बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा उपेन्द्र र सीके राउतबीच राजनीतिक द्वन्द्व

​उपेन्द्रकै सिको गर्दै सीकेले बनाए राजनीतिक धरातल
बुधबार, ०७ मङ्सिर २०७९, १८ : २७
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेपछि मधेसको राजनीति तरङ्गित भएको छ ।

मधेस आन्दोलनबाट जन्मेका उपेन्द्र यादव मधेसका हस्ती मानिन्थे । तर जनमत पार्टीका अध्यक्ष राउतले उनको त्यो छविलाई ध्वस्त बनाउँदै छन् । मधेसका अधिकांश ठाउँमा जसपाकै उम्मेदवारसँग जनमतले प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय ठाउँमा जसपाका उम्मेदवारलाई जनमत पार्टीका उम्मेदवारले पराजित गरिसकेका छन् भने कतिपय ठाउँमा कडा टक्कर दिइरहेका छन् ।

तर उपेन्द्र यादव र सीके राउतबीचको राजनीतिक टक्कर धेरै पुरानो छ । मधेस आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा सीके राउतको आगमन भएको थियो । तर त्यो आगमनलाई उपेन्द्र यादवले मन पराएका थिएनन् । मधेसी मोर्चाबाट २०६४ मा टुँडिखेलमा भएको आमसभामा सीके राउतले पहिलो इन्ट्री गरेका थिए ।

अन्य पार्टीले राउतलाई पत्याए पनि उपेन्द्र यादवले पत्याएका थिएनन् । तै पनि राउतले आफ्नो यात्रालाई बिराम दिएनन् । त्यसपछिका दिनहरुमा पनि उपेन्द्र यादव र सीके राउतको बीचमा राजनीतिक द्वन्द्व थियो । दुवैजना एउटै जिल्लाका मात्र होइन, एउटै पालिकाका हुन् । तर यी दुई जनाको बीचमा कहिल्यै राम्रो सम्बन्ध रहेन ।

सीके राउत आन्दोलनमा हुँदा सबैभन्दा बढी टार्गेट उपेन्द्र यादवको पार्टीलाई नै गर्थे । यहाँसम्म कि सीके राउतले उपेन्द्र यादवलाई सम्बोधन गर्दा ‘काला नाग’ भन्थे ।

सीके राउतले तराई मधेसमा आफ्नो प्रतिस्पर्धी उपेन्द्र यादवको पार्टीलाई नै माने । त्यही भएर जहिल्यै पनि राउतले उपेन्द्र यादव र उनको पार्टीलाई नै टार्गेट गरिरहे । अन्ततः आज उनै उपेन्द्र यादवविरुद्ध चुनाव लडेर राउतले उनलाई पराजित गरे । सीके राउतका लागि यो निकै महत्त्वपूर्ण जित हो ।

मधेस प्रदेशमा सबैभन्दा बलियो रहेको जसपाले पछिल्लो समय आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई देखेको थियो । उता, मधेसमा खुट्टा टेकेको जनमत पार्टीले जसपालाई कमजोर नगरेसम्म मधेसमा बलियो हुन नसकिने विश्लेषणका साथ आवश्यक तयारी गरिरहेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला २०७५ फागुन २४ गते सीके राउतसँग वार्ता गरेर उनलाई मूलधारको राजनीतिमा ल्याएका थिए । त्यतिबेला जसपाका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । ओलीले सीके राउतलाई यसरी महत्त्व दिएर मूलधारमा ल्याएको कुरा उपेन्द्रलाई मन परेको थिएन । उपेन्द्र यादवले सरकारमा त्यसको विरोध पनि गरेका थिए ।

संयोग, त्यतिबेला तत्कालीन प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच राम्रो सम्बन्ध थिएन । उपेन्द्र यादवलाई नै कमजोर गर्नका लागि ओलीले सीके राउतलाई मूलधारमा ल्याएको टिप्पणी त्यतिबेला भइरहेको थियो ।

जब सीके राउतका कार्यकर्ताले उपेन्द्र यादवलाई कालो झण्डा देखाए

२०७५ भदौ ७ गते उपेन्द्र यादव बर्दिया जाँदा सीके राउतका कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा सीके राउतका कार्यकर्ता राममनोहर यादव पक्राउमात्र परेनन्, उनको निधनसमेत भयो ।

त्यो घटनाले उपेन्द्र यादव र सीके राउतबीच झन् दुरी बढायो । त्यहीबेला तत्कालीन प्रधानमन्त्री ओलीले सीके राउतलाई ‘क्लिन चिट’ दिएर महत्त्वका साथ मधेसमा पठाएको कतिपयको बुझाइ छ ।

त्यसपछि जनमत पार्टीका कार्यकर्ताले जहिल्यै पनि उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइ रहे । जसपा मधेस आन्दोलनबाट जन्मेको पार्टी हो, मधेस आन्दोलन गरेर शक्तिशाली पार्टी बनेको हो । मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरुले ठाउँ पाउने सम्भावना हुँदैन भनेर नै जनमत पार्टीले आफ्नो सारा शक्ति जसपाको विरोधमा लगाएको थियो ।

गत माघ ५ गते जसपाकी नेतृ एवं तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेणु यादव एउटा कार्यक्रमका लागि जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले रोक्ने प्रयास गरे । उनीहरुले कालो झण्डा देखाए । भाटा लिएर मन्त्रीलाई कार्यक्रममा जानबाट उनीहरुले रोक्ने प्रयास गरे । त्यसपछि बाध्य भएर रेणु यादव अर्को बाटो हुँदै कार्यक्रममा सहभागी भइन् ।

त्यसरी नै जसपाका तत्कालीन नेता महेन्द्र राय यादव कृषि मन्त्री भएको बेला बाँके जाँदा त्यहाँ जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । त्यहाँ पनि तत्कालीन मन्त्री यादवले बीचमै कार्यक्रम छाडेर हिँड्नु परेको थियो । त्यतिबेला अन्य पार्टीका मन्त्री तथा नेताहरुलाई मधेसमा सीके राउतका कार्यकर्ताले निशाना बनाएनन् तर जसपाका नेता तथा मन्त्रीलाई खोजी खोजी निशाना बनाए ।

सीके राउतको मुद्दा

तराई मधेसमा उपेन्द्र यादवले लिएको स्पेश सीके राउतले खोस्न चाहेका थिए र उनले आज त्यो स्पेश लिन सफल भए । सीके राउतले तेस्रो मधेस आन्दोलनको विरोध गरेका थिए । उनी स्वायत्त मधेस प्रदेशको विरोध गर्दै स्वतन्त्र मधेसको कुरा गरिरहेका थिए । अहिले मूलधारमा आएपछि संघीयता, समानुपातिक समावेशी, लोकतन्त्रको कुरा उनको प्राथमिकतामा नरहेको धेरैको टिप्पणी छ । उनले संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रको लागि कहिल्यै आन्दोलन गरेनन् ।

उनी भ्रष्टाचारविरोधी अभियान, किसान आन्दोलन, नागरिकतालगायतका विषयमा बढी केन्द्रित रहे । संविधान संशोधनको मुद्दा उनको प्राथमिकतामा कहिल्यै परेन । उनले विभिन्न विषयमा आन्दोलन गरि रहे, मधेसलाई जगाइरहे र त्यस आन्दोलनमा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइरहे ।

२०६९ मा स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दादेखि नै सीके राउतको टार्गेट उपेन्द्र यादव नै थिए । उपेन्द्र यादवले स्वायत मधेस एक प्रदेश माग राख्दै आन्दोलन गर्दा सीके राउतले त्यसको विरोध गर्दै हिँडेका थिए ।

स्वायत्त मधेस होइन, स्वतन्त्र मधेसको नारा उनले लगाएका थिए । मधेसवादी दललाई कमजोर गर्न सीके राउतले ‘कोठली बाहर मोहर’ (कोठा बाहिर मतदान) को अभियानसमेत चलाएका थिए ।

जसपा पनि के कम ?

जनमत पार्टीले गर्दै आएको आन्दोलनको विरोध सो पार्टीका नेता तथा कार्यकर्ताहरुले गर्र्दै आइरहेका थिए । आन्दोलनबारे जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले फेसबुकदेखि लिएर औपचारिक कार्यक्रममा समेत कडा टिप्पणी गर्ने गरेका थिए ।

जनमत पार्टी गरेको आन्दोलनको विरुद्धमा जसपाले सप्तरीमा भाठासहितको ¥याली नै निकालेको थियो । मधेसमा जनमत पार्टी बलियो भयो भने जसपा कमजोर हुन्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो र छ पनि ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि मधेसवादी दल मानिन्छ । तर सीके राउतले सो दललाई कहिल्यै निशाना बनाएनन् ।

जसरी सीके राउतले लोसपाका बारेमा टिप्पणी गर्दैनन्, त्यसरी लोसपाले पनि सीके राउतको पार्टीको बारेमा टिप्पणी गरेको छैन । बरु सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सीके राउतले गरेको आन्दोलनलाई विज्ञप्तिमार्फत समर्थन जनाएका थिए । सो पार्टीका अन्य नेताहरु पनि सीके राउतको आन्दोलनप्रति सकारात्मक देखिन्छन् ।

जसपालाई लागेको थियो, जनमत पार्टीको आन्दोलन त्यतिकै समाप्त हुन्छ । सीके राउतको आन्दोलनको बारेमा न संघीय सरकार बोलेको थियो, न प्रदेश सरकार बोलेको थियो । यसरी सरकारले आन्दोलनलाई सम्बोधन नगनुर््मा सीके राउतले जसपालाई नै दोषी देखेका थिए र त्यो अनुसारको टिप्पणी पनि गरेका थिए ।

उपेन्द्रको सिको गर्दै सीके

उपेन्द्र यादवले पनि आन्दोलन सुरुवात गर्दा नेपाल सद्भावना पार्टीको यसैगरी आलोचना गर्थे । एक राजनीतिक विश्लेषकले भने, ‘जुन बाटो अपनाएर सीके राउतले आन्दोलन गरेका थिए, सोही बाटो उपेन्द्र यादवले पनि विगतमा अपनाएका थिए । उपेन्द्र यादवको सिको सीके राउतले गर्नुभएको हो ।’

उपेन्द्र यादवले पनि सुरुमा पार्टी बनाउँदा युवालाई नै भित्र्याउने काम गरे । ठूला ठूला नेतालाई वास्ता गरेका थिएनन् । अहिले सीके राउतले पनि मधेसका युवलाई नै टार्गेट गरेका छन् ।

एउटा समाजिक संस्थाबाट मधेसमा आन्दोलन सुरु गरेका उपेन्द्र यादवले त्यतिकै राजनीतिक स्पेश बनाएका होइनन् । उनले पनि सीके राउतजस्तै क्रान्तिकारी भाषण गर्थे, युवाहरुमा जोस भर्थे र सडकमा ओराल्थे । अहिले सीके राउतले पनि उपेन्द्र यादवकै बाटो पछ्याउँदै यहाँसम्मको यात्रा तय गरेका छन् ।

उपेन्द्र यादवले सद्भावना पार्टीको रिप्लेस गरेर आफ्नो स्पेश बनाए, अहिले जनमत पार्टीले जसपालाई रिप्लेस गरेर आफ्नो स्पेश बनाउन लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप