बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनामा अमेरिकीको पाँचौं नेपाल भ्रमण, चीनको ‘काउन्टर भिजिट’

बिहीबार, १२ साउन २०७९, २१ : ०७
बिहीबार, १२ साउन २०७९

अमेरिका र चिनियाँ नेताहरूबाट लगालग भइरहेको नेपाल भ्रमणले कुटनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेको छ । २०७९ सालमा अमेरिकी र चिनियाँ उच्च पदस्थहरुको नेपाल भ्रमणले तीव्रता पाएको छ ।

पछिल्लो समय नेपाल भ्रमणमा अमेरिका र चीनबीच प्रतिस्पर्धा जस्तै छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेपछि नेपालमा अमेरिकी चासो बढेको देखिन्छ । पछिल्लो समय अमेरिकाबाट लगातार नेपाल भ्रमण भइरहेको छ ।

अमेरिकाबाट चार महिनामा पाँच भ्रमण

बिहीबार (०७९ साउन १२) देखि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणमा छन् । उनी तीन सदस्यीय टोलीसहित आज काठमाडौंमा ओर्लिएका हुन् ।

लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ०७८ मंसिर १ मा पनि उनी नेपाल भ्रमणमा आएका थिए ।

त्यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन उनले दबाब दिएको चर्चा भएको थियो । एमसीसी पास भएर एसपीपी अगाडि नबढाउने निर्णय भएपछि डोनाल्ड लुको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर लुअघि पनि अमेरिकाबाट ४ महिना यता अन्य उच्चपदस्थहरुले पनि भ्रमण गरिसकेका छन् । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन ०७९ जेठ २६ मा चार दिने औपचारिक भ्रमणमा नेपाल आएका थिए । त्यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले ०७९ जेठ ६ देखि ८ सम्म नेपालको भ्रमण गरेकी थिइन् । उनी तिब्बती शरणार्थी शिविरमा समेत पुगेपछि भ्रमणको उद्देश्यमाथि प्रश्न उठेको थियो ।

यता ०७९ वैशाख ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको थियो । यस्तै ०७९ वैशाख ६ मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केली केइडरलिङ तीनदिने भ्रमणका लागि नेपाल आएकी थिइन् ।

चीनबाट काउन्टर भिजिट

देउवा नेतृत्वको सरकार बनेपछि चीनबाट पनि उच्चस्तरीय भ्रमण भइरहेको छ । २०७८ चैत ११–१३ मा चीनका विदेशमन्त्री वाङ यीको औपचारिक नेपाल भ्रमण भएको थियो ।

यस्तै ०७९ असार २६–२९ मा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको भ्रमण भएको थियो । विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले नेपाल आउनुअघि काँग्रेस, एमाले र माओवादीका नेतासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

लिउको नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । लिउले असार १६ मा परराष्ट्रमन्त्री नारायण खड्कासँग द्विपक्षीय भर्चुअल संवाद गरेका थिए ।

२०७६ को असोजको पहिलो साता सीपीसी विदेश विभागका तत्कालीन प्रमुख सोङ ताओ नेपाल भ्रमणमा आएका थिए । उनको सहभागितामा असोज ६–७ मा सी चिनफिङ विचारधारामाथि सीपीसी र तत्कालीन नेकपाबीच काठमाडौंमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

यस्तै २०७६ असोज २५–२६ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमण चीनबाट त्यस स्तरमा २३ वर्षपछि भएको नेपाल यात्रा थियो । २०७७ मंसिर १४ मा चीनका रक्षा मन्त्री वेई फेङहे एक दिने नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

यस्तै २०७७ पुसको दोस्रो साता सीपीसी विदेश विभागका तत्कालीन उपप्रमुख कुओ येचौले नेपाल भ्रमण गरेका थिए । उनी नेतृत्वको चार सदस्यीय विशेष टोलीले तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको थियो ।

‘भ्रमणबारे जिज्ञासा जाग्नु स्वाभाविक देखिन्छ’

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले अमेरिका र चीनबाट भ्रमणको आदान प्रदान परम्परा भएको भन्दै यो चलिरहने बताए ।

‘अमेरिका र चीनबाट भ्रमणको आदान प्रदान हाम्रो परम्परा पनि हो, चलिरहन्छ । चीन हाम्रो छिमेकी हो भने अमेरिकासँग हाम्रो कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाठ हो,’ उनले रातोपाटीलाई भने, ‘वर्षगाठ भएकाले पनि यो भ्रमण चलिरहेका छन् दुवैतिर । हाम्रोबाट पनि छ । उताबाट पनि भइरहेको छ ।’  

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणलाई अन्यथा मान्नु पर्ने कारण नभएको भन्दै उनले भ्रमणको पृष्ठभूमि हेर्दा सबैको जिज्ञासा जाग्नु स्वाभाविक भएको बताए ।

‘जहाँसम्म अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुजीको भ्रमणको कुरा छ । अमेरिकाबाट आयो भन्दैमा धेरै अर्थ लगाउन वा अन्यथा मान्नु पर्ने कारण म देख्दिनँ,’ उनी भन्छन्, ‘तर समय र सन्दर्भ हेर्दा सबै कुराको पृष्ठभूमि हेर्नुपर्छ । त्यो हेर्दा सबैको जिज्ञासा जाग्नु स्वाभाविक हो भन्ने लाग्छ ।’

अहिलेको भूराजनीति केन्द्रमा अमेरिका र चीनबीच प्रतिस्पर्धा रहेको भन्दै काउन्टर भ्रमणहरुलाई त्यसैको भाग मान्न सकिने उनको भनाइ छ ।

‘अमेरिका नम्बर एक महाशक्ति राष्ट्र छ । चीन अमेरिकालाई भेट्टाउने रेसमा छ । नेपालमा उनीहरुको भ्रमणले तीव्रता पाउनु त्यसैको भाग पनि मान्न सकिन्छ,’ भट्टराई भन्छन् ।

उनका अनुसार अमेरिकी विदेशमन्त्रीले चीनलाई २१ औं शताब्दीको भूराजनीतिक परीक्षा नै हो भनेका छन् । उनले भने, ‘हामी चीनसँग जोडिएको मुलुक पर्यौं । त्यसमा पनि तिब्बतसँग जोडिएको मुलुक पर्यौं । चीनले तिब्बतलाई सफ्ट स्पट मान्छ । तिब्बतलाई आफ्नो कोर कन्सर्ट भन्छ उनीहरुले । त्यसैले यहाँ अमेरिका र चीनको चासो बढेको हो किजस्तो मलाई लागेको छ ।’

चीनविरुद्ध नेपालबाट कुनै किसिमका गतिविधि हुन दिँदैनौँ भनेर सरकारले आश्वस्त पारेको पनि उनको भनाइ छ । नेपाल भूराजनीतिक समवेदनशील लोकेशनमा रहेको र अमेरिका र चीनले यो कुरा बुझिदिनुपर्ने उनले बताए ।

उनी भन्छन्, ‘नेपालको संवेदनशीलता बुझिदिएर अमेरिका र चीनबीचको प्रतिस्पर्धा नेपालमा नल्याइदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ हुनुपर्छ ।’

भट्टराईका अनुसार इन्डोप्यासिफिक रिजनमा केही गतिविधि अमेरिकाले गर्यो भन्ने चीनले आफू लक्षित हो भन्ने ठान्छ । ‘पेरिफेरल डिप्लोमेसी’मा चीनले विकास, सुरक्षा र कुटनीति गरी तीन वटा कुरालाई राखेको उनको भनाइ छ । ‘चीनले आफ्नो प्रतिस्पर्धी नजिकै आउन नपाओस् र छिमेकीबाट हाम्रो सुरक्षाका विरुद्ध कुनै गतिविधि नहुन् भन्ने चाहन्छ,’ भट्टराईले भने ।

अमेरिकाले पनि नेपाललाई चासोका साथ हेर्ने गरेको उनले बताए । ‘त्यहाँ (नेपाल)मा के भइरहेको होला भनेर चासोका साथ हेरिरहेको हुन्छ । एमसीसीका विषयमा भएको भनाभनले यसलाई सतहमा ल्याएको छ ।’

नेपालका लागि अमेरिकी राजदूतले चीनलाई भड्काउने खालको अभिव्यक्ति दिएर गल्ती गरेको पनि उनले बताए । ‘चीनले डिस इफर्मेशन क्याम्पेन चलाउँदा पनि नेपालले एमसीसी पास ग¥यो भनेर नभनेको भए हुन्थ्यो,’ उनी भन्छन्, ‘यसरी भनेर हाम्रो छिमेकी चीनलाई भड्काउने काम गर्नुहुँदैन । हामीलाई पहिला भारत र चीन चाहिन्छ । त्यसपछि हामीलाई अमेरिका पनि चाहिन्छ ।’

अमेरिकी दूतावास भन्छ– लूको भ्रमण नियमित

नेपालस्थित अमेरिकी दूतावासले लुको दुई दिने नेपाल भ्रमण नियमित भएको जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौं आइ पुग्नुअघि दूतावासले एक विज्ञप्ति जारी गर्दै भ्रमण नियमित भएको जानकारी गराएको हो ।

‘काठमाडौँमा सहायक विदेश मन्त्री लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स (एसीई) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ । भ्रमणका क्रममा सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारको नेतृत्वसँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप