मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा संसदीय दलको नेतामा अशोक राईलाई पछि पार्ने को हुन् रामसहाय यादव ?

बुधबार, १३ पुस २०७९, १९ : २४
बुधबार, १३ पुस २०७९

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहाय यादव संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । यसअघि जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई नै संसदीय दलको नेता बन्ने चर्चा थियो । 

राईले संसदीय दलको नेतामा चाहना पनि गरेका थिए तर उम्मेदवारी दिने बेला उनले रामसहाय यादवलाई नै समर्थन गरे । स्रोतका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकमा पनि उनले आफू संसदीय दलको नेताका लागि मरिहत्ते गर्ने होइन तर पार्टीले जिम्मेवारी दिए आफू त्यसका लागि तयार रहेको धारणा राखेका थिए । संसदीय दलको नेता बन्ने चाहना राजकिशोर यादव र नवलकिशोर साहले गरेका थिए तर उनीहरू पनि चुनाव गराउने मनस्थितिमा थिएनन् । बुधबार चुनावी प्रकृया सुरु हुँदा रामसहाय यादवको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत् रुपमा संसदीय दलको नेतामा चयन भएका हुन् ।

१३ हजारभन्दा बढी मत ल्याएर बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव पार्टीमा निर्विवादित व्यक्तिका रुपमा रहँदै आएका छन् । उनको नाममा कुनै प्रस्ताव आउँदा सामान्यतया कसैले विरोध गर्दैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि रामसहाय यादव नै संसदीय दलको नेता बनुन् भन्ने थियो । पार्टीमा उनले सोही अनुसारको पहल गरेका थिए तर उनी आफू सांसद नभएका कारण हस्तक्षेप नगरेको पार्टीका नेताहरु बताउँछन् । संसदीय दलको नेता छान्न बसेका बैठकहरुमा रामसहाय यादवको नाम आउँदा कसैले आपत्ति जनाएका थिएनन् । पार्टीका उनी निर्विवादित रहँदै आएका कारण पनि उनको नाममा कसैले विरोध नगरेको बताइन्छ ।

यसअघि शेरबहादुर देउवाको नेतृत्वको सरकारमा पार्टीले उनलाई वन मन्त्री बनाउँदा निकै चर्चा भएको थियो । पार्टीको सो निर्णयलाई सबैतिरबाट स्वागत भएको थियो । अहिले उनलाई संसदीय दलको नेता बनाउँदा पनि सकारात्मक चर्चा भइरहेको छ । मधेसी जनअधिकार फोरम नेपाल स्थापनाकालदेखि नै सक्रिय राजनीतिमा लागेका रामसहाय यादवले कहिल्यै कुनै पदका लागि पार्टी नेतृत्वमाथि दबाब दिएका थिएनन् । इमानदारिता, शालिनता र व्यवहारमा नरम रहेका रामसहाय यादवलाई पार्टीको बफादार कार्यकर्ता मानिन्छ ।

पार्टी विभिन्न समयमा टुटफुट हुँदासमेत उनले उपेन्द्र यादवको साथ कहिल्यै छाडेनन् । बाराको कलैयामा १४ वर्षसम्म शिक्षण पेसा गरेका उनलाई ०४६ सालको आन्दोलनपछि जिल्लाका का्रग्रेस नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराउन चाहेका थिए तर उनले तत्कालीन नेपाल सद्भावना पार्टी नै रोजेका थिए । मास्टरी गरिरहेको कारण उनी पार्टीमा खुलेर नलागे पनि गोप्य ढंगले पार्टीमा निकै सक्रिय थिए । उनी आन्दोलनहरुमा प्रत्यक्ष सहाभागी हुन्थे । नेपाल सद्भावना पार्टीमा हुँदा शिक्षक मञ्चमा आवद्ध भएर काम गर्न थालेका उनी सो पार्टीभित्रको गुटबन्दी र नेताहरुमा आएको विचलनले पार्टी छाडेर तत्कालीन फोरममा प्रवेश गरेका थिए । मधेस आन्दोलनपछि उनले शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा लागेका थिए र हालसम्म त्यसलाई निरन्तरता दिइरहेका छन् ।

रामसहाय यादवमाथि रातो पासपोर्ट बेचेको आरोप लागेको थियो तर आफू निर्दोष रहेको भन्दै त्यसको विरुद्धमा लडाइँ लडे र पछि उनी निर्दोष साबित भए । मधेस आन्दोलनपछि बनेका सरकारहरुमा थुप्रै मधेसवादी नेता मन्त्री भए तर उनले कहिल्यै त्यो लालसा देखाएनन् । बारा जिल्लाको कचोर्वा–८, बसबरियाका रामसहाय यादवले ब्याचलरसम्म अध्ययन गरेका छन् । घरको अवस्था राम्रो नभएका कारण पढाईको बीचमै जागिर सुरु गरेका उनले १२ वर्षसम्म अस्थायी शिक्षकका रुपमा काम गरे । उनी २०६० सालमा गएर मात्र स्थायी भएका थिए । २०६४ सालसम्म निरन्तर शिक्षण पेसामा रहेका उनी संविधानसभा निर्वाचनमा तत्कालीन फोरमबाट समानुपातिक उम्मेदवार बनेपछि शिक्षक पदबाट राजीनामा दिएका थिए ।

२०६० फागुन ७ गते रामसहाय यादवको भूमिगत नाम ‘चन्द्रगुप्त’को नेतृत्वमा बारामा फोरमको ९ सदस्यीय जिल्ला समिति गठन भएको थियो । उनी नेपाल सद्भावना पार्टीमा रहेर पनि फोरमका लागि काम गरिरहेका थिए । त्यतिबेला फोरम पार्टीको रुपमा आएको थिएन । चन्द्रगुप्तको नाममा कहिलेकाहीँ विज्ञप्ति आउँदा को हुन् चन्द्रगुप्त भन्ने सोधीखोजी हुन्थ्यो । उनी २०६२ मा फोरमको केन्द्रीय सदस्य बनिसकेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा पनि उनको नाम समानुपातिकतर्फ थियो तर उनी चयन भएनन् । २०६५ मा तत्कालीन केन्द्रीय समितिको बैठकले रामसहाय यादवलाई महासचिव बनायो । पछि महाधिवेशनबाट पनि उनी महासचिवमै चयन भए । त्यसपछि उनी लगातार महासचिव पदमै रहेर काम गरे । हाल जसपामा कार्य विभाजन भएको छैन । उनी सो पार्टीमा कार्यकारिणी सदस्य छन् । कार्यविभाजन भएमा उनलाई पुनः पार्टीको महासचिव नै दिने सम्भावना छ ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप