बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

मङ्गलबार, ०५ साउन २०८३, २२ : ४५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दा बढेको तथ्यांक सार्वजनिक गर्‍यो।
  • आर्थिक वर्ष २०८२/८३ मा कुल मुद्दाको १८.४६% जबरजस्तीकरणीका थिए।
  • तीन वर्षमा विभिन्न जिल्ला अदालतमा मुद्दाको संख्या वृद्धि भएको छ।

कर्णाली । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतको आर्थिक वर्ष २०८२/८३ मा भए गरेका काम कारबाहीको वार्षिक प्रगति विवरण मंगलबार वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या सबैभन्दा बढी रहेको बताएको हो । अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आव २०८२/८३ मा कूल ९१५ मध्ये १६९ (१८ दशमलव ४६ प्रतिशत) मुद्दा जबरजस्तीकरणीका रहेको जानकारी दिए ।

लागुऔषधका १२०, रिट ७९, ज्यान मार्ने उद्योग ७७, कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, जबरजस्तीकरणी उद्योग २६, अंशवण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौजदारी मुद्दा ३२२ रहेको उनले बताए । यसरी जबरजस्तीकरणीका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकारात्मक प्रभाव नै रहेको बताउँदै मुख्य न्यायाधीश भण्डारीले कूल मुद्दामा ७५५ फर्छ्योट र १६० बाँकी रहेको जनाए ।

उनका अनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । आव २०८०/८१, २०८१/८२ र २०८२/८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३४२, ४११, ४१९, दैलेख जिल्ला अदालतमा ४६२, ५३३ र ५४४, रुकुमपश्चिम जिल्ला अदालतमा ६२०, ६७९ र ७८१, सल्यान जिल्ला अदालतमा ७२४, ७३१ र ८०९, सुर्खेत जिल्ला अदालतमा दुई हजार ७१६, दुई हजार ९१२ र तीन हजार १४६ मुद्दा सङ्ख्या रहेको छ ।

उच्च अदालत सुर्खेतमा भने २०८०/८१ मा ९१६, ०८१/०८२ मा ८३२ र ०८२/०८३ मा ९१५ मुद्दा सङ्ख्या रहेको छ । आव २०८२/८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२ दशमलव ५, जाजरकोटले ८९ दशमलव ४, दैलेखले ७९ दशमलव ८, रुकुमपश्चिमले ७१ दशमलव २, सल्यानले ७३ दशमलव ४ र सुर्खेत जिल्ला अदालतले ६३ दशमलव २ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप