बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भूकम्पबाट क्षति भएका विद्यालयलाई रु एक करोड २६ लाख वितरण

बिहीबार, ०९ पुस २०७२, १० : २३
बिहीबार, ०९ पुस २०७२

म्याग्दी–गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति पुगेका म्याग्दीका ८९ वटा सामुदायिक विद्यालयलाई रु एक करोड २६ लाखभन्दा बढी बजेट वितरण गरिएको छ ।

भूकम्पपछि भत्किएका, जीर्ण बनेका कक्षाकोठा भवनको पुनःनिर्माण तथा मर्मतका लागि रु एक करोड २६ लाख ५० हजार बजेट बाँडफाँड गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले जानकारी दिए ।

कक्षाकोठा र भवन भत्किएका विद्यालयलाई रु दुई लाख ५० हजार र सामान्य क्षति पुगेकालाई रु एक÷एक लाखका दरले उपलब्ध गराइएको हो ।

यसैबीच शिक्षा कार्यालयले म्याग्दीका ९८ वटा विद्यालयमा दुईकोठे भवन बनाउन रु छ करोड ६१ लाख ५० हजार र नौवटा विद्यालयमा तीनकोठे भवन निर्माण गर्न रु एक करोड ७५ लाख ५० हजार वितरण गरेको छ ।

बहुवर्षीय सातवटा चारकोठे भवन योजनालाई रु ९८ लाख, दुईवटा छकोठे भवनका लागि रु ४८ लाख र दुईवटा आठ कोठे भवनका लागि रु ४८ लाख बजेट बाँडफाँड गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

सातवटा विद्यालयमा छात्रा शौचालय बनाउन रु २८ लाख र सरसफाइ सामग्रीसहितको १८ वटा शौचालय निर्माण गर्न रु ७२ लाख वितरण गरिएको छ । माग सङ्कलन, स्थलगत अनुगमन र सरोकारवालासँग समन्वय गरेर बजेट बाँडफाँड गरिएको जिशिअ रामप्रसाद अधिकारीले बताए ।

उनका अनुसार बहुवर्षेबाहेकका योजना चालु आवभित्र नै सम्पन्न गर्ने गरी विद्यालयसँग सम्झौता गर्न थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप