बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

फुपुल्हामु खत्री : ताप्लेजुङदेखि स्वर्ण पदकसम्म

सोमबार, ०३ फागुन २०७२, १४ : ४६
सोमबार, ०३ फागुन २०७२

गुहाटी – नेपाली खेलकुदको एक चम्किलो ताराको नाम हो, फुपुल्हामु खत्री । पुर्वी ताप्लेजुङमा जन्मेकी फुपुल्हामु सानैदेखी जुडो खेल्थिन् । काठमाडौंको धर्मस्थलीस्थित बहुउदेश्यीय मार्सलआर्ट हलमा जुडो सिकेकी खत्रीले भारतमा जारी बाह्रौं सागमा स्वर्ण पदक जितेकी छन् ।

मेघालयको सिलोङमा आयोजित प्रतिस्पर्धामा भारतीय खेलाडीलाई आफ्नै भुमिमा हराउँदै नेपालका लागि खत्रीले स्वर्ण चुम्दा सवैभन्दा खुसी देखिन्थे, प्रशिक्षक धर्म श्रेष्ठ । धर्म मात्रै हैन, उनलाई सानैदेखि जुडो सिकाउने दिपक श्रेष्ठ र रमेश मगरले पनि आ–आफ्नै ढंगले खुसी मनाए होलान् । काठमाडौंमा रहेकी फुपुल्हामुकी आमा, दिदी र भाईले पनि फुपुको सफलतामा हर्षको आँशु बगाए । तर, उनका बाबुले आफ्नी छोरीको सफलताको कथा सुन्न पाएनन् । आठ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसेकका दोर्जे शेर्पा गत बर्षको हिमपहिरोमा परेर यो संसारबाट बिदा भएका थिए । आज दोर्जे बाँचेको भए, आफ्नी छोरीभन्दा अझै धेरै खुसी हुन्थे होलान् । नेपाली जुडोलाई २० वर्षपछि स्वर्ण जिताएकी फुपुल्हामु सोमबार कम्ती खुसी भईनन् । स्वर्ण पदक जित्नासाथ फुपुल्हामु भन्दै थिइन्, ‘लगानी र मेहनतले सफलता पाएको छु, आजको नतिजाबाट पुरै सन्तुष्ट छु ।’

बाह्रौं सागमा ६३ केजी तौल समुहमा भारतिय खेलाडीलाई हराएर स्वर्ण पदक चुमेकी फुपुल्हामु लाई नेपाल ओलिम्पक कमिटीले छात्रवृद्धि दिएर हंगेरिमा प्रशिक्षण दिईरहेको थियो । उनी हंगेरिको प्रशिक्षण छाडेर दुई दिनअघी मात्रै सिलोङ पुगेकी थिईन् । २०१६ मा हुने रियो ओलम्पिकको तयारीमा जुटीरहेकी खत्रिले रातोपाटीसँग भनिन्, ‘हंगेरीको प्रशिक्षणले निकै राम्रो भयो, टेक्निकल पक्षमा धेरै सुधार भएको छ ।’

नेपाली जुडोकी भरपर्दो खेलाडी फुपुल्हामु नेपालमा हुने राष्ट्रिय र क्षेत्रीय स्तरका प्रतियोगीतहरुमा कहिल्यै पदक विहीन भईनन् । विहान बेलुकाको हातमुख जोर्नका लागी बेला–बेला ट्रेकिङ गाइडको समेत काम गर्दै आएकी खत्री काठमाडौंमा विविएस अध्ययन गर्दै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप