बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने

बुधबार, ०३ असार २०८३, १८ : ३५
बुधबार, ०३ असार २०८३

सारांश

  • घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
  • बाँझो जमिनको उपयोग गर्न भूमि बैंक कार्यक्रम सञ्चालन गरिनेछ र कृषि उत्पादनको बजारीकरणका लागि चार स्थानमा साप्ताहिक हाटबजार सञ्चालन गरिने नीति लिइएको छ।
  • शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र सामुदायिक विद्यालयको सम्पत्ति संरक्षणमा जोड दिइएको छ भने सामाजिक विकासतर्फ कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

दाङ। दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तय गरेको हो।

उपमहानगरपालिकाको १९औँ नगर अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरुलाल चौधरीले स्थानीय गौरवका आयोजना, अधुरा तथा क्रमागत योजनाहरूलाई प्राथमिकताका साथ समयमै कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। उनले पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा आयोजना बैंकलाई मुख्य आधार बनाइने जानकारी दिए।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, फुसका छाना विस्थापन गरी फुसमुक्त वडा निर्माण तथा जग्गा प्लटिङसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने विषयलाई समेटिएको छ। यसका साथै खोला, खोल्सी, सिमसार तथा जलस्रोतको संरक्षण गर्दै भूमिगत जलभण्डारको स्थायित्व कायम राख्ने र जलाशय व्यवस्थापनमा निजी क्षेत्रसँग साझेदारी गरिने नीति उपमहानगरपालिकाले लिएको छ। 

भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन कार्यलाई समेत उच्च प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रको विकासका लागि उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने, मल उत्पादनमा सहयोग पुर्‍याउने, माटो परीक्षण शिविर सञ्चालन गर्ने, कृषक तालिम दिने तथा किसान परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

त्यसैगरी बाँझो जमिनको उचित उपयोगका लागि भूमि बैंक कार्यक्रम सञ्चालन गरिने तथा कृषि उत्पादनको सहज बजारीकरणका लागि चार स्थानमा साप्ताहिक हाटबजार सञ्चालन गर्ने नीति लिइएको छ। पशुपालनलाई व्यवसायीकरण गर्दै दूध तथा मासु उत्पादनमा वृद्धि गर्ने लक्ष्य पनि उपमहानगरपालिकाको छ।

शिक्षा क्षेत्रतर्फ विद्यालयको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा सामुदायिक विद्यालयको सम्पत्ति संरक्षणमा विशेष जोड दिइएको छ। नगरले उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने तथा कमजोर शैक्षिक नतिजा भएका विद्यालयलाई थप जिम्मेवार र जबाफदेही बनाउने नीति अवलम्बन गरेको छ।

सामाजिक विकासतर्फ समाजमा विद्यमान छुवाछुत, लैङ्गिक विभेद, घरेलु हिंसा, बालविवाह, दाइजो तथा बोक्सी प्रथा जस्ता कुप्रथाहरूविरुद्ध व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि सञ्चालित सेवा तथा पुनःस्थापना केन्द्रहरूलाई थप सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। 

विपद् व्यवस्थापन, वातावरण संरक्षण, वृक्षारोपण तथा प्लास्टिकजन्य प्रदूषण नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको छ। नगरलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख चौधरीले बताए। नगर अधिवेशनको अर्को बैठक आगामी असार ५ गते बस्ने गरी स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप