बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दुवै छिमेकी मुलुकसँग सन्तुलित व्यवहार गर्नुपर्ने शिक्षा मिलेको छ : महासचिव पोखरेल

मङ्गलबार, ०७ पुस २०७२, १३ : ३०
मङ्गलबार, ०७ पुस २०७२

इटहरी– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सार्वभौम नेपालका जनताबाट निर्वाचित संविधानसभाले आफ्ना लागि संविधान लेख्ने कुरा छिमेकी भारत, चीन वा जापान अमेरिकालगायत अरु मुलुकलाई सोधेर लेख्नुपर्ने कुनै दरकार थिएन र छैन भनेका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले छिमेकी मुलुक भारतले किन नेपालको संविधानमा यस्तो र त्यस्तो भनेर टिप्पणी गर्नुप¥यो यो हामीले बुझ्नै नसकेको बताए । संविधान आफैंमा अपुरो र सबैको चित्तबुझ्दो दस्तावेज हुन नसक्ने बताउँदै नेता पोखरेलले यो समयसापेक्ष परिवर्तन र संशोधन हुँदै जाने भएकाले संविधानमा रहेका अन्तर्वस्तुलाई नेपालीले नै समयको मागअनुसार परिमार्जन र थपघट गर्दै जाने स्पष्ट गरे ।

एक प्रसङ्गमा उनले धेरै लामो कालखण्ड बितिसक्दा पनि हामीले दुई छिमेकी मुलुकबीच एकापसमा जोड्ने सडक सञ्जाल निर्माण गर्न नसक्नु नै नेपालीको ठूलो कमजोरी र भुल भएको रहेछ भने । “अब हामीले आत्मनिर्भर बन्न र स्वाभिमान बचाउनका लागि विगततिर फर्किएर आत्मसमीक्षा गर्नु जरुरी छ, दुवै छिमेकी मुलुकसँग सन्तुलित व्यवहार गर्नुपर्ने शिक्षा मिलेको छ ।”

सञ्चारकर्मीको प्रश्नको जवाफमा महासचिव पोखरेलले १९५० का सन्धि वा अरु कुनै असमान सन्धिका विषयमा भारतसँग बसेर औचित्यका आधारमा क्रमशः परिवर्तन वा परिमार्जन गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप