ad
x

बालकथा : यसरी भ्यागुताको अकालमा ज्यान गयो

person explore access_timeसाउन १३, २०७९ chat_bubble_outline0

आफ्नो जीवन आफ्नै हो भने जिउने तरिका पनि आफ्नै किसिमको हुनुपर्छ । आफ्नो स्थान र अवस्थालाई विकास गर्ने प्रयास त गर्नुपर्छ तर आफ्नैपनको विकास राम्रो हुन्छ । नसक्ने भारी बोक्न खोज्दा वा अर्काको नक्कल गर्न खोज्दा विकासको सट्टा विनाशको थिति निम्तिन सक्छ । जसको गरे पनि नक्कल नक्कल नै हो । यसले अरू जस्तो देखाउन त सक्ला तर आफूलाई वा आफ्नोपनलाई भने मेटाइदिन्छ, खाइदिन्छ, लुकाइदिन्छ ।


धेरै पहिले । एउटा गाउँ नजिक पानीको सानो कुवा थियो, जहाँ स–साना तीनवटा बच्चालाई लिएर एउटा भ्यागुतो बस्थ्यो । आमा सानैमा बितेकाले उसैले बच्चाहरूको देखभाल गर्दै आएको थियो । ऊ जति अहङ्कारी थियो गफाडी त्यत्तिकै । उसमा आफूभन्दा ठूलो, बलियो, जान्नेसुन्ने र बुद्धिमान अरू कोही छैन भन्ने घमण्ड थियो । ऊ आफू यस्तो छु र त्यस्तो छु भनेर बच्चाहरूलाई सुनाउँथ्यो । बच्चाहरू त्यसैमा विश्वास गर्थे र आफ्नै बाबु नै ठूला र बलिया हुन् भन्ने ठान्थे । 



एकदिन उसले बच्चाहरूलाई बोलाएर भन्यो–

‘बाबुनानी हो ! तिमीहरूलाई आमाले सानैमा छाडेर गई । बाबु भने पनि आमा भने पनि म एउटै हुँ । चाहे अनुसारको खान, लाउन दिन पनि सकेको छैन । एकै स्थानमा बस्दाबस्दा दिक्क लागेको पनि होला । त्यस्तै हो भने यसो बाहिरफेर घुम्न जान सक्छौ है ।’

‘हुन त हो !’ उनीहरूले अनकनाउँदै भने–

‘तर जाने पो कहाँ ? चिनजान कतै छैन । नयाँ ठाउँमा कसैले केही भन्ने हुन् कि । हप्काउने, दप्काउने पो हुन् । झन् कुटपिट नै गर्न थाले भने त ज्यान बचाउनै गाह्रो पर्ला ।’

‘हरे ! म छदैछु नि किन डराको ।’ बाबुले ढाढस दिँदै भन्यो–

‘मेरो अगाडि कसको त्यस्तो हिम्मत ? कसैले त्यस्तो गरे भने तुरुन्तै आएर भनन । के गर्नुपर्छ मैले जानेको छु । कसैले केही भन्यो भने मेरो नाम लिनु वा मलाई बोलाउनु डरले कता विपत्ता हुन्छन् पत्तै हुँदैन ।’

त्यसपछि उनीहरू ढुक्क भएर चौरतिर घुम्न निस्के । घुम्दै जाँदा केही पर एउटा मत्ता हात्ती घुमिरहेको देखे । उनीहरूले यति ठूलो जीव जीवनमा पहिलो पटक देखेका थिए । आफ्नै बाबुलाई संसारका ठूलो र बलियो ठान्दै आएका विचराहरूले यहाँ त बाबुभन्दा सयौँ गुणा ठूलो जीव देखेका थिए । हात्तीलाई देख्नासाथ उनीहरूलाई अर्कै संसारमा पुगेजस्तो लाग्यो र नजिकै गएर हेर्न थाले तर भइदियो के भने आफ्नो अगाडि भ्यागुताको बच्चा देखेर हात्तीको सुँढले फु गर्‍यो । उसले फु गर्नु के थियो विचरा भ्यागुताका बच्चा तीन हात पर पुगेर पछारिए । त्यसपछि उनीहरू डरले काम्दै कुवातिर लागे ।

आफ्ना नानीहरू हस्याङफस्याङ गर्दै आएको देखेर बाबु चाहिँलाई आश्चर्य लाग्यो र वास्तविकता जान्न खोज्दै भन्यो–

‘बाबुनानी हो ! चाडै फक्र्यौ नि ? बाहिरको संसार राम्रो लागेन ? डराएका जस्ता पनि छौ, कि कसैले केही भन्यो ? त्यसो हो भने भन है अहिले नै गएर ठीक पारिदिन्छु ।’

बाबुको कुरा सुनेर उनीहरूले लामो सास फेर्दै भने–

‘भनेको त कसैले केही होइन तर...।’

‘तर ? के तर ?’

‘यही कि हामीले चौरमा निकै ठूलो जीव देख्यौ ।’

‘हो र ?’

‘हो त नि ।’

‘कति ठूलो ?’

‘कत्रो भन्ने खोइ, निकै ठूलो ।’

‘मभन्दा पनि ठूलो ?’

‘कति हो कति धेरै ठूलो । एकै सासमा हामीलाई हुत्याएर तीन हात पर पुर्‍याइदियो । झण्डै मरिएन । बल्लबल्ल ज्यान बचाएर आयौँ ।’

उसले त आफूभन्दा ठूलो संसारमै छैन भन्ने ठानेको थियो । न ठानोस् पनि किन ? आखिर ऊ पनि कुवाको व्याङ नै थियो । कहिल्यै कुवाबाट बाहिर निस्केको थिएन । उसका निम्ति त्यही सानो कुवा नै संसार थियो । त्यसैले उसलाई बच्चाहरूका कुरामा विश्वास लागेन र मुख बङ्ग्याउँदै भन्योे–

‘त्यस्तो कसरी हुन्छ ?’

‘कसरी हुन्छ होइन पिताजी भयो ।’

‘भ्रम भएको पनि त हुन सक्छ ।’

‘होइन, यथार्थ नै  हो ।’

‘आफ्नै आँखाले देखेका हौ त ?’

‘देखेको मात्र होइन पिताजी, भोगेका पनि हौँ ।’

अझै उसलाई विश्वास लागेन र पेट फुलाउँदै भन्यो–

‘के त्यो जीव यत्रो थियो ?’

‘होइन !’ उनीहरूले सिधै नकार्दै भने–

‘त्यो भन्दा पनि ठूलो थियो ।’

उसले थप पेट फुलाउँदै भन्यो–

‘त्यसो भए यत्रो थियो त ?’

‘होइन त्योभन्दा पनि ठूलो थियो ।’

‘यत्रो थियो ?’

‘होइन ठूलो थियो ।’

‘यत्रो थियो ?’

‘होइन, त्योभन्दा पनि ठूलो थियो ।’

यसरी उसले एकएक गरी झन्झन् पेट फुलाएर सोध्दै गयो बच्चाहरूले त्योभन्दा पनि ठूलो भन्दै गए । अन्त्यमा यस्तो अवस्था आयो पेट फुलाउँदै जाँदा छालाले धान्न सकेन र पेट फुटेर मर्‍यो । 

हरेक कुराको एउटा सीमा हुन्छ । सीमासम्म ठीकै हुन्छ । सीमा पार गरेपछि केही न केही उधुम भएकै हुन्छ । त्यस अहङ्कारी भ्यौकुतालाई पनि यस्तै भयो । जेनतेन चलेकै थियो । विकास गर्न मन लागेको भए आफ्नै स्वरूप र स्वभाव अनुसारको ठूलो कुवा खोजेको भए हुन्थ्यो तर यहाँ त उसले एकै चोटी आफूभन्दा हजारौँ गुणा ठूलो बन्ने प्रयास गर्‍यो । अन्त्यमा त्यही नै उसको काल बन्न पुग्यो ।

अव त भाइबहिनीहरूले पनि बुढापाकाले ‘घाँटी हेरेर मात्र हाड निल्नुपर्छ’ भन्ने उखान किन भनेका रहेछन् भन्ने कुरा बुझ्यौ होला होइन ?

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।