बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राजु गुरुङको उम्मेदवारी र अन्तरिम आदेशबारे सुनुवाइ हुँदै, उम्मेदवारी कायम हुने-नहुनेबारे आजै टुङ्गो लाग्ने

बुधबार, ०२ कात्तिक २०७९, १० : ०४
बुधबार, ०२ कात्तिक २०७९

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । असोज ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा बुधबार सुनुवाइ हुन लागेको हो । 

सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेजविरुद्ध गुरुङ असोज २७ गते रिट लिएर सर्वोच्च गएका थिए । 
रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् । 

असोज ३० गते पेसीमा चढ्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गते बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थिए । सर्वोच्चको आदेशसँगै निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले गुरुङको उम्मेदवारी कायम रहेको सूचना प्रकाशन गरेको थियो । 

बुधबार राजु गुरुङको रिट निवेदन दुई न्यायाधीश रहने संयुक्त इजलासमा सुनुवाइ हुनेछ । संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै उम्मेदवारी कायम गर्न आदेश दिएका गुरुङ निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन् । तर अदालतले अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएमा उम्मेदवारका रुपमा गुरुङको दौड समाप्त हुनेछ । मुद्दाको अन्तिम किनारा लाग्दा समय लाग्नसक्ने वा बुधबार नै रिट खारेजसमेत हुनसक्ने भएकाले गुरुङको उम्मेदवारी कायम हुने वा नहुने विषयको टुङ्गो लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप