बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

बुधबार, ०८ पुस २०७२, १६ : ०५
बुधबार, ०८ पुस २०७२

काठमाडौँ–मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएको छ ।

संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि आज प्रारम्भ भएको बैठकमा मधेसवादी दलले सुरुदेखि अन्त्यसम्म विरोध जनाएका थिए ।

विरोधका बाबजुद कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमा यही पुस १२ गते आइतबारबाट छलफल प्रारम्भ गरिने जानकारी दिए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ प्रस्तुत गरेका थिए भने महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गरेका थिए ।

बैठकमा सभामुख घर्तीमगरले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०२७ को प्रमाणीकरणसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै सांसद नारायणप्रकाश साउदलाई सुशासन अनुगमन समिति र सांसद सुनिलबहादुर थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग समितिमा राखिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप