आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् यसपाली चुनावमा उठेका उद्यमी व्यवसायी

सोमबार, २४ असोज २०७९, ०९ : ५३
सोमबार, २४ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत केही उद्योगी/व्यवसायी प्रत्यक्षरूपमा राजनीतिमा होमिएका छन् । आ–आफ्नो क्षेत्रमा उद्यम व्यवसायमार्फत सफल बनेका उद्यमी व्यवसायीहरू विभिन्न दलको प्रतिनिधि बन्दै प्रत्यक्षरूपमा राजनीतिमा होमिएका हुन् ।

आगामी निर्वाचनमा उद्यमी व्यवसायीलाई राजनीतिमा ल्याउनेमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस अग्रस्थानमा छ । यस राजनीतिक दलमार्फत प्रत्यक्ष र समानुपातिकतर्फ गरेर कूल १० जना उद्यमी व्यवसायी राजनीतिमा होमिएका छन् । नेपाली कांग्रेसकातर्फबाट धनाड्य व्ययवसायी विनोद चौधरी नवलपरासी–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमार्फत प्रत्यक्षतर्फको टिकट पाउँदा समेत निर्वाचन नलडेका उनी यसपटक भने कांग्रेसकातर्फबाट प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । यसअघि, उनी नवलपुरबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेपछि नवलपरासीको बर्दघाट सुस्ताबाट टिकट पाएका हुन् ।

हिमालयन बैंकका सञ्चालक समिति सदस्य रहेका सुनिलबहादुर थापालाई नेपाली कांग्रेसले धनकुटाबाट प्रत्यक्षतर्फ टिकट दिएको छ । यस्तै, नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. सुनिल शर्मालाई कांग्रेसले मोरङ–३ बाट टिकट दिएको छ ।

यस्तै, निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् भने चितवन–२ बाट शिक्षा व्यवसायी उमेश श्रेष्ठले टिकट पाएका छन् । रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङलाई समेत आगामी निर्वाचनबाट कांग्रेसले प्रत्यक्ष राजनीतिमा ल्याएको छ ।

वैदेशिक रोजगार व्यवसायी टेकप्रसाद गुरुङले कांग्रेसकातर्फबाट मनाङबाट टिकट पाउाँ गोरखा–१ बाट पर्यटन व्यवसायी राजेन्द्र बजगाँईले टिकट पाएका छन् । यस्तै, कांग्रेसले व्यवसायी अनिल रुङ्गटालाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा अछाम–१ बाट झपट बोहोरालाई प्रत्यक्षतर्फको टिकट दिएको छ । उनी पूर्व बैंकर हुन् । यस्तै, समानुपातिकतर्फ ओमदेवी मल्ल (सहकारीकर्मी) र प्रभु बैंकका अध्यक्ष समेत रहेका देवीप्रकाश भट्टचनको नाम सिफारिस गरेको छ । यसका साथै, केबलकार व्यवसायी समेत रहेका बालकृष्ण सिवाकोटीले दोलखाबाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् । हाल सिवाकोटी लगानी बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्य छन् ।

नेकपा (माओवादी केन्द्र) नागेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन् । शाहले सर्लाही–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् । नेकपा एकीकृत समाजवादीले व्यवसायी किसान श्रेष्ठले प्रत्यक्षतर्फको टिकट पाएका छन् । उनले बारा–४ बाट उम्मेदवारी दिएका छन् । यस्तै, प्रेमबहादुर आलेले एकीकृत समाजवादीबाट डोटीमा उम्मेदवारी दिएका छन् । डोल्पाबाट व्यवसायी धनबहादुर बुढा समेत प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप