बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
बेथिति

कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर

बुधबार, १७ असार २०८३, १४ : १९
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरुले कालो सिसा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ ।
  • गृहमन्त्रीले कालो सिसा प्रयोग नगर्न निर्देशन दिए पनि सत्तारुढ दल रास्वपाका धेरै नेताहरूले कालो सिसासहितको गाडी प्रयोग गरिरहेको पाइएको छ ।
  • कानुन कार्यान्वयनमा रास्वपा र उसका नेताहरूको जिम्मेवारीमाथि प्रश्न उठेको छ ।

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्यले सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार केही दिन पहिला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले चढ्ने सवारी साधनको कालो सिसा हटाइयो । 

कालो सिसा गाडीमा प्रयोग गर्नु गैरकानुनी भएको स्वयम् गृहमन्त्री गुरुङले बताउँदै आएका छन् । यस्तो कार्यलाई निरुत्साहित गर्न आफूले प्रयोग गर्ने गाडीको कालो सिसा समेत हटाउन उनले निर्देशन दिएका थिए ।  तर सत्तारुढ दल रास्वपाकै धेरै नेताहरूले कालो सिसासहितको गाडी प्रयोग गरिरहेको पाइएको छ । 

बुधबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा पदाधिकारी, केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरुका धेरै गाडीमा कालो सिसा कायम रहेको देखियो । यस्तो दृश्यले रास्वपा र त्यसका नेताहरू कानुन कार्यान्वयनमा कति जिम्मेवार छन् भन्नेमा प्रश्न समेत उठेको छ । 

विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति तथा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ बमोजिमका सर्त पालना गरी नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

 यही कानुनी व्यवस्थालाई टेकेर ट्राफिक प्रहरीले गाडीको कालो सिसा हटाउने अभियान नै चलाएको छ । उसो त प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कालो सिसा हटाउन सवैतिर सर्कुलर पनि भैसकेको छ । तर सर्कुलरविपरीत सत्तारूढ रास्वपाकै नेताहरू भने कानुन विपरीत कालो सिसावाला गाडीमा हुँइकिरहेको देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप