आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सानेपामा शेखरमाथि प्रश्न : केपी ओलीसँग मिल्ने कुरा के हो ?

गगन र विश्वमाथि प्रश्नको वर्षा
बुधबार, २९ असार २०७९, २१ : १३
बुधबार, २९ असार २०७९

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइरालासँग जवाफ माग गरिएको छ । बुधबारको बैठकमा संस्थापन पक्ष निकट केन्द्रीय सदस्य मोहमद अब्दुल सत्तारले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर चुनाव लड्नेबारे आएका समाचारबारे कोइरालासँग जवाफ माग गरेका हुन् । 

‘शेखर कोइरालाले गुटको भेला गरेर  केपी ओलीसँग मिल्ने भन्ने समाचार आएको छ । यसको कुनै खण्डन आएको छैन,’ बैठकमा सत्तारले भने, ‘यसको आधिकारिकता के हो ? यसको जवाफ चाहियो । उहाँले (शेखर कोइराला) यसबारे केन्द्रीय समिति बैठकमा जवाफ दिनुपर्छ ।’ 

शेखर कोइराला समूहले असार १९ र २० गते काठमाडौंको अनुपम फुडल्याण्डमा भेला गरेको थियो । त्यसपछि उनी पक्षीय नेताहरुले गठबन्धनको बलमा पार्टीमा आफूहरुलाई पेलेर जान खोजे विद्रोह गर्न अभिव्यक्ति दिएका थिए ।

केही मिडियामा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कोइराला समूहले केपी ओली नेतृत्वको एमालेसँग मिलेर जाने तयारीमा रहेको समाचार आएको थियो । यसबारे कोइरालाको सचिवालय कुनै खण्डन नगरेपछि सत्तारले केन्द्रीय समिति बैठकमै जवाफ मागेका हुन् । 

संस्थापन पक्षका केन्द्रीय सदस्यले पार्टी प्यालेसमा गुटको बैठक गरेको भन्दै  कोइरालाप्रति प्रश्न उठाएका थिए । मंगलबारको बैठकमा पनि केन्द्रीय सदस्य जीतजंग बस्नेत, रामहरि खतिवडा, महेन्द्र लिम्बु लगायत शेखर कोइरालाको प्रतिवादमा उत्रिएका थिए । आज पनि संस्थापन पक्षमा नेताहरुले कोइराला र महामन्त्रीद्वयमाथि प्रश्न उठाए ।

गगन विश्वमाथि प्रश्नको वर्षा

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि आलोचना भएको छ। केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री सामाजिक सञ्जालमा रमाएको आरोप लगाए।

‘दुवै महामन्त्री मिडिया केन्द्रित हुनुभयो। टुइट सुइट गर्ने, अतिवादी गर्ने, सानो भेलामा गर्ने काम भए । यो राम्रो भएन । अतिवादमा जानुभएन ,’ उनले भने। यस्तै केन्द्रीय सदस्यले केशव बुढाथोकीले महामन्त्रीलाई बहिस्कार गर्ने दिन नआओस् भन्दै चेतावनी दिए । 

उनले भने, ‘शेखर कोइरालाई पार्टी अफिसमै कोठा दियौँ । बाहिर भेला नगरौं । तपाई महामन्त्रीले यसरी भेला गर्नुभयो भने । भोलि तपाईहरु जिल्लामा आउँदा बहिस्कार गर्छौं ।’ महामन्त्री गगन थापाप्रति लक्षित गर्दै गुटको भेलामा गए बहिस्कार गर्ने बताए ।

‘महामन्त्री गुटको महामन्त्री हुनुभएन । हिजो जित्दा कहीँबाट आउनुभयो होला । अब तपाईहरु गुटको भेलामा बस्नुभयो भने बहिस्कार गर्छौं ।’ यस्तै उनले महामन्त्री विश्वप्रकाश शर्मामाथि पनि प्रश्न उठाएका थिए । स्थानीय निर्वाचनमा महामन्त्री शर्माले हस्तक्षेप गर्दा पार्टीका उम्मेदवार पराजित भएको उनको भनाइ थियो ।

झापा निवासी बुढाथोकीले भने, ‘महामन्त्री (विश्वप्रकाश शर्मा)बाट झापाको मेचीनगर नगरपालिकामा टिकट खोस्ने काम भयो । त्यहाँ पार्टीका उम्मेदवार हार्नुभयो । पहिला पार्टी मिलाउनुपर्यो ।’ शर्मा आफ्नो लागि हिरो भएको भन्दै पहिले झापामा पार्टीलाई मिलाउनुपर्ने उनको भनाइ थियो । यस्तै केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्रीद्वय असार सातमा निर्वाचन आयोगमा गएको विषयमाथि प्रश्न उठाएका थिए।

‘उहाँहरू निर्वाचन आयोग किन जानुभयो, कसको निर्णयमा जानुभयो ? पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोली अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ ?’ ढुंगानाले प्रश्न उठाए।  

महामन्त्रीद्वय थापा र शर्मा असार सातमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका थिए।      देउवाले होटलमा गुट भेला गरेको भन्दै नेता डा.शेखर कोइरालाप्रति  आपत्ति जनाए।  ‘बैठक गर्न किन बाहिर जाने ? यहीँ पार्टी कार्यालयमा कोठा दिन्छु,’ देउवाले भने।

केन्द्रीय सदस्य केशव बुढाथोकीले बाहिर भेला गरेको भन्दै शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको कार्यशैलीप्रति आपत्ति जनाए ।  ‘बाहिर भेला हैन। यहीँ कोठा दिऔँ। गुटको भेलामा महामन्त्री जानुभयो भने हामी तपाईँहरू आउँदा बहिष्कार गर्छौँ’, उनले भने।

 गठबन्धनको पक्षमा बलियो स्वर 
बुधबार ३८ जना केन्द्रीय केन्द्रीय सदस्यले बैठक आफ्नो धारणा राख्दा गठबन्धनको पक्षमा उभ्याएको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘अधिकांश साथीहरुले गठबन्धन गरेर जानुपर्ने मत राख्नु भएको छ ।’ सोमबार बोलेका केही नेताले गठबन्धनको विपक्षमा मत राखेपनि मंगलबार र बुधबारको बैठकले गठबन्धनको पक्षमा काँग्रेस उभिने प्रस्ट संकेत देखाइसकेको छ । आजको बैठकमा नेता प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गोविन्द भट्टराई लगायतले गठबन्धनको पक्षमा मत राखेका थिए ।

कोइराला पक्षका नेताहरु रामशरण महत, दिलेन्द्र बडू, सरिता प्रसाई, सञ्जय गौतमले काँग्रेस कमजोर भएको ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने मत राखेका थिए । गौतमले गठबन्धनको विरोध गरेपछि सभापति शेरबहादुर देउवाले एक्लै चुनाव जितेर आउन चुनौती दिएका थिए। चुनाव जित्न गठबन्धन खोज्ने कुराले नै गठबन्धनको विरोध गरेको देउवाको भनाइ थियो । 

देउवाले भने, ‘बर्दियामा कसरी चुनाव जितेको भन्ने सबैलाई थाहा छ त एक्लै चुनाव जितेर आउनु त ल।’  गौतमले भने, ‘पार्टीको संगठन केन्द्रीय नेतृत्वकै कारण ध्वस्त भइरहेको छ। हामीले संगठन जसोतसो बचाइ रहेकै छौँ र जितेका हौँ।’

बिहीबार मन्त्रीले जवाफ दिने 
काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले बिहीबारको केन्द्रीय समिति बैठकमा जवाफ दिने भएका छन् । केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेता रामहरि खतिवडाले बताए ।

भोलि बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर बैठक समापन गर्ने काँग्रेसको तयारी छ । सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप