मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
नीति नियम

उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?

मङ्गलबार, २६ जेठ २०८३, ०८ : १५
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । एसईई तथा उच्च माद्यमिक तहको परीक्षामा परीक्षार्थीले लगेको मोबाइल जफत गरी पानीमा डुबाएर नष्ट गरेको घटना यतिबेला चर्चामा छ । सिराहा जिल्लामा त्यसरी जफत गरिएका मोबाइल नष्ट गरेको विषयलाई लिएर धेरैले आलोचना गरेका छन् ।

कुनै पनि परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल लगायत इलेक्ट्रोनिक डिभाइस लैजान र प्रयोग गर्न पूर्णतः बन्देज गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

माध्यमिक शिक्षादेखि उच्च शिक्षा र विभिन्न आयोगले लिने सबै परीक्षामा परीक्षा हलभित्र मोबाइल प्रयोग गर्नु मर्यादाविपरीत ठहरिने उनीहरूको दाबी छ ।

उच्च शिक्षा, लोकसेवा आयोग, शिक्षक सेवा आयोग, संगठित संस्था लगायत जुनसुकै क्षेत्रको परीक्षामा पनि परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाच वा कुनै पनि किसिमका इलेक्ट्रोनिक ग्याजेट आफ्नो खल्तीमा वा डेस्कमा राख्न नमिल्ने सम्बद्ध अधिकारी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. लक्ष्मण पौडेलले प्रवेशपत्रमै स्पष्ट रूपमा परीक्षा सम्बन्धी नियमहरू उल्लेख गरिने भएकाले त्यसलाई पूर्णतः पालना गर्नुपर्ने बताए । पौडेलले भने, ‘प्रवेशपत्रमै परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू खुलाइएको हुन्छ । त्यसलाई पालना गर्ने हो भने कुनै विवाद आउँदैन ।’

परीक्षा हलमा मोबाइल भेटिए नियन्त्रणमा लिने गरिएको पौडेलले बताए । उनले भने, ‘परीक्षा हलमा विद्यार्थीको साथमा मोबाइल भेटियो भने तुरुन्त नियन्त्रण गर्छौं र उत्तर सारेको देखिए जफत गर्छौं ।’

पौडेलले परीक्षालाई अमर्यादित गराउने गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित केन्द्राध्यक्षलाई अधिकार दिइएको बताए । यस विषयमा छड्के निरीक्षकहरूलाई परीक्षा अघि नै स्पष्ट निर्देशन दिँदै आएको उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यलायका परीक्षा नियन्त्रक बालेन्दु हमालले विश्वविद्यालयले परीक्षाको कार्यविधि अनुसार परीक्षा सञ्चालन गर्ने र कसैले अमर्यादित गतिविधि गरेको पुष्टि भए कारबाही प्रक्रिया अगाडि बढाइने बताए । हमालले भने, ‘विश्वविद्यालयको परीक्षाको आफ्नै कार्यविधि हुन्छ । परीक्षा केन्द्रमा मोबाइल लगायत इलेक्ट्रोनिक डिभाइस लगेर मर्यादाविपरीत कार्य गरेमा परीक्षा हलबाट जफत गरिने स्पष्ट व्यवस्था छ ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियू सचिव हिक्मतकुमार बुढाले परीक्षालाई गुणस्तरीय बनाउन परीक्षा हलभित्र कुनै पनि सामग्री लैजान नपाइने व्यवस्थालाई कार्यान्वयन गर्नैपर्ने बताए । उनले भने, ‘मोबाइल, स्मार्टवाच परीक्षा हलभित्र लैजान रोक्नुपर्छ । भेटिएपछि परीक्षा सकिनासाथ फिर्ता गर्नुपर्छ । लामो समयसम्म जफत वा नष्ट गर्नु राम्रो हुँदैन ।’

परीक्षाका क्रममा मोबाइल भेटिएमा परीक्षा केन्द्राध्यक्षले स्नातकोत्तर तहका विद्यार्थीलाई परीक्षापछि मोबाइल दिने र त्यो दिनको परीक्षा रद्द हुने उनको भनाइ छ । उनले भने, ‘स्नातक तहको हकमा भने कलेजका प्रतिनिधिहरूले परीक्षा सकिएपछि विद्यार्थीलाई मोबाइल दिनुहुन्छ ।’

परीक्षा सञ्चालन अघि मोबाइल लगायत डिभाइस लैजान नमिल्ने भन्दै अग्रिम सूचना विद्यार्थीलाई दिने गरिएको हमालले बताए । पूर्व जानकारी दिँदा पनि प्रमाण फेला परे कारबाही हुने उनले प्रस्ट पारे ।

हमालले भने, ‘परीक्षाको निरीक्षण गर्ने अधिकार केन्द्राध्यक्षलाई हुन्छ । केन्द्राध्यक्षले आवश्यकताका आधारमा कारबाही गर्नुहुन्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले परीक्षा हलमा मोबाइल लैजाने विषय अनुशासनविपरीत हुने बताइन् । उनले भनिन्, ‘प्रवेशपत्रमै मोबाइल, कपी, चिट, लैजान नपाइने स्पष्ट व्यवस्था छ । बिर्सेर लगिहालेको भए केन्द्राध्यक्षले त्यसता सामग्री बुझाउन आग्रह गर्नुहुन्छ । पटक–पटक हामीले सूचना समेत दिन्छौँ । सचेत पनि गराउँछौँ । पटक–पटक अनुरोध गर्दा पनि नमाने वा परीक्षा हलमा सार्दै गरेको भेटिए केन्द्राध्यक्षले आवश्यक कारबाही गर्नुहुन्छ ।’

यस्तो कारबाहीस्वरुप परीक्षा रद्दसम्म हुन सक्ने रोकायाले बताइन् । यद्यपि आजभोलि यस्ता घटना निकै कम देखिएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियू सचिव हिक्मतकुमार बुढाले परीक्षालाई गुणस्तरीय बनाउन परीक्षा हलभित्र कुनै पनि सामग्री लैजान नपाइने व्यवस्थालाई कार्यान्वयन गर्नैपर्ने बताए । उनले भने, ‘मोबाइल, स्मार्टवाच परीक्षा हलभित्र लैजान रोक्नुपर्छ । भेटिएपछि परीक्षा सकिनासाथ फिर्ता गर्नुपर्छ । लामो समयसम्म जफत वा नष्ट गर्नु राम्रो हुँदैन ।’

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११, १२ ले पनि परीक्षा हलमा मोबाइल नलैजान भन्दै सूचना जारी गरेको थियो । सूचनामा भनिएको छ, ‘कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने बेहोरा अवगतै छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषेध गरिएको बेहोरा सम्पूर्ण केन्द्राध्यक्ष एवं परीक्षार्थीहरूमा अनुरोध छ ।’

शिक्षा ऐन, २०२८ ले परीक्षामा अमर्यादित कार्य गर्नेलाई सजायको व्यवस्था गरेको छ । ऐनको दफा १७ अनुसार परीक्षाको मर्यादा भङ्ग गर्ने, प्रश्नपत्र गोपनीयता भङ्ग गर्ने वा अमर्यादित कार्य गर्नेलाई एक लाखसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै विद्यार्थीलाई परीक्षाबाट निष्काशन गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । 

सूचनालाई अवज्ञा गरी परीक्षा हलमा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरू जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनुका साथै सम्पूर्ण विषयको परीक्षा रद्द हुने चेतावनी उक्त सूचनामार्फत दिइएको थियो ।

यदि विद्यार्थीले मोबाइल बोकेर आएका छन् भने परीक्षा हलमा प्रवेश गर्नुअघि नै त्यसलाई पूर्ण रूपमा ‘स्विच अफ’ गरेर तोकिएको स्थान, ब्याग राख्ने ठाउँ वा हलभित्रै आफ्नो डेस्कमुनि भुइँमा राख्नुपर्ने नियम हुन्छ । मोबाइल लैजाँदा परीक्षाको गुणस्तरीयतामा प्रश्न चिह्न उठ्ने सरोकारवालाको भनाइ छ ।

लोकसेवा आयोग, शिक्षक सेवा आयोगले लिने परीक्षामा परीक्षा हलभित्र मोबाइल पूर्णतः बन्देज गरिएको हुन्छ । ती आयोगले लिने परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर जान नपाउने निर्देशन उल्लेख हुन्छ ।

परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोन लगायत इलेक्ट्रोनिक डिभाइस साथमा नलैजान र लागेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने प्रावधान छ ।

यसैबिच गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन् ।

शिक्षा ऐन, २०२८ ले परीक्षामा अमर्यादित कार्य गर्नेलाई सजायको व्यवस्था गरेको छ । ऐनको दफा १७ अनुसार परीक्षाको मर्यादा भङ्ग गर्ने, प्रश्नपत्र गोपनीयता भङ्ग गर्ने वा अमर्यादित कार्य गर्नेलाई एक लाखसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै विद्यार्थीलाई परीक्षाबाट निष्काशन गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप