थिएँ । यो आशा र उत्साहको कारण देशभित्रका पञ्चायत इतर सबै शक्तिको एकता र अन्तर्राष्ट्रिय खास गरी छिमेकी राष्ट्रको सहयोग र समर्थन थियो, जसको सहयोगमा २००७ सालमा पनि प्रजातन्त्र आएको थियो । अनि जनसहभागिता पनि दिनानुदिन बढ्दै गइरहेको थियो । मैले आन्दोलनमा भौतिक उपस्थिति चाहिँ जनाएको थिइन  । तर आन्दोलन सफल भैदिए हुन्थ्यो, पञ्चायत गैदिए हुन्थ्यो भन्ने चाहिँ थियो  । म आमाबुवासँग काठमाडौँमै थिएँ त्यतिखेर  । यत्तिकैमा एकदिन आमासँग त्यो आन्दोलन र बहुदलकै विषयमा कुराकानी भयो ।

मैले भनेँ, ‘हेर्नुस् आमा, अब देशमा पञ्चायत ढल्छ, बहुदल आउँछ,  प्रजातन्त्र आउँछ  । अनि भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन, लुटतन्त्र सब निर्मूल हुन्छ । गरिब दुःखीका पनि दिन फिर्नेछन् ।’

आमाले भन्नु भो, ‘हेरौँला, ती झन् तीस तीस वर्षदेखि भोकै छन्,  रूख्खिएका छन् ।  सबैभन्दा डरलाग्दो कुरो त, हाम्रो आँगनमा कुनै विदेशी आएर हामीलाई उचालेर आउने प्रजातन्त्र ती विदेशीले चाहुञ्जेल मात्र रहनेछ  । कुरो बुझिस् ?’

‘हजूरको कुरामा दम छैन आमा ।’ मैले आमाको कुरा काटेँ ।

आमाले थप प्रष्टीकरण दिनु भो, ‘हामी जनताले त्यत्रो दुःख पाएको पोहोरको नाकाबन्दीलाई ठीक भन्नेहरूले नाकाबन्दी गर्नेकै सहयोग र समर्थनमा ल्याएको प्रजातन्त्र कस्तो होला ?’

२०४५ सालको नाकाबन्दीलाई काँग्रेस, कम्युनिस्ट दुवैले उचित दम भनी स्वागत गरेका थिए । मेरी आमाले त्यसैमा घोर आश्चर्य मान्दै यसो भन्नुभएको थियो ।

त्यत्रो जनआन्दोलनको विषयमा आमाको कुरा सुनेर मलाई भने भित्रभित्रै रिस उठ्यो । कस्तो नकारात्मक सोचको आमा होला जस्तो लाग्यो  । आन्दोलनकारी शक्तिले सुने आमालाई सीधै मण्डलेको बात लाइदिन्थे ।

.....

आन्दोलनमा व्यापक प्रहरी दमन र खानतलासी बढ्दै गएपछि २०४६ को चैत्र महिनाको मध्यतिर कमरेड शिखर प्रहरीको डरले आफ्ना दुई बोरा जति कम्युनिस्ट साहित्यका पुस्तक मेरी आमाको जिम्मामा छाडेर भूमिगत भए । आन्दोलनभर उनी कता गए थाहा भएन तर उनले छाडेका बुझ्न सकिने जति ती सबै पुस्तक मेरी आमाले पढेर भ्याउनु भएको म आफैँले देखेँ ।

हजारौँ लाखौँ मान्छेलाई कम्युनिस्ट बनाउने यी कृतिहरू पढेर पनि मेरी आमा कहिल्यै कम्युनिस्ट बन्नु भएन, न कसैलाई कम्युनिस्ट बनाउने प्रयत्न नै गर्नुभयो, न कम्युनिस्ट बन्ने प्रेरणा नै दिनु भयो । कत्ति जब्बर सन्देहवादी चेत थियो मेरी आमाको । शायद त्यसैले कम्युनिस्ट र गैर कम्युनिस्ट दुबैखाले राजनीतिमा लाग्ने थुप्रै अवसर र अफर उहाँले सजिलै त्यागिदिनु भयो  । कत्ति दूरदर्शी हुनुहुँदो रहेछ मेरी आमा, गर्व लाग्छ ।

      यदि मेरी आमा त्यतिखेर साँच्चै नै कम्युनिस्ट बन्नु भएको भए यतिखेर वहाँ हँसिया–हथौडा झण्डामुनि मार्क्स, लेनिनका तस्विर बोकेर पुराण सुनिरहेको अवस्थामा भेटिनु हुनेथियो ।  मनुस्मृतिलाई शीरमा राखेर होली वाइनको नशामा चूर हुँदै रामायणका कथाहरू जनवादी ढङ्गले प्रस्तुत गरिरहेकी हुनु हुने थियो  । अथवा शिवजीको आत्माको खोजीमा मार्क्सवाद जिन्दाबाद भन्दै कतै भौँतारिरहेका अवस्थामा पनि भेटिन सक्नु हुन्थ्यो ।  राम–सीताको मूर्तिमा प्राण प्रतिष्ठा गर्दै समाजवाद र साम्यवाद ल्याउने उद्घोष पो गरिरहेकी हुनुहुन्थ्यो कि ? आफ्नो कान्छो छोराको बिहेमा जनवादी दाइजोको मोलमोलाइमा पनि निर्लिप्त हुने सम्भावना पनि उत्तिकै थियो । आफ्नो जेठी बुहारीलाई दुइटी छोरी पाइसक्यौ, नातिको मुख नहेरी कसरी साम्यवाद ल्याउनु ? भनेर सोधिरहेको अवस्थामा भेटिने सम्भावना पनि थियो । आफ्नी आमाको यस्तो द्वैध र विकृत रूप म सोच्न पनि सक्दिनथेँ ।

त्यसैले उहाँले यस्तो राजनीतिलाई पहिचान गरेर त्यसको गोलचक्करबाट बेलैमा दूर हुनुभो  र त भन्छु मेरी आमा दूरदर्शी हुनुहुन्छ ।

आमासँग जनआन्दोलनको बिषयमै गफगाफ चलिरहेको थियो । मैले  आमालाई सम्झाउन निकै बेर कोशिश गरें तर सकिनँ ।  खुकुरी भन्दा कर्द लाग्ने त किन हुन्थ्यो र ?

यत्तिकैमा प्रजातन्त्र आयो  । क्षणिक नै सही, देशभरी खुसीयाली छायो तर यो खुसीयाली बिस्तारै बिस्तारै सङ्कुचित हुँदै गयो । प्रजातन्त्र ल्याउन नेतृत्वरत पक्षहरू मात्र खुसी हुने अवस्था आयो । उनीहरूको खुसीको पारो त आजसम्म पनि झरेको छैन, उत्पातै खुसी छन् ।  नहोउन् पनि किन ? नेपालमा प्रजातन्त्र र समाजवाद कतै आएको छ भने ती र तिनका आसेपासेको जीवनमा मात्रै आएको छ ।

प्रजातन्त्रपछि धेरै दल जन्मे, दलभित्र गुट जन्मे, गुटभित्र उपगुट जन्मे । गिरोह जन्मे, धेरै नेता जन्मे  । तर कसैले मेरी आमाको सन्देहलाई गलत साबित गर्न सकेनन् । हारजितको बाजी नभए पनि म हारेँ । आमाले जित्नु भो ।

करिब सत्र वर्ष पछि इतिहास दोहोरियो । २०६२÷०६३ मा पनि २०४६ सालकै जस्तो आन्दोलन फेरि भयो । यो आन्दोलनताका पनि यस्तै संवाद चल्यो आमासँग । म पहिलाको जस्तै अहिले पनि आशावादी थिएँ । नेताहरूले अनेक अनेक भाषणमा आशा र भरोसा दिलाएका थिए । विकास र समृद्धिका उडन्ते सपना देखाउने चलन अलि चलिसकेको थिएन । त्यसैले उडन्ते सपनाचाहिँ देखाएनन् । हामी सुध्रन्छौँ, विगतका गल्ती दोहोर्याउँदैनौं चाहिँ भनिरहे । त्यसैले उत्साहित पनि थिएँ । एकपल्ट त जोबाट पनि गल्ती हुन्छ, सच्चिने मौका दिनुपर्छ भनेर ।

यो पल्ट त मुर्दावाद, जिन्दाबाद भन्दै झण्डै बोकेर आन्दोलनमा सक्रिय रूपले भाग पनि लिएको थिएँ  । पहिलाको भन्दा अलिक परिपक्व पनि भएको थिएँ । आन्दोलनका बस्तुगत आधार हुबहु छयालीसको जनआन्दोलनकै जस्ता थिए  । आन्दोलनकारी शक्ति पनि तिनै थिए । फरक यति थियो कुनै शक्ति जङ्गलमा थिए त कुनै शक्ति सडकमा ।

म भन्दै थिएँ, ‘हेर्नुस् आमा, अब देशमा गणतन्त्र आउँछ  । पहिलेका भ्रष्ट, दलाल र फटाहाहरूको पत्तासाफ हुन्छ । बिग्रेका नेताले पनि हामी सप्रिन्छौँ, अब त्यस्तो कदापि गर्दैनौँ भनेका छन् । अझ गज्जबको कुरो आमा, आन्दोलन दबाउने क्रममा ज्यादती गर्नेलाई यसपालि चाहिँ कारबाही गर्छौँ भनेका छन् । मल्लिक आयोगको नियति दोहोर्याउँदैनौं भनेर प्रष्टै भनेका छन् ।’

आमाले भन्नु भो, ‘हेर बाबु, जुन तन्त्र आएपनि मान्छे यिनै हुन्  । संस्कार र सिस्टम पनि त्यही नै हो । एकपटक देखिसकेपछि, भोगिसकेपछि बुद्धिमान मान्छेले सतर्कतापूर्वक अघि बढ्नुपर्छ । सकारात्मक सोच्ने नाममा इतिहासबाट पाठ सिक्न बिर्सनु हुन्न । त्यसकारण धेरै नहौसिएस् । तै पनि ढाँटको निम्तो खाई पत्याई भनेझैँ लोकतन्त्र गणतन्त्र ल्याएपछि आफू सुध्रेछन् र मुलुक सुधारेछन् भने तेरो भनाई सही हो भनौंला ।’

अरू पनि थुप्रै केके भन्नु भएको थियो आमाले मैले बिर्सें । जे होस्, लामै प्रवचन दिनुभो । अलिअलि झर्को लागे पनि सुनिरहें । 

पुस्तक पढेर पाएको ज्ञानले भन्दा अनुभवसिद्ध ज्ञानको आधारमा उहाँले मलाई आफ्नो मनको कुरा भन्नु भो । अथवा, छोरो कसैको अन्धभक्त, लठैत, भाट नहोस् भन्ने चाहना पनि हुँदो हो वा लुटतन्त्रको औजार नबनोस् भन्ने पो थियो कि ? अथवा सन्देहवादको चेत पो भर्न खोज्नुभएको थियो कि ? अथवा, आफ्ना बाउ र ससुरा जो वल्लो र पल्लो गाउँका गाउँस्तरीय राजनीतिमा उहिल्यैदेखि आबद्ध हुनुहुन्थ्यो, उहाँहरूको राजनीतिदेखि दिक्दार भएर छोरालाई राजनीतिप्रति नै घृणाभाव पैदा गर्न पो यो सब भन्नुभएको थियो कि ? यसबारे आजसम्म आमाले व्यक्त गर्नुभएको छैन  मैले पनि सोधेको छैन ।

     त्यो वार्तालापको केही दिनपछि दोस्रो जनआन्दोलन पनि सफल भयो  । बिस्तारै बिस्तारै राजतन्त्र  गयो, गणतन्त्र आयो । धर्मनिरपेक्षता लगायत के के आयो आयो, ह्वाह्र्वार्ती नै आयो । तर आमाकै आशय बमोजिम तन्त्र मात्रै फेरियो, मन्त्र फेरिएन । यन्त्र, संयन्त्र केही पनि फेरिएन । फेरि पनि म हारेँ । आखिर ढुङ्ग्रो नै बाङ्गो भो, पुच्छर सोझिएन । 

आखिर आमा त आमा हुनहुन्थ्यो । अघिल्लो पटक झैँ यो पटक पनि म हारेँ । आन्दोलनमा जिन्दाबाद मुर्दावाद भन्दै झण्डा हल्लाउँदै हिँड्ने म जस्ता निम्छराहरूले गर्न नै के सक्थ्यौं र ? सदा झैं कोही भारत भासिए,    कसैले मलेशियातिर मुकाम बनाए ।  कति साउदीमा सेरिए, कतिपय भने दुबइको दुःखमा रमाए । कसैले कतारको कहर रोजे  । कोही वायुयानको वातानुकूलित सिटमा बसेर गए तर फर्किँदा बाक्सामा लमतन्न सुतेर आए  । जो जहाँ गए पनि जसरी आए पनि देशलाई भने अतुलनीय योगदान गरे  तिनले । 

मेरी आमा पञ्चायत, राजा, काँग्रेस, कम्युनिस्ट कसैको पनि समर्थक हुनुहुन्नथ्यो, न त विरोधी नै हुनुहुन्थ्यो । राजनीतिक घटनाक्रमसँग भने एकदमै अद्यावधिक भइरहनुहुन्थ्यो । ती घटनाक्रम विश्लेषण गर्न सक्ने क्षमता थियो उहाँसँग । 

गाउँमा छँदा आफ्नै घर गृहस्थी र खेतीपातीमै उहाँ ज्यादा व्यस्त हुनहुन्थ्यो । त्यसमै मस्त हुनुहुन्थ्यो । त्यस्तो अवस्थामा पनि समसामयिक राजनीतिक घटनाप्रति एकदमै चासो राख्नुहुन्थ्यो । हजुरबुवाले रेडियोमा सुनेको समाचार मेरी आमा पनि काम गर्दागर्दै भएपनि कान थाप्दै सुन्ने गर्नुहुन्थ्यो । बीबीसीको समाचार पनि मिलेसम्म, भ्याएसम्म छुटाउनुहुन्नथ्यो । शायद विहे अघिदेखि नै यो उहाँको बानी थियो । किनभने मेरो मामा घरको हजुरबुवा पनि राजनीतिक व्यक्ति नै हुनुहुन्थ्यो । आमाले औपचारिक शिक्षा खासै नलिए पनि पुस्तक पढ्न अनि श्लोक, कविता, कथा आदि लेख्न पनि रुचि राख्नुहुन्थ्यो ।

बुहारी भएर ससुराका अघि ठाँटले रेडियो सुन्ने समय थिएन त्यो, न बुहारीले पढ्ने लेख्ने नै समय थियो । तर पनि त्यतिखेरै उहाँले लुकीलुकी मानव महाकाव्य, नारी बन्धन र मुक्ति लगायत मोदनाथ प्रश्रितका अधिकांश कृतिहरू पढिसक्नु भएको थियो । 

शिरीषको फूल, पारिभाषित आँखाहरू लगायतका पारिजातका अधिकांश कृतिहरू पनि भ्याई सक्नु भएको थियो । युवाहरूको गीत, जुलियस फ्युचिकको झुण्ड्याउँदा झुण्ड्याउँदै उपन्यास, वीरङ्गना याङ काइहुइ, ल्यू हु लान, गोर्कीको आमा जस्ता अनूदित कृतिहरू पनि भ्याई सक्नु भएको थियो । पुस्तक पढाईको यो क्रम काठमाडौं आएपछि पनि रोकिएन । वास्तवमा पुस्तकप्रति गहिरो लगाव थियो उहाँको ।

आफ्नो रूचिको पुस्तक भेट्नासाथ उहाँ भातभान्सा माया नै मारेर घोत्लिनु हुन्थ्यो । आमाको यही घोत्ल्याईले मलाई पनि केही कुरा सिकायो । भान्सा कोठाको काम सिकायो । किनभने वहाँ किताबभित्र छिरेपछि तरकारी डढेको वा दाल उम्लेर गएको पत्तो हुँदैनथ्यो ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिपछि पनि देशको अवस्था अझ बिग्रेकोले भने मेरो सन्देहवादको चेत मजैले खुल्यो । तर निकै ढिलो भैसकेको अनुभूति भयो । यसपछि भने हरेक कुरामा सन्देह राख्ने बानी परेको छ । उन्नाईस उन्नाईस दिन घोक्रो फुटुन्जेल कराएको, भोक प्यास नभनी हिँडेको सम्झेर आफूलाई बेपत्तै ग्लानीबोध हुन्छ । दस दस वर्ष ज्यान हत्केलामा राखेर बन्दुक बोकेर हिँड्नेहरुलाई झन् कस्तो हुँदो हो ? सम्झिंदै मेरो आङ् सिरिङ्ग हुन्छ ।

यसरी सन्देहवादमा विश्वास राख्दा टन्न खाएर अघाएका अमुक पार्टीका भक्त र अन्धभक्तहरू, भातृसंगठनका युवा र चुनाव जितेर भोटको दुरूपयोग गर्ने भोटमाराहरूले कयौं पल्ट साँघुरो सोचाईको मान्छे भन्दै सकारात्मक सोचको टनिक खान सल्लाह दिन छाडेका छैनन् । त्यति मात्रै कहाँ हो र ? बेलाबखतमा  गोमनहरूको लखेटाई अनि अरिंगालुहरूको चिलाइमा पटक पटक परेको छु । 

औपचारिक शिक्षा खासै नलिनु भएकी मेरी आमा पठित र अपठित उच्च ओहोदाधारी, विद्यावारिधिधारी एकसे एक विद्वान वा कथित दूरदर्शी राजनेता भन्दा साँच्चिकै दूरदर्शी हुनुहुन्छ । मातातीर्थ औंसीको पुनित अवसरमा कोटी कोटी नमन आमालाई  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप