मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘मधेस मुक्तिका लागि लोसपा र जसपाबीच एकता आवश्यक छ’

बिहीबार, २६ साउन २०७९, १७ : २९
बिहीबार, २६ साउन २०७९

महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ भनी अध्यक्ष यादवको प्रस्ताव छ । 

तर लोसपा भने काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा जाने प्रयास गरिरहेको छ । यस्तो किन ? प्रस्तुत छ, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश:

लोसपासँग एकता वा गठबन्धन गर्ने कुरा तपाईंले बडो जोडतोडले उठाउनु भएको थियो । अहिले सेलायो त, किन ?

–ताली एक हातले मात्र बज्दैन । मेरो अहिले पनि आह्वान छ कि आउनुहोस् एकता गरौँ । तर हामीले मात्र भनेर मात्र हुँदैन, उता (लोसपा) बाट पनि चासो देखाउनु पर्यो नि । मैले त पटक पटक कुरा राख्दै आएको हुँ । 

के अहिले नै लोसपा र जसपाको एकता वा गठबन्धन सम्भव छ ?

–छ, सम्भव छ । सम्भव भएर नै यत्रो कुरा गरिएको हो नि । र, यो मधेसी जनताको माग पनि हो । विभिन्न ठाउँमा गठबन्धनका लागि कुद्नुभन्दा तराई मधेसमा लोसपा र जसपा गठबन्धन गर्दा सबैभन्दा बेटर हुन्छ । लोसपालाई हेर्छु कहिले काँग्रेस, कहिले एमालेसँग त कहिले कोसँग गठबन्धनकै लागि कुराकानी गरेको छ । तर मेरो विचारमा लोसपा र जसपाकै बीच गठबन्धन हुनुपर्छ । 

 

तर किन भइरहेको छैन, त्यो कुरा त तपार्ईंलाई थाहा होला नि ?

–मैले जसपा विभाजन नहोस् भनेर चाहेकै हो । तैपनि साथीहरूका जिद्दीका कारण पार्टी विभाजन भयो । अहिले पनि केही बिग्रेको छैन । राजनीतिमा यो सब भइरहन्छ । तलमाथि भइरहन्छ । तर मुख्य मिसन मधेसको मुक्ति हो । त्यसका लागि पनि दुवै दल एक ठाउँमा आउनुपर्छ  । विगतमा कसले के बोले, कसले के भने, कसले के गरे, त्यो छाडौँ । मधेसका लागि एक साथ लड्न हामी एक हुनुपर्छ र मैले त्यसका लागि पटक पटक प्रस्ताव गरेकै हो ।

लोसपाका नेताहरू त औपचारिक प्रस्ताव नै आएको छैन भन्छन् नि ?

–औपचारिक अनौपचारिक सबै प्रकारले जानकारी गराइएको छ । पत्रकार सम्मेलन गरेर नै एकताको लागि आह्वान गरिएको हो भने त्यो भन्दा अरू औपचारिकता के चाहिन्छ ? नेताहरूको घर घर गएर, हात हातमा निम्ता दिने कुरा पनि हुँदैन । यदि आवश्यकता भयो भने त्यो पनि गर्न सकिन्छ । तर संवादको सुरुवात होस् ।

लोसपाले त समीक्षा भएपछि मात्र एकता वा गठबन्धनको कुरा अगाडि बढ्छ, भन्छ ।

–उहाँहरूले कस्तो समीक्षा भनिरहनु भएको छ, मलाई थाहा छैन । तर समीक्षाका लागि त संवादको सुरुवात हुनुपर्‍यो नि । जसपा हरेक समीक्षा गर्न तयार छ । 

विगतमा किन एकता गर्नुभयो र त्यो किन भत्कियो, तपाईंको समीक्षा के छ ?

–त्यतिबेलाको कुरालाई मैले अहिले कोट्याउन चाहिनँ । जसपा विभाजनको बेला उहाँहरूले के के गर्नुभयो, त्यो कुराको समीक्षा उहाँहरूले स्वयं गर्नुभयो भने सबै कुरा छर्लङ्ग हुन्छ । एमालेले पहिलो पटक संसद् विघटन गरेपछि आन्दोलनको अगुवाइ गर्ने लोसपामा रहनु भएका त्यही नेताज्यूहरूले गर्नुभएको थियो । दोस्रो पटक संसद् विघटन गर्दा उहाँहरूले त्यसमा सघाउनु भयो, यो कहाँबाट कसरी चमत्कार भयो, त्यसको बारेमा समीक्षा हुनुपर्छ कि पर्दैन ?

उहाँहरू संसद् विघटनमा त सघाउनु नै भयो तर त्यही विघटित संसद्को हैसियतमा सरकारमा जानुभयो । त्यतिबेलाको देशको परिस्थिति कस्तो थियो भने केपी शर्मा ओलीले प्रतिगमनको लाइनमा जानु भएको थियो । त्यसको विरुद्धमा आन्दोलन चलिरहेको थियो । त्यसबखत उहाँ (लोसपाका नेता) हरुले ओलीलाई साथ दिनु भयो । किन त्यस्तो परिस्थिति बन्यो, त्यसको समीक्षा हुनुपर्छ कि पर्दैन ? 

ओलीलाई साथ त दिनुभयो भयो, फेरि पार्टीमा पनि जथाभाबी निर्णयहरू गर्न थाल्नुभयो । आफूहरूसँग बहुमत छ भन्दै हस्ताक्षर गराउन थाल्नुभयो । कहिले कुन रिसोर्टमा त कहिले कुन रिसोर्टमा उहाँहरूको बैठक बस्न थाल्यो । पार्टीको विधान विपरीत निर्णय भए । त्यसका पनि समीक्षा हुनुपर्छ कि पर्दैन ?

तपाईंको तत्कालीन पार्टी विभाजन हुन लाग्दा हतार हतारमा उहाँहरूसँग एकीकरण गर्नुभएको हो भनी उहाँहरूको दाबी छ नि ?

–त्यो गलत दाबी हो । एकताका लागि विगत एक वर्षदेखि विभिन्न चरणमा वार्ता र संवाद भएको थियो । चिठी पत्र आदान प्रदान भएको थियो । लामो प्रयासपछि त्यो कुरा मिल्यो र एकता भयो । यदि हाम्रो पार्टी विभाजनै हुन लागेको थियो भने त्यतिबेला केपी शर्मा ओलीले हाम्रा संसद्लाई किन अपहरण गराउनु भएको थियो ? पार्टी विभाजन गराउन पार्टी बाहिरबाट प्रयास भइरहेको थियो र त्यहाँ बहुमत नपुगेको कारण हाम्रा सांसदलाई अपहरणदेखि लिएर खरिद विक्रीको काम त्यतिबेला भएको थियो । त्यतिबेला पार्टी फुटको कारणले होइन, विगत लामो समयदेखि भएको वार्ता र संवादको नतिजाअनुसार त्यो एकता भएको थियो ।

यति हुँदा हुँदै पनि तपाईं फेरि लोसपासँगै एकताका लागि किन ठोस पहल गरिरहनु भएको छैन ?

–मधेसको आवश्यकता र चाहना हो, समयको माग हो एकता । दुई दल मिल्न सकेनन् भने मधेसको माग कहिले पुरा हुँदैन । मधेस मुक्तिका लागि भएपनि जसपा र लोसपाबीच एकता हुनुपर्छ भन्ने मेरा चाहना हो ।

तपाईं गठबन्धन र सरकार दुवैमा हुनुहुन्छ । अनि एकता कसरी सम्भव हुन्छ ?

–सम्भव छ । लोसपा पनि यही गठबन्धनमा आउन चाहेको छ । त्यसका लागि प्रयास गरिरहेको छ । दुई पार्टीबीच एकता भयो भने गठबन्धन र सरकारमा त्यतिकै सहभागी हुने कुरा पनि हुन जान्छ । यदि हामीले गठबन्धन र सरकार छाड्ने कुरा हो भने त्यसका लागि पनि संवाद र छलफल हुनुपर्छ ।

अहिलेको पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुने सम्भावना कत्तिको छ ?

–लोसपाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरिरहनु भएको छ, हेरौं कसरी अगाडि बढ्छ ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप