सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मूलका हिन्दू युवा बेलायतको प्रधानमन्त्री बन्दा नेपाली समुदाय उत्साहित

बुधबार, ०९ कात्तिक २०७९, २१ : ४४
बुधबार, ०९ कात्तिक २०७९

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेसँगै बेलायतस्थित नेपाली समूदाय उत्साहित र आशावादी देखिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू र दुई शताव्दीयताकै कान्छो प्रधानमन्त्री बन्न सफल भएका थिए ।  

सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चुनिएर सुनक प्रधानमन्त्री बनेपछि विशेषगरी स्थानीय राजनीतिमा संलग्न नेपालीहरु निकै उत्साहित र आशावादी बनेका हुन् ।  

‘सुनकलाई नेपाली र गोर्खा समस्याबारे धेरै जानकारी छ ।  मैले जानकारी नभएका विषयमा पनि अवगत गराएको छु’, गत सातामात्र सुनकसँग भेट गरेका काउन्सिलर डा.जगन्नाथ शर्माले भने, ‘नेपालीलगायत सबै मुलुकका नागरिकले समान अवसर पाउनुपर्छ र त्यसका लागि शिक्षालाई जोड दिनुपर्छ भन्ने सुनकको धारणा थियो ।’  

भेटमा आफू मध्यम परिवारबाट आएको र परिवारले दिएको शिक्षाका कारण नै आफू यो स्थानमा पुग्न सफल भएको बताउँदै सुनकले राजनीतिमा भन्दा पहिला शिक्षा र कामको अनुभवलाई प्रथामिकता दिनुपर्ने धारणा राखेको शर्माले बताए । कन्जरभेटिभ पार्टी क्याट्रिक शाखाका केन्द्रीय उपाध्यक्ष शर्मा प्रधानमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र नर्थ योर्कसायरको कोलबर्न टाउनका मेयर पनि हुन् । 

आफ्नो हरेक कार्यक्रममा सुनक र उनकी श्रीमती अक्षता मूर्ति नियमित उपस्थित हुने गरेको र उनीहरु नेपाली तथा अल्पसंख्यक समूहका लागि निकै सहयोगी रहेको शर्माको धारणा छ ।   पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमण गराउन पहल गरेपनि विभिन्न कारण सम्भव नभएको बताउँदै शर्माले सुनकलाई नेपाल भ्रमण गराउने पहल गर्ने बताए । 

त्यसैगरी सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडाका काउन्सिलर लक्ष्य गुरुङ पनि सुनक प्रधानमन्त्री हुनु नेपालीलगायत एसियनकै लागि गौरवको कुरा भएको बताउँछन् । नेपाली समुदायसँग मिल्दोजुल्दो वातावरणमा हुर्किएका सुनक प्रधानमन्त्री हुँदा आफूहरुले समयको सदुपयोग गर्नुपर्ने उनी बताउँछन् । 

चाँडै नै आफ्ना केही सहकर्मीसँग छलफल गरेर उनीसँग भेटघाट गर्ने योजना रहेको बताउँदै काउन्सिलर गुरुङले एकपटक नेपाल भ्रमणको निम्तो दिने बताए ।

रसमोर बरो काउन्सिलका काउन्सिलर जीव बेलवासे पनि भारतीय मूलका सुनाक प्रधानमन्त्री बन्दा निकै खुशी र आशावादी छन् । ‘उनी यसअघि नै प्रधानमन्त्री बन्नुपर्ने हो, जनताले उनलाई नै चाहेका थिए तर अहिले प्रधानमन्त्री बन्नु हाम्रा लागि पनि सौभाग्य हो’, उनले भने, ‘समय चुनौतीपूर्ण छ । बेलायतलाई आर्थिक मन्दीबाट मुक्त गराउने उनको मुख्य उद्देश्यमा उनी पूर्ण रुपमा सक्षम रहने आशा छ ।’

सुनकको प्रधानमन्त्रीकालमा नेपालीहरुले पनि फाइदा लिन सक्नुपर्ने बेलबासे बताउँछन् ।  लन्डनका सफल युवा व्यवसायी रविन्द्रजंग लामिछानेले प्रधानमन्त्री ऋषि सुनकमा सरल स्वभाव रहेको बताए । लामो समयदेखि सुनकसँग लगातार उच्चस्तरीय भेटघाट हुँदै आएको र आफूले निकै नजिकबाट नियाल्ने अवसर पाएको उनले स्मरण गरे । नेपाल र नेपालीको हक हितका लागि आफूले पनि भेटमा कुरा राख्ने र कार्यान्वयन गर्न लगाउने लामिछानेले बताए । 

यसअघि प्रधानमन्त्रीको दौडमा सुनकलाई पछि पार्दै गत सेप्टेम्बर ५ मा प्रधानमन्त्री बनेकी लिज ट्रसको सरकार विभिन्न आर्थिक नीतिका कारण आलोचित बनेपछि सबैभन्दा छोटो समय ४५ दिनमा नै ट्रस प्रधानमन्त्रीको पद त्याग्न बाध्य भइन् । लिजको राजीनामासँगै सुनकको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । डेढ महिनाअघि मात्रै प्रधानमन्त्रीको दौडमा लिज ट्रससँग पराजित भएका सुनक अन्ततः पार्टीको सर्वसम्मत नेता बन्दै प्रधानमन्त्री बने ।

सन् २०२० फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री  बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिमा सुनकको करियर चम्किएको थियो। कोभिड महामारीका बेला सरकारले ल्याएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा लोकप्रियता दिलाएको थियो। 

सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका हुन् सुनक । भारतीय मूलका उनका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए। भारतीय धनाढ्य उद्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गाँसेका सुनक दुई छोरीका पिता हुन् । 

उनी इतिहासमा पहिलो पटक राजाको भन्दा दोब्बर सम्पति भएका प्रधानमन्त्रीसमेत बनेका छन् ।  सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पति ७३ करोड पाउण्ड छ भने राजा चाल्र्स र उनकी पत्नी क्यामिलाको संयुक्त सम्पति ३५ करोड पाउण्ड रहेको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप