बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तान सरकारले पेट्रोलको मूल्य ३० रुपैयाँले बढाउँदा इमरान खानले किन गरे भारतको प्रशंसा

शुक्रबार, १३ जेठ २०७९, १७ : ०२
शुक्रबार, १३ जेठ २०७९

पाकिस्तानका वित्त मन्त्री मिफ्ताह इस्माईलले बिहिबार पत्रकार सम्मेलन आयोजना गरेर पेट्रोलियम पदार्थको मुल्य करिब ३० रुपैयाँ (पाकिस्तानी मुद्रा)ले बढाइएको जानकारी दिए । बढेको मुल्य बिहिबार मध्य रातबाट लागु भएको छ ।

सरकारी निर्णय अनुसार अब पाकिस्तानमा पेट्रोल १८० रुपैयाँ (पाकिस्तान मुद्रा) पर्नेछ भने डिजेलको मूल्य अब १७४ रुपैयाँ, मट्टितेल १५६ रुपैयाँ पर्नेछ ।

आईएमएफ र पाकिस्तान सरकारबीच चलिरहेको वार्ता अघि बढ्न नसकेपछि पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णय गरेको हो । पाकिस्तानले देशको घट्दो विदेशी विनिमय समस्या समाधान गर्न आईएमएफसँग वार्ता गरिरहेको छ ।

आईएमएफले कुनै पनि सरकारलाई ऋण दिनुअघि राज्यका अनावश्यक खर्च कटौती गर्नुपर्ने सर्त राख्ने गर्छ । आईएमएफले सुरुदेखि नै पाकिस्तानी सरकारले पेट्रोलियम पदार्थमा दिइरहेको विशाल अनुदानप्रति पहिलेदेखि प्रश्न उठाईरहेको थियो । पेट्रोलियम पदार्थको अनुदानमा सरकारले अर्बौं डलर खर्च गर्दै आएको छ ।

इमरान खानको सरकारले फेब्रुअरी अन्तिममा पेट्रोल र डिजेलको मुल्य बढ्न रोक लगाउने घोषणा गरेका थिए ।

सरकार धरमराइरहेको समयमा लिइएको उक्त निर्णय खासमा भविष्यमा बन्नसक्ने सरकारलाई अफ्ठ्यारो पार्न लिइएको केहीले आशंका गरेका थिए । नयाँ सरकारले जनतामा असन्तुष्टि बढ्ने डरमा हालसम्म पेट्रोलियम पदार्थको मुल्य बढाएको थिएन ।

इमरान खानद्वारा शेहबाजको आलोचना, भारतको प्रशंसा

पेट्रोल र डिजलको मूल्य एक्कासी बढेपछि पूर्व प्रधानमन्त्री इमरान खानले भने उनको देशको सरकारको आलोचना र भारत सरकारको प्रशंसा गरेका छन् ।

बिहिबार ट्विट गर्दै देशको इतिहासमा एकै पटकमा भएको सबैभन्दा उच्च वृद्धि गराएर वर्तमान सरकारले विदेशी मालिकलाई खुसी बनाएको प्रतिक्रिया दिए ।

खानले शेहबाज शरिफ नेतृत्वको वर्तमान सरकारलाई विदेशीले बनाइदिएको आयातित सरकार भन्ने गर्छन् ।

खानले विगतमा उनको सरकारले रुसबाट ३० प्रतिशत सस्तो तेल किन्ने प्रयास गरेको तर नयाँ सरकराले त्यसलाई अघि नबढाएको आरोप लगाए ।

दोस्रो ट्विटमा इमरानले भारतको प्रशंसा गर्दै लेखेको छन्, ‘अमेरिकाको सामरिक साझेदार हुँदाहुँदै पनि भारतले रुससँग सस्तोमा तेल किनेर तेलको मुल्य २५ भारु कम गर्न सफल भएको छ । ठगहरुको गुटको कारण हाम्रो देश महँगीसँग जुध्नुपर्ने भएको छ ।

पाकिस्तानका वर्तमान उर्जा मन्त्री खर्रम दस्गीर खानले इमरान खानले दाबी गरेजस्तो रुससँग सस्तो दरमा कच्चा तेल किन्न कुनै कुराकानी नभएको बताए ।

विवादबीच इमरान खान सरकारका ऊर्जा मन्त्री हम्माद अजहरले ट्वीटरमा रुसका उर्जा मन्त्रीलाई लेखिएको सरकारी पत्र शेयर गरे ।

त्यसपछि सरकारी पक्षले भने रुसले यो पत्रको कुनै जवाफ नदिएको प्रतिक्रिया दिएको छ । हम्माद अजहरको सरकारी पत्रकार बारेमा बीबीसीले प्रश्न गर्दा पाकिस्तानको उर्जा मन्त्रालयले पूर्व उर्जा मन्त्रीले नै सरकारी पत्र जारी गरेपछि त्यो सही भएको जवाफ दिएको छ ।

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप