आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय शिक्षाका लागि नीतिमा सुधार आवश्यक : सचिव सुवेदी

बिहीबार, १४ पुस २०७९, २२ : २०
बिहीबार, १४ पुस २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत/कानूनी व्यवस्था सार्वजनिक नीति संवाद’ कार्यक्रममा उनले सरकारले ल्याएको शिक्षा नीतिको कार्यान्वयन गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।

शिक्षासचिव सुवेदीले नेपालमा शिक्षकको अभाव भएको, भएको ठाउँमा गुणस्तरीय शिक्षक नभएको र राम्रा शिक्षकको आवश्यक पहिचान र सम्वर्द्धन हुन नसक्ने समस्या रहेको बताए । कार्यक्रममा शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मुलुकमा योग्य शिक्षकको अभाव हुँदै गएको बताए । “मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार पाउन सकिएन, यसप्रति सरकार गम्भीर बन्नुपर्छ”, उनले भने ।

अध्यक्ष रेग्मीले सामान्य परीक्षाबाट उत्तीर्ण भएका शिक्षक पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको औंल्याए । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.शिवलाल भुसालले विद्यालयस्तरको शिक्षाले तत्काललाई मात्रै नभई एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालयस्तरमा शिक्षा प्रणालीको सुधार आवश्यक रहेको बताए । “विद्यालयस्तरको शिक्षालाई आवश्यक सुधार र परिमार्जन गरी योग्यता पुगेका शिक्षकबाट गुणस्तरीय शिक्षा दिन आवश्यक छ”, उनले भने ।

उनले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन बालचन्द्र शर्माले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकलाई प्रशिक्षण दिन आवश्यक रहेको बताए । उनले विकासशील देशमा शिक्षकलाई योग्य बनाउन सरकारले विभिन्न शैक्षिक तालिम दिने गरेको तर नेपालमा भने आवश्यक तालिम हुन नसकेको गुनासो गरे ।

त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्न सरकारले तालिम दिने संस्था छुट्टै बनाउन सुझाव दिए । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकमा गुणस्तर हुन नसकेको बताए ।

शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयले गर्ने काममा सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले विश्वविद्यालयका पदाधिकारीलेनै गर्न सक्ने काम नगरेर अरुको टाउकामा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शङ्करप्रसाद भण्डारी, नेपाल संस्कृत विश्वविद्यालयका रजिस्टार माधव अधिकारीलगायतले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौती रहेकाले सबैले कार्यान्वयनका पक्षमा अघि बढ्न आवश्यक रहेको बताए । नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको भन्दै नीति अनुसन्धान प्रतिष्ठानले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन आवश्यक छलफलका लागि उक्त संवाद आयोजना गरेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप