शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाओवादीको निर्णय : ०७३ चैत भित्र पार्टीको महाधिवेशन, ल्हारक्याल लामासँग स्पष्टिकरण

आइतबार, ०७ चैत २०७२, १९ : ४२
आइतबार, ०७ चैत २०७२

काठमाडौं – एमाओवादीले गोलीसहित पक्राउ परेका आफ्नो सांसद ल्हारक्याल लामासँग प्रहरी हिरासतबाट छुटेपछि स्पष्टिकरण लिने निर्णय गरेको छ । आइतबार पार्टी हेड्क्वार्टर पेरिसडाँडामा बसेको केन्द्रिय समितीको बैठकले लामासँग स्पष्टिकरणसहित पार्टीले आवश्यक कदम चाल्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले बताए । उनले भने, ‘अबको दुई–तिन दिन भित्र ल्हारक्याल छुट्दैछन्, छुटेपछि उनले कमजोरी गरेको हो वा होईन भन्नेबारे बयान लिएपछिमात्र आवश्यक स्टेप चाल्ने निर्णय गरेका छौं ।’ शनिवारबाट शुरु भएको एमाओवादी बैठक आजबाट सकिएको हो । बैठकले ०७३ सालको चैत महिनाभित्र पार्टीको महाधिवेशन गर्ने समेत निर्णय गरेको छ । महाधिवेशन भन्दा अघि वडा, गाउँ, जिल्ला र प्रदेश सम्मेलनको मिति तय गरिएको छ । आगामी बैठकको पहिलो साता भित्र वडा सम्मेलन, जेठ पहिलो साता नगर सम्मेलन तथा जेठ २५ देखी असार मसान्त भित्र सबै जिल्लाका सम्मेलन गरिसक्ने निर्णय भएको बैकठमा सहभागी एक नेताले बताए । त्यस्तै ०७३ साउन र भदौभित्र प्रदेशहरुको सम्मेलन सकेर चैतमा केन्द्रीय महाधिवेशन गरिसक्ने एमाओवादीले निर्णय गरेको छ । बैठक स्रोतका अनुसार गाउँदेखि प्रदेशसम्मका सम्मेलनहरु जनसभा मार्फत उद्घाटन गरिने छ ।

प्रचण्डले भने, ‘माओवादी प्रति विश्वास बढ्यो’ केन्द्रिय समितीको बैठकलाई संबोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी संगठनलाई सोचेजसरी सुदृश्य र व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै संगठन सुदृढिकरणका लागी सवै केन्द्रिय सदस्यहरुलाई एकपटक मेहनत गर्न आग्रह गरेका छन् । गत बैशाख १२ गतेको भुकम्पका बेला एमाओवादीले निभाएको भूमिका सह्रानीय भएको भन्दै प्रचण्डले नाकाबन्दीबिरुद्ध आफ्नो पार्टी खरो उत्रिएका कारण जनताको विश्वास माओवादी प्रतिनै बढेको दावी गरे । उनले भने, ‘संविधान निर्माणमा पनि हामीले मुख्य भुमिका खेल्यौं, नाकाबन्दीको प्रतिवादका कारण माओवादी प्रति जनविश्वास अझै बढेर गएको छ ।’ त्यस्तै सरकारबारे टिप्पणी गर्दै प्रचण्डले अघिल्लो सरकारका अर्थमन्त्री रामशरण महतले ल्याएको बजेटका कारण बर्तमान सरकारले परिणाम दिनेगरी काम गर्न नसकेको बताए । उनले भने, ‘लामो समयको नाकाबन्दीका कारण पनि बर्तमान सरकारले सोचेअनुसार काम गर्न सकेन ।’ प्रचण्डले अब धेरै कुरा सहज भैसकेको भन्दै परिणाम दिनेगरी काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिए । आजको बैठकमा सरकारमा सहभागी सबै मन्त्रिहरुले आ–आफ्ना मन्त्रालमा भए गरेका कामको ब्रिफिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप