बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा देउवालाई ‘ठोक्ने’ र ‘बचाउने’ को दोहोरी !

सोमबार, १७ पुस २०७४, १५ : ३०
सोमबार, १७ पुस २०७४

काठमाडौं– प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसको ‘लज्जास्पद’ हारपछि सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट दवाव दिन थालिएको छ । पार्टीको विपक्ष खेमाले उनको नेतृत्व क्षमता माथि नै प्रश्न उठाएको छ । 

काँग्रेसका केही नेताले निर्वाचनको समीक्षाको लागि केन्द्रीय कार्यसमिति, महासमिति बैठक र विशेष महाधिवेसनको माग गरेका छन् । तर, देउवा उनीहरुका माग सुनुवाइ नगर्ने ‘मूड’मा छन् ।

चुनाव हारवारे काँग्रेसको संस्थागत धारणा आएको छैन । तर, चुनावपछि काँग्रेसभित्र देउवाको विरोध गर्ने र बचाउ गर्ने भिन्दा भिन्दै समूह सक्रिय छन् । 

अहिले देउवाको विरोधमा प्रकाशमान सिंह सवैभन्दा अगाडि छन् । रामचन्द्र पौडेलको आक्रमक अभिव्यक्ति आएको छैन । 

देउवामाथि लगातार दबाब 

–युवा नेता चन्द्र भण्डारी युवा नेताहरुलाई संयोजन गर्दै देउवाको विपरित धारमा देखिएका छन् । भण्डारी कै सक्रियतामा पुस ५ मा बसेको युवा नेताहरुको बैठकले नेतृत्वलाई दबाब बढाउने निष्कर्ष निकालेको थियो ।

तर, प्रदेश नम्वर ३ ले आयोजना गरेको कार्यक्रमपछि ‘यूवा नेता’ ले आफुलाई ‘प्रभावशाली’ नेताका रुपमा स्थापित गराउने रणनीति बनाएका छन् । 

बैठकले अबिलम्ब निर्वाचन समीक्षाको लागि केन्द्रीय कार्यसमितिको माग गरेको थियो । 

यूवाहरुको वैठकले पहिला केन्द्रीय कार्यसमिति बैठक बस्ने र भावी रणनीति तय गरि महासमिति वा विशेष महाधिवेसनमा जानुपर्ने बताएको थियो । भण्डारीबाहेक वैठकमा केन्द्रीय सदस्य गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदिप पौडेल, बद्री पाण्डे र गुरुराज घिमिरे थिए । 

–पुष १६ मा काँग्रेस महामन्त्री शशांक कोइरालाले देउवाको नेतृत्व कमजोरीप्रति पोखराबाट प्रश्न उठाए । उनले पार्टी पराजित हुनुमा सभापतिको मुख्य हात रहेको बताए । 

–पुस १६ मै काँग्रेस नेता प्रकाशमान सिंहले नेतृत्व पद्धतिविहीन बनेको आरोप लगाउँदै नेतृत्वका कारण निर्वाचनमा पराजय भोगेको बताए । सिंहले महाधिवेशनको दुई महिनामा गठन गर्नुपर्ने विभाग दुई वर्षमा पनि हुन नसकेको बताए । मुल नेतृत्व नै विधान विपरित सञ्चालन भएकोले भातृ संगठनहरुमा बेथितीमा बढेको उनले बताए । सिंहले नेतृत्वमा अकमण्र्यता रहेको बताए । 

–४१औं मेलमिलाप दिवसको अवसरमा सात युवा नेताले नेतृत्वलाई पुनः झक्झकाउने काम गरे । युवा नेताहरुले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन माग गरे । युुवा नेताहरुले नेतृत्वै कमजोरीले नै काँग्रेस कमजोर भएको निष्कर्ष निकालेका छन् । सात युवा नेताले विज्ञप्तीमा नेपाली काँग्रेसको नेतृत्वको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको उल्लेख गरेका छन् । प्रतिपक्षले नेपाली काँग्रेसलाई लगाएको लाच्छना र आरोपहरुलाई प्रतिवाद गर्न नसकेको जनाँउदै नेतृत्वको कमजोरी देखाइएको छ । 

–युवा नेता गगन थापाले बामगठबन्धनको कारण मात्रै निर्वाचनमा पराजित नभएको दलिल पेश गर्दै नेतृत्वको कार्यक्षमतामा प्रश्न उठाएका छन् । विपक्षीले नेपाली काँग्रेसलाई लगाएको आरोपको समयमा नेतृत्वले प्रतिवाद गर्न नसकेको उनले बताउँदै आएका छन् । उनले महासमिति बैठक वा विशेष महाधिवेशनको माग जोडसँग उठाएका छन् । 

–युवा नेता प्रदिप पौडेलले गल्ति सच्चाएर अघि बढ्ने सुनिश्चिततामा मात्रै वर्तमान नेतृत्वलाई निरन्तरता दिन सकिने बताएका छन् ।

माथिका घटनाक्रमले देउवामाथि पार्टीभित्रैबाट देखिएको दवावको स्पष्ट संकेत गर्छन । तर, देउवाले यस्ता दवावलाई त्यति महत्व दिएका छैनन् । 

देउवाले आइतवार एक कार्यक्रममा जे अभिव्यक्ति दिए, त्यसले उनी महासमिति बैठक बोलाउने पक्षमा देखिन्नन् । साथै फरक विचारलाई तत्काल सम्बोधन गर्ने उनको मूड देखिदैन । 

४१औं मिलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले पार्टी हारको लागि उच्चस्तरीय छानविन समिति गठन गर्ने बताए । देउवाले हारमा अन्तर्घात र बाम गठबन्धनलाई  कारण बनाएका छन् । देउवाले अनुशासनसहित दलमा मेलमिलाप नभएकाले केही स्थानमा हार बेहोरेको बताए ।

आफ्नो विरोध गरिरहेकाहरुप्रति लक्षित गर्दै देउवाले भने, ‘आफु हार्ने अनि मलाई दोष दिने ।’ 

समानुपातिकमा एमाले बराबर मत आएको बताउँदै देउवाले मतगणना स्थलमा काँग्रेसका प्रतिनिधी नबसेकोले पनि केही स्थानमा हारेको औंल्याए । काँग्रेसको समानुपातिकमा सन्तोषजनक मत ल्याएको भन्दै उनी निर्वाचन परिणामप्रति अरु जस्तो असन्तुष्ट छैनन् । बाम गठबन्धन र दल भित्रको अन्तर्घातले प्रत्यक्षमा सीट घटेको उनको ठम्याई छ ।

काँग्रेसभित्र अन्तर्घातको मुद्दा ठुलो बनेको छ । यहीँ विषयमा कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट पनि भयो । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको थियो । 

चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । 
 
दल भित्रबाटै उठेको केन्द्रीय कार्यसमिति, महासमिति बैठक र विशेष महाधिवेसनका विषयमा देउवा प्रवेश नै गर्न चाहेनन् । उनी असन्तुष्टलाई थामथुम पार्न प्रयासमा छन् ।

पार्टीभित्र देउवालाई उनी निटकको भने साथ छ । पराजयको समीक्षा बैठक बोलाउन निरन्तर दबाब आएपनि देउवा निकटका नेता भने लगातार बचाउँमै छन् । 

देउवा पक्षले युवा नेताहरूले गर्दै आएको महाधिवेशनको माग विफल पार्न बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, मीनबहादुर विश्वकर्मा, एनपी साउदलगायतलाई परिचालन गरेको कांग्रेस स्रोत बताउँछ ।

रातोपाटीलाई केही दिन अगाडि दिएको अन्तर्वार्तामा केन्द्रीय सदस्य रहेका बालकृष्ण खाँडले आवश्यक परे पार्टीले महाधिवेशन बोलाउन सक्ने बताएका थिए । ‘अब हाम्रो केन्द्रीय समितिको बैठकले यस विषयमा विषद् छलफल गर्नेछ । काँग्रेसले आफ्नो कार्यालय सुधार्नु पर्ने हो कि ? नेताहरुले शैली बदल्नु पर्ने हो कि ? समय सान्दर्भिक हाम्रो दृष्टिकोण बदल्नु पर्ने हो कि ? अथवा हाम्रो व्यवस्थापकिय क्षमता बढाउनु पर्ने हो हामी त्यसको आमूल परिवर्तनका लागि छलफल गर्छौँ ।’ नेता खाँडले भनेका थिए, ‘पार्टीको केन्द्रीय समिति बस्छ त्यसले पुगेन भने महासमिति पनि बस्नेछ त्यसले पनि नपुगेमा महाधिवेशन पनि हुनेछ । तर, अहिले भनेको पार्टी एकढिक्का हुने बेला हो ।’

नेता खाँड देउवा निटक मानिन्छन् । 

भातृ संगठनका पदाधिकारी पनि देउवाको पक्षमा उभिएका छन् । 

देउवालाई बल पुग्ने गरि नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र नेपाल दलित संघका केही पदाधिकारी खुलेर लागेका छन् । दश दिन अघि बानेश्वरमा भेला गरि देउवाको पक्षमा वकालत गर्ने ती संगठनका पदाधिकारीले निर्णय नै गरेका थिए । 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, िशक्षक संघका अध्यक्ष केशव निरौला, महिला संघकी अध्यक्ष उमा रेग्मी नेपाल दलित संघका महासचिव  दिपक सोनी र टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहालले देउवाको नेतृत्वलाई निर्विकल्प भन्दै आएका छन् । 
नेतृत्वलाई बलियो बनाँउदै जानुपर्ने अवस्थामा देउवाप्रतिको प्रहार असैह्य हुने उनीहरुको ठहर छ । 


कांग्रेसभित्र यसअघि नै विकसित भएको तर, बीचमा निश्कृय जस्तै बनेको गुटगत समूह (शेरबहादुर देउवा समूह, कृष्ण सिटौला समूह र रामचन्द्र पौडेल समूह) अहिले हारको मुद्दा बोकेर फेरि सक्रिय बन्दै आ–आफ्ना पक्षका भेला, छलफल र रणनीति बनाउन सक्रिय छन् । 
यसअघि देउवालाई चुनौती दिँदै आएको रामचन्द्र पौडेल समुह भने अहिले सिटौला समूहसँगको सहकार्यमा अघि बढेको देखिएको छ ।

किन बस्न सकेन केन्द्रीय कार्यसमिति बैठक? 
निवाचनमा विजयी वा पराजय हुँदा दलहरुमा निर्वाचन पछि समीक्षा बैठक बस्ने प्रचलन हुन्छ । विजयी दललाई भन्दा पराजित दलका लागि निर्वाचन पछिको समीक्षा बैठक अझ महत्वपुर्ण हुने गर्दछ । दल पराजित हुनुका कारण पहिल्याउन र आगामी रणनीति तय गर्न पनि बैठक अनिवार्य छ । 


तर, नेपाली काँग्रेस इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै दल भित्रबाट केन्द्रीय समिति बैठक माग भइरहेको अवस्थामा पनि सभापति चुपचाप छन् । 
सिंचाई मन्त्री संञ्चय कुमार गौतमले प्रधानमन्त्रीलाई बैठक अबिलम्ब बोलाउन भनिरहेका बताउँदै छिट्टै बैठक बस्ने बताए । 

विशेष महाधिवेशन होला ?
काँग्रेसको पार्टी विधानले महाधिवेशन प्रतिनीधिको २५ प्रतिशतले हस्ताक्षर गरेर माग गरेर विशेष महाधिवेशन माग गर्न सक्छन् । सभापति देउवाले महासमितिमा जाने निर्णय नगरे असन्तुष्ट नेताहरु हस्ताक्षर अभियानसम्म पुग्ने योजनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप