दलित युवती हिरोइन बनेपछि घर र हल जलाइयो, गुमनाम जीवन बिताउन बाध्य भएकी नायिका रोजीको लुकेको कथा
रातोपाटीले भारतीय सञ्चार माध्यमबाट साभार गरेर विभिन्न फिल्मी कलाकारको थाहा नभएको पाटोबारे जानकारी दिएको छ । यसै सिलसिलामा आज हामी तपाईंलाई एउटा यस्ती नायिकाको कहानी सुनाउँदै छौँ जसका लागि नायिका बन्नु आफ्नो लागि जीवनलाई नर्क बनाउनु झैँ भयो । पहिलो फिल्मको पहिलो शो पछि नै मानिसहरुको उनको ज्यानकै पिछा लागे, हल जलाइयो ।
उनले आफ्नो बाँकी जीवन गुमनाम तरिकाले बिताउनुपर्यो । यती गुमनाम कि आज गुगलमा पनि उनको एउटा मात्रै धमिलो फोटो छ । न कुनै फोटोसुट, न कुनै भिडियो, केही पनि छैन ।
यो तस्बिर यही हो
रोजीको एउटै मात्र गल्ती के थियो भने उनी कथित दलितको घरमा जन्मिइन् । कुनै तल्लो जातकी केटी फिल्मकी नायिका कसरी बन्न सक्छिन् भन्ने सोचेर माथिल्लो जातका भनाउदाहरुले उनको पूरा जीवन बर्बाद बनाइदिए ।
यो कुरा अहिले आएर सुन्दा अलि अपत्यारिलो नै लाग्ला तर यो साँचो हो । यो कथा हो मलयाली फिल्मकी पहिलो नायिका पिके रोजीको । उनले आफ्नो जीवनमा एउटा मात्रै फिल्ममा अभिनय गरिन् त्यसपछि उनी समाजसँग लुक्नुपर्यो । उनका आफ्नै छोरीहरुलाई वर्षौँसम्म थाहा भएन कि उनकी आमा मलयाली फिल्मकी पहिलो नायिका थिइन् ।
सानैमा पिताको मृत्यु, घाँस बेचेर चलाइन् घर
कहानी सुरु हुन्छ सन् १९०३ को भारतबाट । त्यतिबेला अंग्रेजको शासन त थियो नै साथै जातिवाद, छुवाछुत र जातीय भेदभाव चरम अवस्थामा थियो ।
पिके रोजी (राजाम्मा) को जन्म नन्दकोडे, तिरुवनन्तपुरममा एक गरिब दलित परिवारमा भयो । घरमा थिए आमा–बुवा र एक सानी नानी । घरको गुजारा जसोतसो चलिरहेको थियो तर मुश्किल त्यतिबेला बढ्यो जब घरका मुलीको निधन भयो । तारेभिरजस्तो जिम्मेवारी काँधमा बजारिएपछि रोजी बाल्यकालमा नै कमाउन निस्किइन् । कमाईको एक्लो माध्यम थियो घाँट काटेर बेच्नु । यसैमार्फत् गुजारा हुन्थ्यो । सन् १९२०–२५ को बीचमा जताततै भट्किरहेका बेवारिस परिवारलाई काकाले घर लिएर गए ।
दलित राजम्माले देखिन् ठूलो सपना
दलित मजदुर रोजीलाई सधैँ नाच्ने–गाउनेमा शौख थियो । त्यतिबेला दुई खालका मानिसमात्रै नाच्न सिक्थे, या त उच्च घरानाका मानिस वा तवायफ । त्यसैले घरमा उनको शौखलाई राम्रो मानिएन । तरपनि रोजीको लगन देखेर उनका काकाले उनलाई आर्ट स्कुलमा भर्ना गरिदिए । आर्टस् स्कुलमा रोजीले कक्काराशी फोक डान्स सिकिन् जसमा शिव–पार्वती धर्तीमा आएको कहानी नृत्य र गीतमार्फत् देखाइन्थ्यो ।
रोजीले नाचमा परिवार रुष्ट थियो । हजुरबुवाले उनलाई रिहर्सलमा जान रोके तर रोजी स्कुल गइरहँदा पनि समाजले विरोध नै गर्यो ।
आमाबाट टाढा, परिवारसँग विद्रोह र धर्मको बलिदान
पिके रोजीलाई समाज वा परिवारको वास्ता थिएन । केही दिनपछि रोजीकी आमाले एलएमएस चर्चका पादरीसँग दोस्रो विवाह गरिन् । सौतेनी पिताले दबाब दिएर रोजीलाइ पनि इसाई बनाइदिए । यद्यपि, उनकी आमा हिन्दु नै रहिन् । राजम्मा (रोजी) अब रोजम्मा बनिन् ।
आमाले दोस्रो घर बसाइन् तर रोजी हजुरबुवासँगै बसिन् । यो त्यहि समय थियो जब ठूलो संख्यामा दलितलाई धर्म परिवर्तन गराइँदै थियो ।
रोजी एक ड्रामा कम्पनीमा आबद्ध भइन् । समाजमा विभिन्न लाञ्छना बढेपछि हजुरबुवाले उनलाई घरबाट निकालिदिए । बाध्यतावश, रोजी ड्रामा कम्पनीका मानिसहरुसँगै बस्न थालिन् ।
मुम्बईकी नायिकाले सुविधा नपाउँदा फिल्म छोडिन्
फादर अफ मलयालम सिनेमा भनिन् जेसी डेनियल मलयालमको पहिलो फिचर फिल्म विगताकुमारम बनाइरहेका थिए । यसमा हिरोइन बन्नका लागि कुनै पनि महिला तयार थिएनन् । उनीहरुले एक इन्डो एङ्ग्लो नायिका मिस लाला पाए तर कुराकानी गर्दा उनले १० हजार भारु पारिश्रमिक माग गरिन् । सन् १९२६ मा यो ठूलो रकम थियो तर ड्यानियल माने ।
पाँच हजार एड्भान्स र फर्स्ट क्लास टिकट दिएर ड्यानियलले ती नायिकालाई मुम्बईबाट तिरुवनन्तपुरम बेलाए । मिस लालाले राम्रो सुविधा नपाएको भन्दै फिल्म छोडिन् । मिस लालाले एड्भान्स पनि फिर्ता गरिनन् । डेनियल पहिला नै ऋणमा डुबेका थिए तर अब न त उनीसँग नायिका थिइन् न तै पैसा ।
नायिका बनाए तर नामसँग थियो आपत्ति
मिस लालाले फिल्म छोड्दा जेसी डेनियल आफ्नो साथी जोनसनको आग्रहमा गाउँमा एउटा नाटक हेर्न पुगे । जोनसनले एक केटीलाई चिन्दथे जुन डेनियलकी हिरोइन बन्न सक्थिन् । ती केटी थिइन् घाँस काट्ने रोजी । बाध्यतामा जेसी डेनियलले रोजीलाई फिल्ममा हिरोइन बनाए तर उनलाई उनको नाम रोजम्मा मन परेन । हिरोइनको नाम उनको पहिलाकी नायिका मिस लालाको जस्तो मोर्डन होस्, त्यसैले उनले रोजम्मालाई पिके रोजी बनाइदिए । रोजी मलयालम फिल्मकी पहिलो नायिका बनिन् तर पहिलो नै फिल्मले नै उनको सबै सपना चकनाचुर पारिदियो ।
एकदिनको पारिश्रमिक ५ भारु, १० दिनको सुटिङ गरेपछि पाइन् ५० भारु
विगताकुमारम फिल्ममा रोजीले कथित माथिल्लो जातकी नायर महिला सरोजिनीको भूमिका निभाएकी थिइन् । सेटमा पनि रोजीले लगातार छुवाछुतको समस्या भोग्नुपर्यो । रोजीलाई अन्य कलाकारसँग बस्न र सेटमा पाइने खाना छुने अनुमति थिएन । उनी खाना घरबाट ल्याउँथिन् र एक्लै खान्थिन् । पत्रिकाबाट जब मानिसहरुले एक दलित केटी फिल्ममा छिन् भन्ने थाहा पाए तब असाध्यै आपत्ति जताइयो । दैनिक ५ भारु पाइने खुसीमा रोजीले सुटिङ गरिरहिन् । १० दिनमा विगताकुमारम बनेर तयार भयो र रोजीले ५० भारु पाइन् ।
मानिसले दलित नायिकाको फिल्म हेर्न अस्वीकार गरे
विवादका बीच जेसी डेनियलको विगताकुमारमको स्क्रिनिङ २३ अक्टोबर सन् १९२८ मा क्यापिटल सिनेमा हल तिरुवनन्तपुरममा भयो ।
पहिला त मानिसहरुले रोजीको फिल्म हेर्न अस्वीकार गरे । यस्तै समाजको अर्को तप्काले रोजीलाई माथिल्लो जातको बनाएकोमा रोष व्यक्त गरे ।
कथित माथिल्लो जातको अगाडि कुनै तल्लो जातका व्यक्ति बस्ने अनुमति थिएन त्यसैले दलित युवतीसँग बसेर फिल्म हेर्न धेरैले आपत्ति जताए । स्क्रिनिङ आवश्यक थियो त्यसैले जेसी डेनियलले रोजीलाई माथिल्लो जातका मानिससँग स्क्रिनिङमा आउन रोक लगाए ।
फिल्म चलेपछि हल बाहिर प्रतीक्षा गरिरहिन्
रोजी पहिला त मानिन् तर उनी आफूलाई ठूलो पर्दामा एक पटक हेर्न चाहिन्थन् । रोजी आफ्ना एक साथीसँग स्क्रिनिङमा पुगिन् ।
रोजीलाई देखेर मानिसहरु भड्किए । प्रिमियरमा पुगेका एक पाहुना वकिल मल्लुर गोविन्दाले रोजी भएसम्म आफूहरु भित्र नजाने निर्णय सुनाए । निर्देशक डेनियलले रोजीलाई बाहिर नै बस्न आग्रह गरे । रोजी थिएटर बाहिर नै उभिएर अर्को शोको प्रतीक्षा गर्न थालिन् ।
विगताकुमारतको स्क्रिनिङमा धेरै दर्शक त पुगे तर सबैजना दलित रोजीलाई पर्दामा देखेर रिसले आगो भए ।
एकैदिनमा ध्वस्त भयो रोजीको जीवन
त्यसमाथि एउटा दृश्यले मानिसहरुको रिसमा पेट्रोल छर्किने काम गर्यो । त्यो दृश्यमा माथिल्लो जातका हिरो दतिल रोजीको कपालमा लगाइएको फूल चुमिरहेका थिए । मानिसहरुले स्क्रिनमा ढुङ्गा फ्याँके र हलको पर्दा च्यातिदिए । फिल्म समाप्त हुनुअघि नै रिसाएको भीडले रोजीलाई कुट्न दौडिए । रोजीले केही बुझ्न सकिनन् तर भीड आफूमाथि नै जाइलाग्न आएको देखेर रोजी भाग्न सुरु गरिन् र थायकोडको हलमा गएर लुकिन् । रिसाएका दर्शकले उनलाई मार्नका लागि पूरा हलमा नै आगो लगाइदिए । रोजीले भीडमा मानिसहरुको रिस र आगोबाट ज्यान बचाउन व्यापक यत्न गर्नुपर्यो ।
जातिवादको आगोमा जल्यो रोजीको घर, सपना र पहिचान
रोजीलाई हलबाट निकाल्नका लागि जेसी डेनियलले प्रहरीको मद्दत लिए र रोजीलाई हलबाट जिउँदै बाहिर निकालियो । रोजी त्यहाँबाट भागिन् तर मानिसहरु रोकिएनन् । ज्यान लिने उद्देश्यले भीडले उनको घरमा सुरुमा ढुङ्गा हाने र त्यसपछि आगो लगाइदिए । रिस यो कुराको थियो कि एक तल्लो जातकी युवतीले पर्दामा कुनै नायर महिलाको भूमिका निभाएकी थिइन् । घरका सदस्यले भागदौडका बीच कसैगरी ज्यान जोगाए तर अब उनको परिवार त्यो स्थानमा बस्न सुरक्षित थिएन ।
एउटा फिल्मका कारण शहर छोड्न बाध्य
हलबाट बचाइएपछि रोजी भागेर गाउँ नजिकैैको एउटा पुल मुनी अबेर रातीसम्म एक्लै लुकिरहिन् । रोजीले मौका हेरेर पुलबाट यात्रा गरिरहेको एक ट्रक ड्राइभरसँग उनलाई कतै टाढा लगिदिन आग्रह गरिन् । ट्रान्सपोर्ट कम्पनीका ड्राइभर केसावा पिल्लई पनि माथिल्लो जातका थिए । उनले रोजीलाई तमिलनाडुको नागरकोइल पुर्याइदिए ।
नागरकोइल आएर रोजीले ती ट्रक ड्राइभर केसावा पिल्लईससँग विवाह गरिन् र राजम्मा बनेर गुमनाम जीवन बाँच्न थालिन् ।
विवाह, माथिल्लो जात र गुमनाम जीवन
केसावाले दलित महिलासँग विवाह गरेका कारण उनको परिवारले पनि उनलाई त्यागे तर अब रोजी पनि राजम्मा पिल्लई बनेकी थिइन् । केसावा र रोजीका दुई छोरी भए तर उनीहरु पनि आमाको संघर्ष र उनको मलयालम सिनेमामा योगदानबारे अनभिज्ञ भए ।
सन् १९२८ को फिल्म विगताकुमारत, मलयालम सिनेमाको पहिलो फिचर फिल्म हो जसको नाम आज इतिहासमा दर्ता छ । यो फिल्म बनाउँदा निर्देशक जेसी डेनियल कंगाल भए । यस्तै नायिका पिके रोजीले पनि आफ्नो सबैकुरा बलिदान दिनुपर्यो ।
३२ वर्षपछि पहिचान
विगताकुमारत ७ नोभेम्बर सन् १९२८ मा रिलिज भए पनि दलित अभिनेत्री भएका कारण थोरै मानिस मात्रै हेर्न पुगेका थिए । फलस्वरुप फिल्म फ्लप भयो र निर्देशक जेसी डेनियल कंगाल भए । गाउँको बिग्रँदै गएको अवस्थाका कारण जेसी डेनियल पनि सहर छोडेर डेन्टिस्ट भए । फिल्म रिलिज भएको ३२ वर्षपछि पहिलो पटक सिनेमा पत्रकार चेंगलात गोपालकृष्णनले यसको कथा भने ।
सन् १९७१ मा कुन्नुकुजीले एउटा लेखमार्फत् यो कथालाई जनतासामु ल्याएका थिए । फिल्मको एउटा मात्र प्रिन्ट थियो जुन वर्षौं अघि जलेको थियो र अहिले यो कतै छैन । वास्तवमा, जेसी डेनियलले शहर छोडेको केही समय पछि, उनको छोराले फिल्मको एउटै मात्र रिल जलाइदिए ।
रोजीको मात्र तस्बिर कहाँ भेटियो ?
रोजीलाई फिल्म हेर्नबाट रोकेका अधिवक्ता मल्लुर गोविन्द पिल्लैको फोटो ग्यालरीबाट पीके रोजीको तस्बिर फेला परेको थियो । जुन गुगलमा रोजीको एउटा मात्रै तस्बिर हो ।
पीके रोजीको संघर्ष देखाउने ३ चलचित्र
सन् २०१३ मा ८५ वर्ष पछि, मलयालम निर्देशक कमलले एक सेल्युलोइड फिल्म बनाए जसमा जेसी डेनियल र मलयालम सिनेमाको पहिलो अभिनेत्री पीके रोजीको कथा देखाइएको थियो । यो फिल्म विनु अब्राहमको उपन्यास ‘डिस्ट्रोइड हिरोइन’मा आधारित थियो । चलचित्रमा चर्चित अभिनेता पृथ्वीराजले जेसी डेनियलको भूमिका निर्वाह गरेका छन् भने रोजीको भूमिकामा नयाँ कलाकार चाँदनी गीताले निभाइन् ।
पीके रोजीको जीवनमा थप दुई फिल्महरू बनाइयो, द लस्ट चाइल्ड र रोजयुडे कथा (यो रोजीको कथा) । मलयालम सिनेमाका महिला अभिनेत्रीहरूको समूहले आफ्नो सोसाइटीको नाम पीके रोजी फिल्म सोसाइटी राखेका छन् ।
अफसोसको कुरा, रोजीले आफ्नो पहिचान पाउनु अघि नै उनले सन् १९८८ मा संसारलाई अलविदा भनिन् । यसअघि २७ अप्रिल १९७५ मा जेसी डेनियलको पनि गुमनाम जीवन बिताउँदै गर्दा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
