महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
काठमाडौँ । नेकपा एमालेका दुई वटा प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुलाई महाधिवेशनको चटारोले छोएको छ । अबको एक महिना आसपासमा दुवै संगठनले आफ्नो नीतिसहित नयाँ नेतृत्व चयन गर्दैछन् ।
युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ९ देखि ११ गते कास्कीको पोखरामा हुँदैछ भने अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २७ गते कीर्तिपुरमा हुँदैछ ।
महाधिवेशन मिति नजिकिएसँगै दुवै संगठनले आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । आकाङ्क्षीहरूले लबिङ समेत बढाउन थालिसकेका छन् ।
युवा संघले महाधिवेशनको नारा ‘शिक्षा, सीप र स्टार्टअप युवाको त्रिशक्ति’ भन्ने मूल नारा तय गरेको छ भने अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अघि बढौँ’ भन्ने मूल नारा तय गरेको छ ।
थेवेको ठाउँमा कसले मार्ला वाजी ?
युवा संघले अहिले धमाधम महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम गरिरहेको छ । महाधिवेशन मूल आयोजक कमिटी र विभिन्न उपसमितिले आवश्यक तयारी गरिरहेको सचिव निरोज पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा देशभरबाट लगभग १८ सय प्रतिनिधि छनोट हुनेछन् ।
‘अहिले जिल्ला जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया चलिरहेको छ । जेठ १ भित्र सबै जिल्लाका प्रतिनिधि केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ’, सचिव पौडेलले रातोपाटीसँग भने, ‘सबैतिरबाट प्रतिनिधिको लिस्ट केन्द्रमा आएपछि जाँचबुझ गरेर यकिन गरिन्छ ।’
युवा संघको नेतृत्वका लागि आकाङ्क्षीहरूको लर्को लागेको छ । अध्यक्ष थेवेले नदोहोरिने सङ्केत गरेपछि हालका उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरी केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्षका लागि आकाङ्क्षा देखाएका छन् ।
युवा संघले प्रतिनिधि छनोटको मापदण्ड तय गरेको छ । जसअन्तर्गत प्रत्येक जिल्लाबाट एक महिलासहित चार जना, पालिकाबाट १ जना, आठ प्रदेश कमिटीबाट अध्यक्ष र विभागबाट एक महिलासहित ३ जनाका दरले छनोट हुनेछन् । अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल आयोजक कमिटी गठन भइसकेको छ, जसको सहसंयोजक उपाध्यक्षहरू छन् भने महासचिव सुमन पुरी छन् ।
युवा संघको नेतृत्वका लागि आकाङ्क्षीहरूको लर्को लागेको छ । अध्यक्ष थेवेले नदोहोरिने सङ्केत गरेपछि हालका उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरी केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्षका लागि आकाङ्क्षा देखाएका छन् । नेतृत्व चयन प्रक्रिया सहमति कि सर्वसम्मत भन्ने टुङ्गो लागिनसकेको नेताहरूले बताएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी नौ जनाको पदाधिकारीसहित १५१ जनाको केन्द्रीय कमिटी निर्माण गरिने छ । महासचिवका लागि निरोज पौडेलसहित राजन थापा, विनय शाह, पर्वत भण्डारी, महर्श चौलागाई र खेम शर्माले आकाङ्क्षा देखाएका छन् । पोखराको सभाहलमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले प्रवेश शुल्क १ हजार तिर्नुपर्नेछ । महाधिवेशन आयोजक कमिटीले पोखरामा खाने व्यवस्था गरे पनि बस्ने व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने सो संगठनले बताएको छ ।
अनेरास्ववियुमा उमेर हदको चर्चा कायमै
कीर्तिपुरमा हुने अनेरास्ववियुको महाधिवेशन तयारी पनि तीव्र बनाएको संगठनका नेताहरूले बताएका छन् ।
उपाध्यक्ष नारायण घर्तीका अनुसार महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेर जिम्मेवारी अनुसार तयारीको काम भइरहेको छ ।
अनेरास्ववियुले प्रतिनिधि छनोटको काम आगामी जेठ १५ देखि २२ भित्र सक्नेगरी आन्तरिक तयारी र छलफल गरिरहेको छ । चाँडै प्रनिनिधि छनोट समितिको बैठक बसेर त्यसको कार्यतालिका सार्वजनिक गर्ने अनेरास्ववियुले जनाएको छ ।
‘महाधिवेशनको तयारीस्वरुप प्रतिनिधि छनोटको विधि, मापदण्डसहित राजनीतिक सांगठानिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ’, उपाध्यक्ष घर्तीले रातोपाटीसँग भने, ‘प्रतिनिधिहरू १५ देखि १७ सयको बिचमा हुने अनुमान गरिएको छ ।’
अनेरास्ववियुमा ३२ वर्षे उमेर हदको प्रसङ्ग समेत बहसमा छ । तर एक पटक खुला रूपमै नेतृत्व चयनका लागि बाटो खोल्ने कि भन्नेमा लगभग अधिकांश नेताहरूबिच सहमति भइसकेको बुझिएको छ ।
अनेरास्ववियुको अध्यक्षका लागि हालका उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी र नरेश रोकायले आकाङ्क्षा निकटस्थहरूमार्फत देखाएका छन् । रोकाया महासचिव हुन् भने अरु चार जना हाल उपाध्यक्ष छन् । नौ पदाधिकारीसहित १५१ जनाको केन्द्रीय कमिटी चयन हुनेछ । यो संगठनमा सकेसम्म सर्वसहमतिमै नेतृत्व चयन गर्नेबारे नेताहरूबिच कुरा भइरहे पनि आकाङ्क्षीहरू बढ्न पुग्दा मतदानमार्फत नै नेतृत्व छनोट हुने सम्भावना बढ्दै गएको बताइएको छ ।
सहमति हुन नसकेमा स्वच्छ प्रतिस्पर्धा विकल्पमा जान सकिने नेताहरूको भनाइ छ । अनेरास्ववियुमा ३२ वर्षे उमेर हदको प्रसङ्ग समेत बहसमा छ । तर एक पटक खुला रूपमै नेतृत्व चयनका लागि बाटो खोल्ने कि भन्नेमा लगभग अधिकांश नेताहरूबिच सहमति भइसकेको बुझिएको छ ।
‘उमेर हदको पनि बहस चलेकै छ, तर एकपटक उमेर हद कायम नगरी खुला गरेर जानुपर्छ र सबैलाई इच्छा–आकाङ्क्षा अनुसार पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने कुरा पनि सँगसँगै आइरहेको छ’, घर्तीले रातोपाटीसँग भने ।
अनेरास्ववियुमा हालका अध्यक्ष समिक बडालले दोहोरिने वा नदोहोरिनेबारे खुलेर भनिसकेका छैनन् । यद्यपि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बडाललाई नै निरन्तरता दिन निर्देशन दिने सम्भावना पनि उत्तिकै रहेको चर्चा अनेरास्ववियुभित्र छ ।
युवा संघ र अनेरास्ववियु दुवै संगठनमा नेतृत्वका आकांक्षीहरूले पार्टी अध्यक्षको ग्रीन सिग्नल कुरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण