आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘म निर्दोष छु, सबै छानबिनका लागि तयार छु’

‘यो सत्यलाई कसैले झुटो साबित गर्न सक्दैन’
बुधबार, २२ असार २०७९, १८ : ४३
बुधबार, २२ असार २०७९

संसद् विघटन भयो, एक पटक होइन दुई/दुई पटक । लोकतन्त्रको बहाली भयो, संसद् सुचारु गर्ने प्रक्रिया अघि बढ्यो । यो क्रममा धेरै उतारचढावहरू हामीले भोग्यौँ । राष्ट्रप्रति गम्भीर खालका एजेन्डाहरूमा बहस भए । एसपीपी सम्झौताका विषयमा बहस र छलफल भए । ती एजेन्डाहरू अहिले पनि जिउँदै छन् । 

सभामुखले संसदीय छानबिन समिति बनाउनुभएको छ, त्यसको स्वागत गर्दछु । धन्यवाद दिन चाहन्छु । तर एउटा कुरा भन्न चाहन्छु, हिजो वाम गठबन्धन र एकताको साक्षीको रूपमा सदस्य थिए । संयोग वा परिस्थितिले भनौँ, आज म पाँच दलीय गठबन्धनको अर्थ मन्त्री छु । 

अर्थ मन्त्रीको हैसियतले बोल्दै गर्दा धेरै विषयहरू छन् । मेरो विषयमा उठेका विषयमा कसरी जवाफ दिने भन्ने त्यो मेरो दायित्व हो । विगतका धेरै विषयहरू कोट्याउन चाहन्न । मैले संसद्मा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाए ? न मैले सङ्कट परेका जनतामाथि कोरोनाकालमा बदमासी गरेँ । न मैले करको दर हेरफेर गर्नु पूर्व कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिएँ वा सूचना दिएँ ? न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ । के कारणले म अनैतिक भए ? 

आज मेरो बारेमा प्रश्न उठिराखेको छ । जे देखियो एउटा पूर्वाग्रहको पराकाष्ठा भयो । सहमतिमा छानबिन समिति बन्यो । छानबिन समिति बारेमा भर्खरै माननीय सदस्यले बोल्नुभएको कुरामा आदेश जारी गर्नुभयो । आफ्नो फरमान जारी गर्नुभयो । उहाँले एउटा सैनिक नेतृत्वले जस्तै दोषी करार गरेर जानुभयो । के यहीँ हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । 

म यो संसद्को रोष्टमबाट आम नागरिक समाजसेवी, बुद्धिजीवी र युवाहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु, विषयहरू कसरी आए ? कसरी आएर आमजनतामा भ्रमहरू सृजना गर्ने प्रयत्न गरियो ? यहाँहरूले उठाएका विषयहरूमा सम्मान गर्दछु । उहाँहरूले मागेको राजीनामालाई सम्मान गर्दछु । तर सँगसँगै अनुरोध गर्न चाहन्छु । म हार्दिकता र विनम्रतापूर्वक अनुरोध गर्दछु । सच्चाइको गहिराइमा पुग्नै पर्छ, तथ्यको गहिराइमा पुग्नै पर्छ । यो राजनीतिक प्रतिशोधको भित्रबाट उठेका मुद्दाहरूमा सच्चाइमा पुगिएन भने कतै फेरि कसैलाई अन्याय हुन्छ कि भन्ने बारेमा सोच्न आग्रह गर्दछु ।

धेरै घटनाहरू छन् । सबै घटनाहरूमा जान चाहन्न । कुनै बेला उपयुक्त समयमा सबै तथ्यहरू सबै प्रस्तुत गरौँला । आज मेरो विषयमा भन्न चाहन्छु । जुन छानबिन समिति बनेको छ त्यसले छानबिन गरोस् ।  मैले बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र विधि पद्धतिका आधारमा तोकिएका आधिकारिक व्यक्तिहरुमार्फत् बजेट निर्माण भएको छु, यो सच्चाइलाई कसैले पनि अर्को झुटो साबित गर्न सक्दैन । करको दर हेरफेर गर्ने सन्दर्भमा अर्थ मन्त्रालयका दुई सचिव र दुई डिजीहरुलाई नीतिगत निर्देशन गरेको छु । 

यो देशको अर्थतन्त्रलाई हेरेर उत्पादन वृद्धिलाई आज हाम्रो विदेशी मुद्राको सञ्चितिलाई कायम गर्ने स्थितिलाई कसरी डलरको सञ्चिति गर्न सकिन्छ ? कसरी हामीले उत्पादन वृद्धि गर्न सक्छौँ । औद्योगिक उत्पादनलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? भनेर कच्चा पदार्थहरूको कर नबढाउने र जनताले उपभोग नगरे पनि हुने नेपालमै उत्पादन हुने वस्तुमा कर बढाउने गरेको छ । महँगो मूल्य पर्ने साधनहरूलाई केही कर बढाएर आमजनतालाई केही कम डलरहरू खर्च गरेर आउने साधनहरूमा यथावत् राख्ने नीति  लिएकोमा स्पष्ट पार्न चाहन्छु । यो नीतिले औद्योगिक क्षेत्रको विकास निर्यात प्रवर्द्धन गरेर लक्ष्य तोकेर प्रष्ट गरिएको छ । त्यो लक्ष्य अनुसार देशको अर्थतन्त्रलाई सबलीकरण गर्न महत्त्वपूर्ण योगदान गर्ने पूर्ण विश्वास लिएको छु  । सरकारले ल्याएको नीति तथा कार्यक्रमको निर्देशनमा रहेर मैले बजेट ल्याएको स्पष्ट पार्न चाहन्छु । 

मैले चिन्ने मेरा सचिवहरूलाई हो । मेरो  डिजीहरुलाई हो । मेरा आधिकारिक व्यक्तिहरू उहाँहरू हो मैले उहाँलाई निर्देशन गरेको छु । मेरो निर्देशनपछि उहाँहरूले रातभर काम गर्नु भएको छ । म बजेटको अघिल्लो दिन साढे ११ बजे सिंहदरबारबाट पुलचोक मन्त्री निवास पुगेर सुतेको छु । त्यसको भोलिपल्ट बिहान ६ बजे मन्त्रालयमा पुगेको छु । म मन्त्रालयमा पुग्दा सचिव सोफामा पल्टिरहेको, डिजीहरु काम गरेर टुङ्ग्याउने अवस्थामा भएको, उहाँका सहयोगीहरू काम गरी रहेको अवस्था हुनुहुन्थ्यो । यी कुरालाई जसरी कथा बनाएर आमजनतालाई भ्रमित बनाउन खोजिएको छ ।

हिजो र  अस्ति अर्को समाचार आयो । सभामुख महोदय कुन सीसीटिभीको कति क्षमता हुन्छ ? कसरी थाहा पाउँछु ? कति वर्ष पहिले राखेको सीसीटिभी मलाई कसरी जानकारी हुन्छ ? यो शिक्षाबाट सबै मन्त्रीहरूले ख्याल गर्ने अवस्था बन्छ होला ? कुन मन्त्रीले सीसीटिभीको कति क्षमता हुन्छ भनेर जानकारी लिन्छ ? यहाँ संसद्मा भएको सीसीटिभीका विषयमा सबै माननीयहरूलाई के जानकारी छ ? यो प्राविधिक व्यक्तिले जान्ने होला । त्यसलाई डिलिट गर्‍यो भनेर आमजनतालाई भ्रमित गर्ने जुन प्रयत्न भएको छ त्यसलाई खारेज गर्न चाहन्छु । सत्य तथ्य त्यहीँ छ । प्राविधिक रूपमा हेर्ने मान्छेहरूले हेर्न सक्छन् । त्यसको जवाफदेहिता कसरी लिन सक्छु ? मलाई कुनै विषय डिलिट गर्नु पनि छैन । मलाई त्यस बारेमा ज्ञान पनि छैन । 

विगतमा अर्बौँ तस्करीका लागि खोलिएका लाखौँ डलर कमाउन खोलिएका सुपारीहरू बन्द भएका छन् । अब सुपारी तस्करी हुन सक्दैन । केराउ र मरीचहरूको तस्करी थियो, त्यो बन्द हुने गरी करको दर बढाएको छु । के तस्करी घटाउनु अनैतिकता हो ? तस्करी गराउने मालहरू बन्द गरिएको छ । इतिहास साक्षी छ, विगतमा सुपारी कसरी तस्करी हुने गरेका छन् । 

बिजुली गाडीको कर बढायो भन्ने छ । डलरको सञ्चित गर्न महँगो पर्ने गाडीमा थोरै प्रतिशत बढाइयो । त्यो पेट्रोलियम गाडीको भन्दा एक तिहाइ कम छ । पेट्रोलियमको चार तिहाइ छ भने विद्युतीय गाडीको एक तिहाइ छ । एक सय किलोवाट भन्दा माथिको कर बढाएको साँचो हो । हाम्रो डलरको सञ्चितिलाई कसरी कायम राख्ने उद्देश्य लिएर गरिएको हो । महँगो सामान देशमा कम आउँछ भनेर निर्णय गरिएको स्पष्ट पार्न चाहन्छु ।

सेनेटरी प्याडको कुरा उठिराखेको छ । रातो कर माफ गर भनेर माइतीघरमा आन्दोलन भयो । त्यतिबेलाको सरकारले दमन पनि गरेको थियो । महिलाको माग र विषयलाई सम्बोधन गरिएको छ । तर देशभित्रका उद्योगहरूलाई संरक्षण गर्ने नीति बारम्बार भनिसकेको कुरा स्पष्ट पार्न चाहन्छु । अन्य भ्यालु एड गर्ने किसिमले कच्चा पदार्थलाई छुट गर्दै आएको नेपालमा नहुने अवस्थामा सरोकारवालासँग छलफल गरेर समावेश गरिएको छ । बजेटले करका दर हेरफेर गर्दा कहाँ सूचना चुहियो ? कुन व्यापारीले फाइदा लियो ? छानबिन गरोस् पत्ता लगाओस् । कुन विशेष घरानालाई इङ्गित गरियो ? मात्र उत्पादनलाई ध्यान दिइयो । देशको औद्योगीकरणलाई प्राथमिकता दिइयो । अहिलेको नीति तथा कार्यक्रम र बजेटबाट आम किसानहरूलाई उत्साहित बनाएको छ । औद्योगिक क्षेत्रलाई प्राथमिकता दिने कुरा गरिएको छ । दलित, गरिब, महिला, उत्पीडित वर्ग सबैलाई राज्यबाट विशेष खालको अभियान चलाएर गरिबीको अन्त्य गर्ने विषय उठाएको छ । दलितहरूलाई आर्थिक रूपमा समृद्ध गर्ने बजेट प्रस्तुत गरिएको छ । 

के त्यो अनैतिक भयो ? के त्यो राष्ट्रघात हो ? के त्यो राष्ट्रिय अपराध हो ? यदि हो भने त्यसको जिम्मा लिन तयार छु । आयात प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि गर्ने, त्यसमार्फत् कृषि र औद्योगीकरण गरेर गरिबी अन्त्य गर्ने नीति अघि सारिएको छ । यी सबै देशको अर्थतन्त्र सबलीकरण गर्न आवश्यक कुरा हुन् । म दाबीका साथ भन्न सक्छु यो बजेटको कार्यान्वयनले अयातलाई प्रतिस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । निर्यात वृद्धिको नयाँ बाटो खोल्ने छ । यसले हाम्रो देशको आत्मनिर्भरतिर लैजाने कुरा पक्का पक्की छ । यसका लागि सिङ्गो राज्य संयन्त्र र नागरिकलाई समेटेर लैजानु पर्ने छ । 

औद्योगिक उत्पादन गरेर निर्यात गर्नेलाई विद्युत्मा छुट दिएको छ । त्यो निर्णयले उद्योगहरू उत्साहित छन् । उद्योगहरू स्थापना हुने क्रम बढेका छन् । यसले उद्योगको क्षेत्रमा ठुलो परिवर्तन आउने छ । आम नागरिक प्रहरी निजामती शिक्षक सबैलाई उत्साहित गरेको छ । के सबै क्षेत्रका पेस व्यवसाय भएकालाई उत्साहित गर्ने बजेट ल्याउन पाइँदैन ? के सबैलाई सम्बोधन गर्ने खालको बजेट ल्याउन पाइँदैन ? 

यदि पाइन्छ भने यो सरकारले त्यही गरेको हो । म धेरै लामो कुरा राख्न चाहन्न । म एउटा राजनीतिक व्यक्ति हुँ । म यो देशको परिवर्तनको आन्दोलन जनयुद्ध, जनआन्दोलन, संविधान निर्माणका आन्दोलनमा जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनमा अग्रज नेताहरूसँग काँधमा काँध मिलाएर काम गरेको छु । आफ्नो प्रतिबद्धताबाट डगेको छैन, झुकेको छैन । बजेट निर्माणको सन्दर्भमा मेरो मूल्य मान्यता नैतिकता मेरो राष्ट्रप्रतिको जनताप्रतिको कतैपनि डगमगिन दिएको छैन र दिँदैन । भोलि पनि दिन्नँ । म एउटा छानबिन मात्रै होइन, हजार छानबिनका लागि तयार छु । छानबिन गरियोस् । एउटा संसदीय छानबिन मात्रै होइन । सबै छानबिनका लागि तयार छु । 

एउटा राजनीतिक व्यक्ति भएको नाताले हिजो यस्ता विषय र प्रचलनहरू नउठेका होइनन् । छानबिन समिति नबनेको होइन । छानबिन समिति बनेका विभिन्न अनुभवहरू छन् । आफूले गल्ती नगरेको, राष्ट्रको पक्षमा, देशको पक्षमा काम गरेको हुँदाहुँदै पनि यो भ्रम सिर्जना गरिरहेको छ । त्यसलाई सत्य तथ्यले स्पष्ट गर्ने छ भन्ने कुरा राख्न चाहन्छु । देश, जनता र राष्ट्रको पक्षमा उभिएर निरन्तर अगाडि बढिरहेको एउटा व्यक्तिमाथि अनावश्यक झुटा लाञ्छानाहरु आरोपहरू लगाइएको छ । त्यसलाई आफ्नो तर्फबाट अस्वीकार गर्दछु, खारेज गर्दछु । छानबिन समितिले गर्ने काममा मेरो पूर्ण सहयोग हुनेछ । छानबिन समितिलाई सहयोग गर्ने छु । यस्ता छानबिन समिति बन्दा मन्त्रीहरू कायम भएरै छानबिन भएका तथ्यहरू पनि छन् । 

आज सरकार सभामुखको पहलमा जुन समिति बनेको छ । यसलाई स्वागत गर्दछु धन्यवाद दिन चाहन्छु । यो छानबिनका लागि मैले मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु । छानबिन समितिले ल्याएको तथ्य तथ्यका अगाडि म उपस्थित भएर फेरि आफ्नो अभियान र कामलाई अगाडि बढाउने छु । धन्यवाद दिन चाहन्छु, मेरो राजीनामा माग्ने नागरिक समाजलाई र युवापंक्तिलाई मैले गल्ती गरेको छैन । मैले तपाईंको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । तथ्यमा गई दिनुहोला । 

धन्यवाद नमस्कार । 

(निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा गरेको सम्बोधनको सम्पादित उतार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप